इनरुवा । छिमेकी राष्ट्र भारतमा आज (वैशाख २५ गते मङ्गलबार) हुने लोकसभा निर्वाचनलाई मध्यनजर गरी नेपालसँग जोडिएको सीमामा कडाइ गरिएको छ ।

भारतको लोकसभा चुनावलाई लक्षित गरी आइतबार साँझबाट नाका सील गरेको सुनसरी प्रशासनले आवत–जावतमा पूर्णरूपले कडाइ गरेको छ ।

आइतबार साँझबाट आज रातिको १२ बजेसम्म नाका सील गरेको प्रशासनले भारतीय सुरक्षाकर्मीसँग समन्वय गरेर सुरक्षा बन्दोबस्ती मिलाएको जनाएको छ ।

सुनसरी प्रशासनका अनुसार भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गरी नाकाबाट हुनसक्ने घुसपैठ र अप्रिय घटना रोक्न सुरक्षा बन्दोबस्ती मजबुत पारिएको छ ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले दुई देशीय सुरक्षा नीतिअनुसार भारतसँग सीमा जोडिएका सबै नाका सील गरिएको बताए ।

यसैबीच जिल्ला सुरक्षा समितिको टोलीले सील गरिएको नाका क्षेत्रको स्थलगत अनुगमनसमेत गरेको छ । प्रजिअका साथै सुरक्षा निकायका प्रमुखसहितको टोलीले सीमा क्षेत्रमा पुगेर वस्तुस्थिति बुझ्नुका साथै भारतीय समकक्षीहरूसँग भेटेर सुरक्षा अवस्थाबारे जानकारीसमेत लिएको छ ।

लोकसभा चुनावलाई लक्षित गरेर नेपालसँग सीमा जोडिएका सबै नाकामा बाक्लो सङ्ख्यामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) परिचालित छ । सीमामा भोट खसाल्न नेपालबाट भारततर्फ जानेलाई भोटर कार्डका आधारमा मात्रै छाड्ने गरिएको छ । अन्यको हकमा आवत–जावत पूर्णरूपमा ठप्प पारिएको छ ।