विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिका–बाँसबारी चोकमा बस पल्टिँदा १८ जना घाइते भएका छन् ।

सिराहादेखि विराटनगरतर्फ आइरहेको बा. ४ ख ७४५० नम्बरको बस दुर्घटना हुँदा १८ जना घाइते भएका हुन् । सिराहाबाट यात्रु लिएर विराटनगर आउँदै गरेको बसको अगाडि अचानक मोटरसाइकल आएपछि बचाउन खोज्दा दुर्घटना भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर सुमन न्यौपानेले जानकारी दिए ।

‘मोटरसाइकललाई बचाउन खोज्दा बस दुर्घटना भएको प्रारम्भिक चरणको अनुसन्धानबाट देखिएको छ’ ट्राफिक प्रमुख न्यौपानेले भने, ‘को.१८ प ५२९ नम्बरको मोटरसाइकल अचानक पश्चिमबाट दक्षिणतर्फ मोड्ने क्रममा बसले ठक्कर दिँदा दुर्घटना भयो । प्रहरीले तत्काल दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल पठाएको छ ।’

मोटरसाइकल चालक सुनसरी देवानगञ्जका ४६ वर्षीय समाउद्दिन खानको छातीमा चोट लागेको छ । दुर्घटनामा परी घाइते भएका बसका यात्रु सिराहाकी ३७ वर्षीया निलम सिंह, सिराहाकै कल्याणपुर–१ की ६४ वर्षीया परमेश्वरी कापेटको टाउको र हातमा चोट लागेको छ ।

त्यस्तै कल्याणपुर–४ का १९ वर्षीय नन्दकिशोर यादव, लहान–१३ की ५२ वर्षीया रुकमदेवी पासवान, कल्याणपुर–११ की ३५ वर्षीया सुनिता यादव, धनुषाको हंसपुरका शङ्कर मण्डलका छोरा ५ वर्षीय आरुष मण्डल, कल्याणपुर–११ की ७० वर्षीया रामपरी ठाकुर, कल्याणपुर–११ का ४२ वर्षीय सुकोकुमार साह, कल्याणपुर–११ का प्रमोद यादवकी छोरी ४ वर्षीया कृतिका यादव घाइते छन् ।

त्यसैगरी कल्याणपुर–११ की १८ वर्षीया मनिषाकुमारी यादव, सिराहा बरियारपट्टी–२ का २९ वर्षीय ओमप्रकाश दास, नडाहा–२ की १८ वर्षीया एलिसा सिंह, कल्याणपुर–११ का ६८ वर्षीय मो. सहिद मियाँ, ओरी–१ का १६ वर्षीय प्रवीण सिंह, कल्याणपुर–११ का १८ वर्षीय विवेक यादव, कल्याणपुर–१ का ६४ वर्षीय मखन कामती र सप्तरी बोदेबरसाइन–१ का ५४ वर्षीय श्रवणकुमार चौधरी घाइते भएको ट्राफिक प्रमुख न्यौपानेले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जनाए ।

घाइतेहरूको बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको शरीरका विभिन्न भागमा चोटपटक लागे पनि खतरामुक्त रहेको चिकित्सकलाई उद्धृत गर्दै ट्राफिक प्रहरीले जनाएको छ ।