इटहरी । गत शुक्रबार साँझ साढे ७ बजे इटहरी–६ त्रिवेणी टोलमा अचानक विद्युत् सेवा अवरुद्ध हुन पुग्यो । करिब एक घण्टापछि सेवा सुचारु हुँदा स्थानीय ३ वटा घरमा बत्ती बलेन । प्राधिकरणको टेलिफोन सेवा ०२५–५८०११२ मा लगातार सम्पर्क गर्न खोजियो तर, व्यस्तको व्यस्त रहेका कारण कुनै सम्पर्क हुन सकेन ।

शुक्रबार विद्युत् अवरुद्ध हँुदा त्रिवेणी टोलका पर्शुराम तिम्सिना, हरिकुमार श्रेष्ठ र मनोज भारद्वाजको घर अँध्यारो नै रह्यो । प्राधिकरणको फोन सेवा सधैँ व्यस्त भएपछि स्थानीयहरू भोलिपल्ट कार्यालय पुगेर गुनासो सुनाए । शनिबार बिहान ९ बजे प्राधिकरणका कर्मचारी आएर पोलमा ‘सट’ भएको भनी जानकारी गराउँदै मर्मत गरेर फर्के । अचाक्ली गर्मी त्यसमा पनि विद्युत् सेवा अवरुद्ध हुँदा शुक्रबार आफूसहित सपरिवार घरको छतमा रात बिताएको त्रिवेणी टोलका हरि बताउँछन् ।

त्यस्तै इटहरी–९ को एक पोलमा शनिबार दिउँसो अचानक तार सट भएर आगलागी भयो । आगोबाट थप क्षति हुन नदिन विद्युत् सेवा अवरुद्ध गराउन स्थानीयले प्राधिकरणमा फोन सम्पर्क गर्न खोजे तर, व्यस्तको व्यस्त । ‘निकै समय कोशिस गरेपछि बल्ल फोन लागेको र प्राधिकरणको कर्मचारी आएर पुनःमर्मत गरी फर्किए । समयमै विद्युत् सेवा अवरुद्ध गरिदिएको भए पोलमा जडित इन्टरनेट, केबल र टेलिफोनको तार जोगिन्थ्यो तर, सबै जल्यो’ –स्थानीय गोपाल रेग्मीले भने ।

यी माथिका घटना उदाहरणमात्र हुन् । यस्ता घटना इटहरीमा दैनिक ३ देखि ४ वटासम्म हुने गरेका छन् तर, विद्युत् प्राधिकरणको सेवा भने प्रभावकारी नभएको जनगुनासो त्यत्तिकै बढ्दो छ । प्राधिकरण जस्तो अति संवेदनशील कार्यालयको सेवा सुस्त नहुनु, भनेको बेला फोन नलाग्नु, लागिहाले पनि कर्मचारी बेलैमा नपुग्नुले सेवाग्राहीहरू रुष्ट बनेका छन् । ‘भनेको समयमा विद्युत्को महसुल नतिरे सेवाबाट बञ्चित गराउने प्राधिकरणले सर्वसाधारण तथा सेवाग्राहीहरूको समस्या नसुन्ने गुनासो बढ्दो छ । प्राधिकरणको टेलिफोन सेवा सधैँ व्यस्त रहने कुराको जानकारी वितरण शाखा इटहरीका प्रमुखकहाँ पुगेपनि यसको समाधान अझै हुन सकेको छैन ।

प्राधिकरणकै कर्मचारीहरूले टेलिफोन दुरुपयोग गर्ने गरेको सेवाग्राहीहरू बताउँछन् । कर्मचारीले घरपरिवारसँग कार्यालयकै फोनबाट कुराकानी गर्ने गरेको महसुल तिर्न प्राधिकरण पुगेका बेला प्रत्यक्ष देखेको इटहरी–१ का शरण चौंलागाईं बताउँछन् । चौंलागाईं मात्र नभई कर्मचारीले कार्यालयको फोन दुरुपयोग गरेको धेरै सेवाग्राहीहरूले देखेको बताएका छन् । केहीले त गालीसमेत गरेको सुनाए ।

यता यस विषयमा नेपाल विद्युत् प्राधिकरण इटहरी वितरण केन्द्रका प्रमुख राम उद्गर साहसँग सम्पर्क गर्दा विद्युत् क्षेत्र अति संवेदनशील भएको कारण कार्यालयको फोन व्यस्त हुनु सामान्य रहेको बताए । तर, कार्यालयको फोन दुरुपयोग गरेको विषयमा आफू अनभिज्ञ रहेको बताए । ‘यदि यो कुरा साँचो रहेछ भने हामी बुझ्छौं र त्यस्ता कर्मचारीलाई तुरुन्त कारबाहीको दायरामा ल्याउँछौँ’–प्रमुख साहले भने ।