विराटनगर । लागूऔषध गाँजा सप्लाई गर्ने गिरोहसहित प्रहरीले मोरङको सुन्दरहरैँचाबाट ४ जनालाई पक्राउ गरेको छ ।

घरबाट गाँजा बिक्री गर्ने, खरिद गर्ने र गाँजा ‘सप्लाई’ गर्नेहरू पक्राउ परेका हुन् । पक्राउ परेकाहरूबाट साढे २ किलो गाँजा पनि बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–७ डाँडा गाउँका ६३ वर्षीय देव चौधरी, ३८ वर्षीय दुर्गाप्रसाद फुयाँल, मोरङको केराबारी गाउँपालिका–४ का ३१ वर्षीय सुविन राई र केराबारी–४ का १९ वर्षीय अनिसम बस्नेत रहेका छन् । चौधरीको घरबाट गाँजा ‘सप्लाई’ हुने गरेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले चारै जनालाई पक्राउ गरेको हो । चौधरीको घरबाट गाँजा किनबेच हुने गरेको सूचना आएपछि नियन्त्रणमा लिन बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहालले आइतबार राति ९ः३० बजेतिर टोली परिचालन गरेका थिए । वरिष्ठ सइ (प्रहरी वरिष्ठ नायव निरीक्षक)को नेतृत्वमा खटिएको टोलीले चौधरी र फुयाँललाई सुरुमा पक्राउ गरेको हो । डिएसपी बस्नेतका अनुसार प्रहरी पुग्दा चौधरीको घरमा गाँजा किनबेच हुँदै थियो ।

चौधरीले फुयाँललाई गाँजा बेच्दै गरेको अवस्थामा दुवै जनालाई पक्राउ गरिएको उनले बताए । त्यसपछि घर खानतलासी गर्दा ५ सय ग्राम (आधा किलोग्राम) गाँजा बरामद भएको जानकारी बस्नेतले दिए । उनका अनुसार चौधरीले घरमै राखेर गाँजा बिक्री गर्ने गरेको खुलेको छ ।

सोधपुछ गर्दा प्रदेश १–०२–०५३ प ९०३१ नम्बरको मोटरसाइकलमार्फत् चौधरीको घरमा गाँजा ‘सप्लाई’ गरेको खुल्यो । ‘चेक पोइन्ट’ खडा गरेर सवारीसाधन चेकजाँच गर्न थालेको प्रहरी उक्त मोटरसाइकललाई पनि नियन्त्रणमा लिन सफल भयो । मोटरसाइकललाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा चालक राई र पछाडि सवार बस्नेत पक्राउ परे ।

डिएसपी बस्नेतका अनुसार बस्नेतले पछाडि बोकेको झोला खानलतासी गर्दा २ किलोग्राम गाँजा बरामद भयो । मोटरसाइकल प्रयोग गरेर राई र बस्नेतले विभिन्न स्थानमा गाँजा ‘सप्लाई’ गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । साढे २ किलो गाँजासहित पक्राउ परेका चारै जनालाई बेलबारी प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको छ ।