विराटनगर । खेलकुद विकास बोर्डका सदस्य–सचिव पर्शुराम बस्नेतलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले २४ घण्टे स्पष्टीकरण सोधेका छन् । अदालतले पुनर्बहाली गरेर पदभार ग्रहण गरेको एक दिनपछि बस्नेतलाई मुख्यमन्त्री कार्कीले यही वैशाख २३ गते स्पष्टीकरण सोधेका हुन् ।

२०७९ मङ्सिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा सहभागी भई निर्वाचन खर्च विवरणसमेत दाखिला गरेको नपाइएको भन्दै मुख्यमन्त्री कार्कीले बस्नेतलाई स्पष्टीकरण सोधेका हुन् । विराटनगर महानगरपालिका वडानम्बर ११ घर भएका बस्नेत २०७९ सालको प्रदेश सभा सदस्य निर्वाचनमा मोरङ क्षेत्रनम्बर ६ (२)बाट नेकपा (एमाले) को उम्मेदवारसमेत थिए ।

‘प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १२ (ङ), ऐ. ऐनको दफा १३ तथा प्रदेश खेलकुद ऐन २०७६ को दफा २७ प्रतिकूल तपाईंको पदले निरन्तरता पाउने हो होइन ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्ट पार्नुहुन जानकारी गराइन्छ । अन्यथा नियमानुसार हुनेसमेत जानकारी गराइन्छ’ स्पष्टीकरण पत्रमा लेखिएको छ ।

तत्कालीन मुख्यमन्त्री भीम आचार्यले बस्नेतलाई २४ असोज २०७८ मा खेलकुद विकास बोर्डको सदस्य–सचिव नियुक्त गरेका थिए । त्यसपछि राजेन्द्र राई नेतृत्वको मन्त्रिपरिषद्ले २१ चैत २०७८ मा उनलाई पदमुक्त गरेर हंशराज वाग्लेलाई सदस्य–सचिव पदमा नियुक्त गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयविरुद्ध बस्नेतले १४ वैशाख २०७९ मा उच्च अदालत विराटनगरमा रिट दिएका थिए । सोही रिटमा दुई वर्षपछि उच्च अदालतले बस्नेत पुनर्बहाली हुने फैसला गरेको थियो ।