विजयपुर । घुमन्तेका लागि चर्चित ठाउँ हो, धरान–२० को ‘चिण्डेडाँडा’ । यही डाँडामा २०८० सालतिर ‘सुम्निमा–पारुहाङ’ को प्रतिमा बनाउने भएपछि झनै चर्चित बन्यो ।
तत्कालीन नगर प्रमुख हर्कराज राईले सुम्निमा–पारुहाङको विशाल प्रतिमा बनाउने घोषणाले तातेको चिण्डे डाँडा अझै सेलाएको छैन । प्रतिमा बनाउने स्थलमा खरिद गरिएको जग्गाका कारण चिण्डे डाँडा झनै तातिरहेको हो । प्रतिमा निर्माणका लागि विश्वभरबाट लाखौँ रकम सहयोग गरिएको थियो । त्यही सहयोग गर्नेमध्येका वेलायतवासी दाता देव रुम्दालीले एक महिनाअगि सार्वजनिकरूपमा परियोजनाको आर्थिक विवरण मागेका थिए ।
उनी आफैले फेसबुकमा सार्वजनिक गरेको भिडियोमा आफू दातासमेत भएकाले प्रश्न गर्ने अधिकार रहेको उल्लेख गर्दै भनेका छन्, “जग्गा कति खरिद भयो ? अझै ३ कठ्ठा किन्न बाँकी छ भने भन्नुहोस् । म फेरि युके जाँदै छु । त्यहाँ सहयोग जुटाउन वास्तविक अवस्था थाहा हुनुपर्छ । युकेबाट कति रकम आयो ? साढे पाँच करोड उठेको भनिएको थियो । अहिले कति बाँकी छ ? कति जग्गा किनियो ? कति बाँकी छ ? भन्नुहोस् अझै पनि सहयोग उठाउन सकिन्छ ?”
सुम्निमा पारुहाङ प्रतिमा निर्माणमा सहयोगीहरूले नै आर्थिक पारदर्शितामाथि प्रश्न उठाएपश्चात् सुम्निमा पारुहाङ प्रतिष्ठान नेपालका उपाध्यक्ष (जग्गा व्यवस्थापनको जिम्मेवारी पाएका) राजेन्द्र राई जग्गा खरिदमा भएको खर्च विवरण सार्वजनिक गर्न बाध्य भए । उनले करिब दुई सातअगि पत्रकार सम्मेलनमा २२ कठ्ठा एक धुर जग्गा खरिद गरेको बताए । जग्गा १० करोड ८७ लाख १० हजार चार सय रुपैयाँमा खरिद गरेको दाबी गरे । उनले मालपोत कार्यालयमा ४.५ प्रतिशत राजस्व भुक्तानीसमेत गरेको बताए ।
यही विषयमा ब्लाष्टले प्राप्त गरेको काजगातमा उपाध्यक्ष राईले सार्वजनिक गरेको जग्गाको मूल्य र मालपोत कार्यालय तथ्याङ्कमा ठूलो अन्तर भेटिएको छ । उपाध्यक्ष राईले २२ कठ्ठा १ धुर जग्गाको १० करोड ८७ लाख १० हजार चार सय रुपैयाँ भुक्तानी गरेको दाबी गरे पनि मालपोत कार्यालयको तथ्याङ्कमा तीन करोड ३१ लख ७३ हजार सात सय ७५ रुपैयाँ भुक्तानी गरेको देखिन्छ । उपाध्यक्ष राईले सार्वजनकि गरेको रकम र मालपोत कार्यालयको तथ्याङ्कबीच सात करोड ५५ लाख ३६ हजार छ सय २५ रुपैयाँको अन्तर देखिन्छ । मालपोत कार्यालयको विवरणअनुसार १६ जना जग्गाधनीको २६ वटा कित्ता खरिद गरेको देखिन्छ ।
पत्रकार सम्मेलनमा उपाध्यक्ष राईले मालपोतको विवरण हेर्न सक्ने बताउँदै भनेका थिए, “साढे ४ प्रतिशतले राजस्व तिरेका छौँ । होइन भने मालपोतले जालसाझी गर्छ ?” उनले बोलेको उक्त भिडियो सामाजिक सञ्जालमा समेत भाइरल छ । उपाध्यक्ष राईले भने अनुसार रकमको ४.५ प्रतिशतका दरले ४८ लाख ९१ हजार नौ सय ६८ रुपैयाँ राजस्व हुन आउँछ । तर मालपोतको अभिलेखमा तीन करोड ४६ लाख ६६ हजार पाँच सय ९५ रुपैयाँ रकम खर्च भएको देखिन्छ । मालपोतको अभिलेखका आधारमा ४.५ प्रतिशतका दरले रकम बुझाउँदा १४ लाख ९२ हजार ८ सय २० रुपैयाँ मात्रै तिरेको देखिन्छ ।
यो अन्तरबारे उनलाई बुझ्नका लागि सम्पर्क गर्दा आफू धरानबाहिर रहेकाले साता दिनपश्चात् प्रत्यक्ष भेट्ने बताएका थिए । त्यसपछि उनलाई पटक–पटक सम्पर्क तथा प्रत्यक्ष भेट गर्न खोज्दा पनि भेट र फोनसम्पर्कमा आउन चाहेनन् । उनलाई ब्लाष्टकर्मीले एसएमएसमार्फत् जानकारी पठाएको थियो । त्यसको पनि प्रत्युउत्तर नआएपछि प्रतिष्ठानका कोषाध्यक्ष दत्त लिम्बूसँग कुरा गरिएको थियो । उनले फोनसम्पर्कमा भने, “आफूहरूसँग अनैतिकता हुँदैन । बिल भौचर र बैङ्कमार्फत् काम गर्छौं ।” पत्रकार सम्मेलनमा उपाध्यक्ष राईले भनेका कुरा र मालपोतको फरकबारे उनीसँग जिज्ञासा राख्दा उनले भने, “त्यो चाहिँ राजेन्द्र राईलाई सोध्नुपर्छ । जग्गा पासमा ऊ (राजेन्द्र) नै जान्छ । घरजग्गा किन्दा के गर्छौं । नियम के छ ? त्यहीअनुसार होला ।”
अझ रोचक त उपाध्यक्ष राईले पत्रकार सम्मेलनमा गरेको जग्गाको क्षेत्रफलभन्दा तीन कठ्ठा कम देखिएको छ । मालपोत कार्यालयको विवरणअनुसार प्रतिष्ठानको नाममा १९ कठ्ठा १ धुर मात्रै आएको देखिन्छ । उपाध्यक्ष राईले भनेअनुसारको तीन कठ्ठा जग्गा प्रतिष्ठानको नाममा आएको देखिँदैन । प्रतिष्ठानको नाममा नआएको तीन कठ्ठा जग्गा घोपा ३ (घ) ३०१ कित्ता नम्बरको हो । उक्त कित्ता नम्बरमा कुल चार कठ्ठा १३.५ धुर जग्गा छ । यसमध्ये प्रतिष्ठानको नाममा एक कठ्ठा १३.५ धुर मात्रै आएको छ । तीन कठ्ठा जग्गा व्यक्तिको नाममा देखिन्छ ।
मालपोतको विवरणअनुसार प्रतिष्ठानले घोपा ३ (घ) को २६ वटा कित्ता खरिद गरिएको देखिन्छ । जसमा ४०८ देखि ४१५ सम्मका निरन्तर कित्ता खरिद गरिएको छ भने १३४, १२३, २२२, १४०, १४६, १३८, २९८, ३०१, ३८६, १३१, १२६, १४४, १४५, ३८४, ३८९, १४१, ३४१ र ३८३ कित्ता नम्बर छन् । यसैमध्येको ३०१ कित्ता नम्बरको तीन कठ्ठा जग्गा प्रतिष्ठानको नाममा नगएको हो ।