विजयपुर । मोरङ, सुनसरी र उदयपुरका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट ब्राउन सुगर, प्रतिबन्धित औषधि र गाँजा बरामद भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार विराटनगर महानगरपालिका–१६ बाट मोरङको केराबारी गाउँपालिका–७ का ३३ वर्षीय कमल राईलाई १ ग्राम ३७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।
त्यस्तै, उदयपुरको चौदण्डीगढी नगरपालिका–३ स्थित सावन राईको घरमा खानतलासी गर्दा २ हजार ९ सय ८ क्याप्सुल प्रतिबन्धित औषधि बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा सावन राईसहित चौदण्डीगढी नगरपालिका–६ का २७ वर्षीय शुभ राईलाई पनि पक्राउ गरेको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका–४ बाट धादिङका २७ वर्षीय सुवास अर्याल र सिन्धुपाल्चोकका ३७ वर्षीय विक्रम कार्कीलाई १९ ग्राम ३२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । इटहरी उपमहानगरपालिका–६ स्थित वीरेन्द्र चोकमा शंकास्पद रूपमा हिँडिरहेका सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ का १७ वर्षीय गौतम ऋषिदेव र मोरङको सुन्दरहरैचा नगरपालिका–७ का २८ वर्षीय अमिन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट ४ ग्राम ६७० मिलिग्राम ब्राउन सुगर र ४ हजार ९ सय रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।
सुनसरीको कोशी गाउँपालिका–१ स्थित लौकही बजारबाट प्रहरीले १७ किलो १४० ग्राम गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । मधुवनबाट लौकही तर्फ आउँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा भारतको सुपौल जिल्ला, फत्तेपुर पञ्चायत–१ का २१ वर्षीय दीपक कुमार पोदारको साथमा रहेको कालो झोलाबाट गाँजा बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले गाँजासहित मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।