विजयपुर । बाढीपहिरोका कारण जलविद्युत् आयोजनाका टनेल तथा आसपासका क्षेत्रमा फसेका व्यक्तिको खोजीलाई नेपाली सेनाले तीव्रता दिएको छ ।
लाङटाङ हाइड्रोमा विदेशी नागरिकसहितको संयुक्त खोज तथा उद्धार टोली टनेलभित्र करिब १५० मिटर प्रवेश गरिसकेको छ । टोलीले दुई स्थानमा साना प्वाल बनाएर टनेलभित्र फसेका व्यक्तिको अवस्थाबारे खोजी गरिरहेको छ । चिलिमे हाइड्रोमा पनि विदेशी नागरिकसहितको संयुक्त टोली खोज तथा उद्धारमा परिचालित छ ।
त्रिशूली–३ए आयोजनामा भने ९३ जनाको संयुक्त उद्धार टोलीले पाँचवटा एक्साभेटर प्रयोग गरेर टनेलको आउटलेटमा थुप्रिएको लेदो र माटो हटाइरहेको छ। आउटलेट साँघुरो भएकाले राति करिब २ बजे क्राउनमा ब्लास्टिङ गरी प्वाल ठूलो बनाउने र सफा गर्ने कामसमेत अघि बढाइएको छ।
उता त्रिशूली–३बी आयोजनामा नेपाली सेनाका ८९ जना, तीन जना गैरसैनिक कर्मचारी तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको टोली खोज तथा उद्धारमा खटिएको छ। टोलीले आयोजनाको कार्यालय र आवास क्षेत्र पहिचान गरी त्यहाँ पुग्ने बाटो खुलाउन एक्साभेटर र बबक्याटमार्फत माटो तथा अन्य अवरोध हटाइरहेको छ।
टनेल उद्धारसँगै सेनाले प्रभावित बस्ती, जंगल, डाँडा र खोलामा समेत पैदल गस्तीमार्फत खोजी गरिरहेको छ। स्थानीयलाई सुरक्षित स्थानमा सार्ने, घाइतेको उद्धार गर्ने तथा चिकित्सक र स्वास्थ्य अधिकृतसहितको टोलीमार्फत तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने काम पनि भइरहेको छ।
त्रिशूलीपारि कोलोनीदेखि तुप्चे, सोले बजार तथा नुवाकोटका विभिन्न क्षेत्रमा खोज तथा उद्धार जारी छ। स्याफ्रुवेशी क्षेत्रमा पनि नेपाली सेना र अन्य सुरक्षा निकायको संयुक्त टोली परिचालन गरिएको छ।
विपद्पछि सम्भावित सङ्क्रमण फैलिन नदिन नुवाकोटको पिपलटार र देवघाटस्थित होल्डिङ सेन्टरमा चिकित्सक अधिकृतहरूले सचेतनामूलक कक्षा सञ्चालन गरिरहेका छन्।
नेपाली सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा ९ हजार ३ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालित छन्। उनीहरू घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन र आपत्कालीन उपचारलगायतका काममा खटिएका छन्।
यसैबीच प्रधान सेनापति महारथी अशोक राज सिग्देलले त्रिशूली तथा टनेल उद्धारलगायत प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका छन्। उनले सम्बद्ध सबै निकायबीच प्रभावकारी समन्वय कायम गर्दै उच्च मनोबलका साथ खोज तथा उद्धार कार्यलाई निरन्तरता दिन नेपाली सेनाका सकलदर्जालाई निर्देशन दिएका छन्।