काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका एक हजार २५२ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा १९० र भारतमा भेटिएका १८ जना गरी जम्मा एक हजार २५२ जनाको शव फेला परेको छ । भारतको सीमावर्ती क्षेत्रमा फेला परेका शव नवलपरासी पश्चिम जिल्लामा बुझाइएको छ । सङ्कलन गरिएकामध्ये हालसम्म ९५ शव आफन्तलाई हस्तान्तरण गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए ।

फेला परेका शवको पहिचानका लागि डीएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म २१३ महिला, ३१४ पुरुष र ३७० नखुलेको गरी जम्मा ८९७ वटा शव माटोमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ । पहिचान नभएका ९५९ वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण र शव व्यवस्थापनका लागि हालसम्म सात हजार ९१२ जना प्रहरी परिचालन गरिएको छ ।


हालसम्म बेपत्ता भएका चार हजार ८७५ जनाको खोजी भइरहेको छ । नुवाकोट र रसुवालगायत जिल्लाहरूमा रहेका ‘होल्डिङ सेन्टर’मा तीन हजार १२६ जनाले आश्रय लिइरहेका छन् । रासस