विजयपुर । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले सहकारी संस्थाबाट पीडित बचतकर्ताको रकम फिर्ता गर्न तथा समस्याग्रस्त सहकारीमाथि आवश्यक कारबाही अघि बढाउन माग गरेको छ ।

अभियानले बिहीबार धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघालाई मागपत्र बुझाउँदै सहकारी समस्याबारे तत्काल पहल गर्न आग्रह गरेको हो । मागपत्रमा सहकारीमा बचतकर्ताको रकम जोखिममा परेको र लामो समयदेखि बचत फिर्ता नपाएका सदस्यलाई राहत तथा न्याय दिलाउन स्थानीय तहले प्रभावकारी भूमिका खेल्नुपर्ने उल्लेख छ ।

अभियानका अध्यक्ष नवराज प्रधानद्वारा हस्ताक्षरित मागपत्रमा व्यवस्थापन समितिमा रहेका कर्मचारी तथा सञ्चालकको विवरण सार्वजनिक गर्नुपर्ने माग गरिएको छ । यस्तै, व्यवस्थापन समितिले गरेका कामकारबाहीबारे पीडितलाई अनिवार्य जानकारी गराउनुपर्ने तथा सहकारी स्थापना भएदेखि हालसम्मका सञ्चालक र कर्मचारीको पूर्ण विवरण छानबिन गर्नुपर्ने माग गरिएको छ ।

त्यस्तै, पीडित बचतकर्ताको प्रतिनिधित्व हुने गरी व्यवस्थापनमा सहभागिता सुनिश्चित गर्नुपर्ने र पीडितको बचत रकम फिर्ता गर्ने कार्ययोजना बनाउनुपर्ने माग गरिएको छ । स्थानीय निर्वाचनअघि नै बचत रकम फिर्ता गर्ने प्रक्रिया सुरु गर्नुपर्ने माग गरिएको अभियानका सूचना विभाग प्रमुख पुकार शाक्यले जानकारी दिए ।

उनका अनुसार बिक्री भएका सहकारीका सम्पत्ति तथा जग्गाको पुनः छानबिन गरी कानुनबमोजिम फिर्ता ल्याउनुपर्ने तथा बैंकले मूल्यांकनभन्दा बढी ऋण प्रवाह गरेका सहकारी सञ्चालकका नाममा रहेको सम्पत्तिसमेत छानबिनको दायरामा ल्याउनुपर्ने माग गरिएको छ । अभियानले आफ्ना माग पूरा नभए बचतकर्ताको पीडा र मागलाई लिएर थप दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिएको छ ।