विराटनगर । विराटनगरस्थित अरनिको कलेजले भोटेकोशी बाढी प्रभावितको राहत तथा उद्धारका लागि १० लाख १ हजार १ सय १ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बुधबार कलेजले उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङमार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेको हो । कलेज परिसरमा आयोजित कार्यक्रममा प्राचार्य राजेश कार्की तथा सञ्चालकहरूले हिसान मोरङका अध्यक्ष अमित ढकाल र कोशी प्रदेश सचिव दिपेश बास्तोलालाई सहयोग रकमको चेक हस्तान्तरण गरे ।
चेक हस्तान्तरण कार्यक्रममा कलेजका सञ्चालकहरू भरतराज दाहाल, निलमकुमार अधिकारी, विकास खनाल, विलास लुइँटेल, डा. भविन्द्र निरौला, लक्ष्मीप्रसाद अधिकारी र शैलेसकुमार झाको उपस्थिति थियो । प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको प्राचार्य कार्कीले बताए । “विपत्तिको यो घडीमा थोरै भए पनि सहयोग पुगोस् भनेर हामीले हातेमालो गरेका हौं,” उनले भने ।
भोटेकोशी क्षेत्रमा बाढीले जनजीवन प्रभावित बनाएपछि कोशी प्रदेशको राजधानी विराटनगरसहित विभिन्न जिल्लाबाट राहत जुट्ने क्रम तीव्र बनेको छ । बाढीपीडितका लागि निजी क्षेत्र, शैक्षिक संस्था र उद्योगी–व्यवसायीहरूले सरकारी कोषमार्फत सहयोग उपलब्ध गराइरहेका छन् ।