काठमाडौँ । “आमा, म बाँचेर आएँ । तपाईं किन रुनुभएको रु यता हेर्नुस् त, म फर्केर आएको छु ।”
घर फर्किएपछि गोरखा सिरानचोकका निरज भण्डारीले भावुक आमालाई यसरी सम्झाए । तर छोरा आँखैअगाडि सुरक्षित देख्दा पनि आमा प्रेमकुमारी ढकालका आँसु रोकिएनन्। बाढीले छोरा सवार बस बगाएको खबरपछि परिवारले निरज जीवित छन् भन्ने आशा लगभग गुमाइसकेको थियो।
निरज भदौ १० गते बिहान पालुङटारबाट ३६ यात्रु बोकेको बसमा रसुवाको गोसाइँकुण्ड यात्राका लागि सहचालकका रूपमा निस्किएका थिए। यात्रा नुवाकोटको भैँसे क्षेत्रमा पुगेपछि अचानक आएको भीषण बाढीले बस बगायो।
“माथिबाट माटो, ढुङ्गा र लेदो मिसिएको ठूलो भेल आउँदै गरेको देखेँ,” निरजले भने, “मैले चालकलाई गाडी रोक्न भनेँ, तर केही क्षणमै अवस्था भयावह बन्यो। म ढोकाबाट हामफालेर माथितिर दौडिएँ।”
निरजसहित केही यात्रुले हामफालेर ज्यान जोगाए पनि बससँगै धेरै यात्रु बगाए। आफूलाई निकै माया गर्ने चालक सागर देवकोटासहित धेरै साथीहरू बेपत्ता भएको सम्झँदा अहिले पनि उनलाई पीडा हुन्छ।
साँझपख अरूको फोनबाट निरजले घरमा सम्पर्क गरेपछि मात्रै परिवारले राहतको सास फेरेको थियो। छोरा घर फर्किएपछि आमा प्रेमकुमारीको खुसीसँगै आँसु पनि थामिएन।
घटनापछि निरज अझै मानसिक त्रासमा छन्। परिवारका अनुसार उनी धेरै बोल्दैनन्, हाँस्दैनन् र एकान्तमा टोलाइरहन्छन्। बाढी आउनुअघिको सामान्य यात्रा र आँखैअगाडि बस बगाएको दृश्यले उनलाई अझै झस्काइरहेको छ।
पालुङटार नगरपालिका–५ का वडाध्यक्ष दीपक पाण्डेका अनुसार बसमा ३६ जना सवार थिए। तीमध्ये छ जना सकुशल सम्पर्कमा आएका छन् भने अन्य यात्रुको खोजी जारी छ।
एउटै गाउँका धेरै मानिस एकैपटक बेपत्ता भएपछि पालुङटार–५ शोकमा डुबेको छ। बाढीले नदी किनार मात्र होइन, धेरै परिवारको खुसी र भविष्य पनि सँगै बगाएर लगेको स्थानीयको भनाइ छ । राससरसिन्ह्वारएएफपी