भोजपुर । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरअन्तर्गत सङ्खुवासभामा पेले खोल्सी खानेपानी आयोजनामार्फत २६ घरमा एक एक धारा जडान भएको छ । 

यो योजनाबाट सङ्खुवासभाको खाँदबारी नगरपालिकामा पर्ने सागम र लप्से गाउँको पानीको समस्या हटेको हो । तीन स्कीममा निर्माण भइरहेको आयोजनाको पहिलो ‘स्किम’को काम सम्पन्न भएसँगै २६ घरमा पानीको सुविधा पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ ।

गत वर्षबाट यो आयोजना निर्माणको काम थालिएको हो । यो आयोजनाको कूल अनुमानित लागत श्रमदानसहित छ करोड ८९ लाख रहेको कार्यालयका सवइन्जिनियर बेदराज बराइलीले जानकारी दिए ।  

पानीको चरम अभाव रहेको यो स्थानमा घरघरमा धारा जडान गरिएपछि सहजता भएको खाँदबारी नगरपालिका–६ का वडाध्यक्ष अर्जुन तामाङले बताए । बाँकी रहेका स्कीमको पनि काम समयमा सम्पन्न गराउन वडाले आवश्यक भूमिका खेलिरहेको उनको भनाइ छ । 

आयोजनाको लागि वार्षिकरुपमा आउने बजेट न्यून भएको कारण योजनालाई चाँडो सम्पन्न गराउन समस्या देखिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गादत्त भण्डारीले बताए  । स्थानीयलाई चाँडो पानी खुवाउन यहाँ आउने बजेटलाई सरकारले बढाउन आवश्यक रहेको उनको भनाइ छ । 

पहिलो स्किमबाट पानी वितरण थालिएपछि सहजता भएको स्थानीयवासी टेकबहादुर बगाले मगरले बताए । घरमा धारा जडान भएपछि पानीको जोह गर्न आधारातमा कुँवा तथा पँधेरा जानुपर्ने बाध्यता हटेको उनको भनाइ छ ।  

पानी वितरण भएपछि दैनिक सरसफाइदेखि घरायसी कामकाजमा सहज भएको स्थानीयवासी तारामाया राईले बताए । घरघरमा पानी जडान भएपछि वर्षौंदेखिको पानीको समयमा अन्त्य भएको उनको भनाइ छ । रासस