धरान । शान्तिलता–राजेन्द्रबहादुर (शारा) थापा स्मृति प्रतिष्ठानले पब्लिक हाइस्कुलका प्रधानाध्यापक डा. इन्द्रमोहन झालाई सम्मानित गरेको छ ।
प्रतिष्ठानले धरानस्थित सिद्धि नेवाः परिषद्मा आइतबार कार्यक्रम गर्दै सम्मान पत्रसहितले सम्मानित गरेको हो । यस्तै श्यामगोविन्द श्रेष्ठ र रेवा श्रेष्ठलाई अभिनन्दन पत्रले अभिनन्दित गरिएको छ । यसक्रममा ‘हाम्रो धरानः हाम्रो गौरव’ शीर्षकमा रही आयोजना गरिएको निबन्ध प्रतियोगितामा विजेता बनेका चार जनालाई नगदसहितले पुरस्कृत गरिएको छ ।
जसमा पब्लिक हाइस्कुलकी गुञ्जल लुइँटेल प्रथम भइन् भने विजयपुर स्कुलकी सविस्ता शेख दोस्रो, ज्ञानोदय मा.वि.का सागर तामाङ तेस्रो र युएन–नवोदय कलेजकी सिम्रन गुरुङ चौथो भएकी थिइन् । उनीहरूलाई प्रशंसापत्रसहितले पुरस्कृत गरिएको कार्यक्रम सञ्चालक विष्णु बरालले जानकारी दिए ।
यस्तै धरान जेसीजले निर्माण गरेको चन्द्रपुर डबलीलाई नगद सहयोग गरिएको छ । यस्तै परिवर्तनका लागि सामाजिक अभियानले सञ्चालनमा ल्याएको घरको स्कुलका लागि पनि नगद सहयोग गरिएको छ । जेसीजले विभिन्न कार्यक्रम गर्नका लागि धरान–३ मा चन्द्रपुर डबली निर्माण गरेको थियो । यस्तै परिवर्तनका लागि सामाजिक अभियानले गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई निःशुल्क रूपमा घरको स्कुल कार्यक्रममार्फत् विद्यार्थीहरूलाई पढाउँदै आइरहेको छ । उक्त कार्यक्रमका लागि प्रतिष्ठानले नगद सहयोग गरेको हो ।
यस्तै कार्यक्रममा सरसफाइकर्मी महिलाहरूलाई पनि सहयोग प्रदान गरिएको छ । कार्यक्रममा सम्मानितका तर्फबाट डा. झाले काम गर्दै गएमा कुनै न कुनै दिन कामको योगदानको कदर हुने बताए । त्यसमा आफू नभई पब्लिक हाइस्कुल सम्मानित भएको उनले बताए । यस्तै डा. राजेन्द्र शर्माले शारा थापा स्मृति प्रतिष्ठानलाई वीरेन्द्रसिंह थापाले सञ्चालन गरेर पुण्यको काम गरेको बताए । हरेक वर्ष बुबाआमाको आत्माशान्तिको काम गर्दै आएको र त्यस्ता काम अन्यका लागि पनि अनुकरणीय हुने बताए ।
यस्तै कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले धरानको विकासमा चिन्तन लिनेहरू माझ आफूलाई पाउँदा खुसी महसुस गरेको बताए । उनले धरान शिक्षाको हब भइरहँदा यसलाई थप उन्नति र प्रगतिका लागि काम गर्न आफू सदैव तत्पर रहेको बताए । यस्तै अध्यक्ष वीरेन्द्रसिंह थापाले धरानका लागि सबैले चिन्तन गरी भावी पुस्ताका लागि छाडिदिन आग्रह गरे । धरान राम्रो भएको आफूले हेर्न चाहेको उनले बताए । त्यसका लागि सबै एकजुट हुनका लागि उनले आग्रह गरे ।