विजयपुर । विराटनगरमा लागूऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि धारिलो हतियार प्रहार भएको छ ।


विराटनगर ३ स्थित भट्टाचोक नजिक अनुगमन मार्गका २९ वर्षीय रुविण कार्कीलाई नियन्त्रण गर्न प्रहरी पुगेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मुकेन्द्रकुमार मिश्रका अनुसार घटनामा दुई जना प्रहरी र एक जना सुधार केन्द्रका कर्मचारी घाइते भएका छन् । घाइते हुनेमा प्रहरी सहायक निरीक्षक भोजराज रेग्मी, प्रहरी जवान हिमाल घिमिरे र सुधारगृहका कर्मचारी सन्तोष सापकोटामाथि कार्कीले धारिलो हतियार प्रहार गरेका हुन् । घाइतेहरूको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार सुधार केन्द्रमा लैजाने उद्देश्यले प्रहरी टोली लागूऔषध प्रयोगकर्ताको घर पुगेको थियो । तर ढोका बन्द गरी कोठाभित्र बसेका लागूऔषध प्रयोगकर्ताले ढोका खोल्ने क्रममा एक्कासि धारिलो हतियार प्रहार गरेका थिए । प्रहरीले प्रयोग गरिएको हतियार के थियो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ । धारिलो हतियार प्रहार गर्ने कार्कीलाई प्रहरीले नियन्त्रण लिइसकेको छ ।