कुनै समय देशको शान्ति सुरक्षामा खटिएका प्रहरी हुन् वा माओवादीको तर्फबाट बन्दुक उठाएकाहरु पनि अहिले कुनै न कुनै काममा तल्लीन छन् । उनीहरु देशमै आफ्नो पौरख खर्चिरहेका छन् । कुटोकोदालो चलाइरहेका छन् । केही खेतीकिसानीमा छन् भने केही अन्य व्यापार व्यवसायमा संलग्न छन् । यसले के देखाउँछ भने राज्यतर्फबाट लडेका हुन् वा राज्य स्थापनार्थ लडेका हुन् । उनीहरुको उद्देश्य देशलाई सेवा गर्ने नै देखिन्छ । सशस्त्र प्रहरीका पूर्व हवल्दार तारावीर तामाङको दैनिकी त्यसैको एउटा उदाहरण हो । उनले आफूले पेसा मात्रै परिवर्तन गरेका छैनन्, उनले आफूलाई देशका निम्ति केही गर्ने उत्साह पनि बोकेका छन् । तर राज्यले यस्ता नागरिकहरुका लागि के गरिरहेको छ त ? भन्ने प्रश्न चाहिँ गम्भीर रुपमा उठिरहेको देखिन्छ । के राज्यले देशका निम्ति खट्ने र देशमै बसेर सेवा गर्नेहरुलाई सम्मान दिएको छ त ?

देशमा शान्ति स्थापनापश्चात् हजारौँ युवाहरु रोजगारीको खोजीमा विभिन्न देशमा भासिए । कतिपय नेपालमै केही न केही उद्यम गरेर बसिरहेका छन् । केहीले आफैले सम्भावना खोजे भने केहीले परम्परागत कार्यलाई नै केही परिवर्तन गरी काम गरिरहेका छन् । त्यसैमध्येका तारावीर एक हुन् । आफ्नै माटोमा भविष्य खोज्नेहरुलाई राज्यले पनि सही तरिकाले सम्मान गर्न जान्नुपर्छ । अन्यथा उनीहरुको पौरख र पसिनाको मूल्य खेर जानेछ । देशमा उत्पादन वृद्धि गर्नका लागि पनि हामीले केही न केही काम गर्न जरूरी छ । यसका लागि राज्यको लगानी सबैभन्दा बढी आवश्यक छ । पूर्वाधारको क्षेत्रमा लगानी होस् वा अन्य क्षेत्रमा लगानी गर्ने वातावरण सिर्जना भएमा हामीले देशलाई माथि उठाउन सक्छौँ ।

हाम्रो देशको भूपरिस्थितिलाई ख्याल गरेर पनि यहाँ सोहीअनुसारको व्यापार व्यवसाय तथा कृषिलाई प्राथमिकता दिनुपर्ने अवस्था छ । तारावीर जस्ता देशको सेवाका लागि खटिएकाहरुको पसिना र पौरखलाई सही तरिकाले व्यवस्थापन गर्न जरूरी छ । यसले अन्यलाई पनि उत्प्रेरणा सिर्जना गर्छ । हेर्दा सामान्य उदाहरण भए पनि यसलाई वृत्ति विकास गर्न जरूरी छ । आजको मूल चिन्ता भनेको देशमा उत्पादनलाई वृद्धि गर्न नसक्नु हो । हरेक वर्ष कृषिको करिब २७ प्रतिशत योगदान रहँदै आएको छ । यसलाई नजरअन्दाज गरेर अगाडि बढ्दा हामी कहीँ पनि जान सक्दैनौँ । हामीले कृषिलाई सबैभन्दा बढी लगानी गरी सोही क्षेत्रबाट उत्पादनलाई वृद्धि गर्नेतर्फ र आफ्नो खुट्टामा उभिने वातावरण सिर्जना गर्नुपर्छ । कृषिजन्य सामग्री अन्य देशबाट खरिद गर्नुपर्ने जुन अवस्था छ, त्यसलाई अन्त्य गर्नका लागि तारावीर जस्ता व्यक्तित्वलाई माथि उठाउनै पर्छ । उनीहरुमा लगानी गर्नै पर्छ । अन्यथा हामीले देखेको समृद्धि कहिल्यै प्राप्त गर्न सक्दैनौँ ।

कृषि नेपालको अर्थतन्त्रको मेरूदण्ड हो । तर पनि किसानहरुले वर्षौदेखि समस्या भोग्दै आएका छन् । माटोको गुणस्तरदेखि लिएर बालीमा देखिन नयाँ नयाँ रोग, उत्पादनमा कमी जस्ता समस्याका निम्ति सही रुपमा प्राविधिकहरुको उत्पादन आवश्यक छ । देशअनुसार अर्थात् माटो सुहाउँदो प्राविधिकहरु तयार गर्न सक्यौँ भने हामीले हाम्रै देशबाट सुन फलाउन सक्छौँ । अर्थतन्त्रलाई वृद्धि गर्न सक्छौँ । कृषिमा आत्मनिर्भर हुन सक्छौँ । अर्कोतर्फ हाम्रो बजारमा पनि अनेकौँ समस्या छन् । यी समस्याहरुको व्यवस्थापन गर्न जरूरी छ । किसानले उत्पादनको जोखिम बेहोर्ने, मौसमसँग जुध्ने र पुँजी लगानी गर्ने तर नाफा भने बिचौलियाले लिने अवस्था कुनै पनि कृषि प्रणालीका लागि राम्रा सङ्केत होइन । सरकारले केवल अनुदान वितरण मात्रै गर्ने होइन, कृषि उत्पादनदेखि बजारसम्म पु¥याउन र मूल्य शृङ्खलालाई सुधार गर्न आवश्यक छ । तारावीरको कथा व्यक्तिको सङ्घर्षको कथा मात्रै पनि होइन । यो आम नेपालीको कृषिको सटिक चित्र पनि हो । यस्ता हातहरुको सम्मान केवल प्रशंसाले होइन, प्रभावकारी नीति, सहज सेवा र न्यायपूर्ण बजार व्यवस्थाबाट हुनुपर्छ ।