विजयपुर । कवि बम देवानको नयाँ कविता सङ्ग्रह ‘मनका छालहरू’ सार्वजनिक गरिएको छ ।
शनिबार धरानमा कृष्ण पाख्रिन स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा कवि देवानको नवीनतम कृति सार्वजनिक गरिएको हो । यसअघि उनका ‘हाम्रो गीत हाम्रो आवाज’ (२०३०) र ‘आगोको खेती’ (२०७२) प्रकाशित भइसकेका छन् ।
१ सय ७० पृष्ठको ‘मनका छालहरू’ मा कवि देवानले अस्तित्वबोधी चेतना, युगीन यथार्थ, जातीय तथा सांस्कृतिक चेतना, समकालीन समाज र मानिसका अन्तर्द्वन्द्वलाई कविताको मूल विषय बनाएका छन् । उनका कवितामा युगीन विसङ्गतिमाथि व्यङ्ग्य प्रहार, पौराणिक मिथकको समकालीन पुनर्पाठ तथा सामाजिक–राजनीतिक विकृतिमाथि आलोचनात्मक दृष्टि प्रस्तुत गर्ने विशेषता रहेको छ ।
कार्यक्रममा कविता सङ्ग्रहबारे डा. अस्मिता बिष्ट र डा. तुलसी गौतमले समीक्षा तथा परिचर्चा गरे । डा. गौतमले साहित्यकार बम देवानका कृतिहरूले उनको बहुआयामिक व्यक्तित्व, जीवनदर्शन र प्रगतिशील चेतनालाई उजागर गरेको बताए । धरानमा एक स्थापित र लोकप्रिय राजनीतिक नेताका रूपमा परिचित भएपनि उनका साहित्यिक कृतिहरूले वैचारिक गहिराइ, सामाजिक दृष्टिकोण र सांस्कृतिक चिन्तनलाई थप स्पष्ट बनाएको उनले बताए ।
डा. अस्मिता बिष्टले बम देवान धरानका एक आदरणीय, निष्ठावान र लोकप्रिय राजनीतिक व्यक्तित्व भएको उल्लेख गरिन् । देवानले जीवनभर समाज परिवर्तन र प्रगतिशील विचारधाराको वकालत गरेको बिष्टको भनाइ छ । उनका अनुसार देवानको साहित्यिक यात्रा र वैचारिक विकासमा धरानको शैक्षिक तथा साहित्यिक परिवेशको महत्त्वपूर्ण योगदान रहेको बताइएको छ ।
कृष्ण पाख्रिन स्मृति प्रतिष्ठानका अध्यक्ष राजेश विद्रोहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार, प्राध्यापक, राजनीतिक व्यक्तित्व, विद्यार्थी तथा साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो ।