विजयपुर । धरान ब्याडमिन्टन क्लबको आयोजनामा सञ्चालन भएको ‘दोस्रो धरान खुल्ला तथा राष्ट्रिय र्ंयाङ्किङ ब्याडमिन्टन प्रतियोगिता–२०८३’ को आय–व्यय सार्वजनिक गरिएको छ ।
आइतबार क्लबका अध्यक्ष टंकबहादुर लिम्बू, खेल संयोजक तेजबहादुर मेन्याङ्बो तथा आर्थिक संयोजक खगेन्द्रकुमार मेन्याङ्बोद्वारा हस्ताक्षरित वित्तीय प्रतिवेदनअनुसार प्रतियोगिताका लागि कुल १७ लाख ४० हजार ९ सय रुपैयाँ आम्दानी भएको छ । यस्तै, १५ लाख ८० हजार ९ सय ३० रुपैयाँ खर्च भएको छ । प्रतियोगिताबाट १ लाख ५९ हजार ९ सय ७० रुपैयाँ बचत भएको क्लबले जनाएको छ ।
प्रतिवेदनअनुसार आम्दानीतर्फ विभिन्न व्यक्ति, प्रायोजक तथा व्यापारिक प्रतिष्ठानहरूबाट ८ लाख ५८ हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो । यस्तै विभिन्न संघसंस्था, स्थानीय तह तथा वडा कार्यालयहरूबाट ६ लाख ९१ हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको थियो । खुल्ला तथा स्थानीय स्तरका प्रतियोगीहरूको दर्ता शुल्कबाट १ लाख ९१ हजार ९ सय रुपैयाँ संकलन गरिएको थियो ।
प्रतियोगिताका विजेता तथा उपविजेताहरूको पुरस्कारमा ७ लाख ९१ हजार रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । यस्तै खेलाडी, अफिसियल तथा स्वयंसेवकहरूको खाना तथा खाजामा १ लाख ९६ हजार ६ सय रुपैयाँ खर्च भएको छ । अफिसियल खर्च तथा आवश्यक खेल सामग्री खरिदमा १ लाख ६६ हजार ७२० रुपैयाँ खर्च गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि हलभाडा तथा सरसफाइमा ३५ हजार रुपैयाँ खर्च भएको थियो भने साउन्ड सिस्टम, टेण्ड, सञ्चार तथा अन्य व्यवस्थापकीय शीर्षकमा ३ लाख ९१ हजार ६ सय १० रुपैयाँ खर्च भएको क्लबले जनाएको छ ।
बैशाख १८ गतेदेखि २० गतेसम्म सञ्चालित प्रतियोगितामा नेपालसहित भारतका खेलाडीहरू सहभागी भएका थिए । प्रतियोगितामा विभिन्न विधामा गरी १०७ टोलीका २ सय १४ खेलाडी प्रतिस्पर्धा गरेका थिए ।