विजयपुर । सुनसरी प्रहरीले लाखौँ रुपैयाँ बराबरका भन्सार छलिको सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार विशेष चेकजाँचका क्रममा ६ लाख ७८ हजार ६ सय ३८ रुपैयाँ बराबरका भन्सार छलिका सामान बरामद गरिएको हो । बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दुहवीबाट २ लाख ८८ हजार ५ सय ३८ रुपैयाँ बराबरका किराना तथा इलेक्ट्रोनिक सामान नियन्त्रणमा लिएको हो । अस्थायी प्रहरी चौकी पुष्पलालचोकले इटहरी–१० बाट १ लाख २० हजार बराबरको लत्ताकपडा बरामद गरेको छ । अस्थायी प्रहरी चौकी सखुवागाछीले इनरुवा–३ बाट ६६ हजार २ सय बराबरको सुन राख्ने बट्टा बरामद गरेको जनाएको छ ।
प्रहरी चौकी कोशी ब्यारेजबाट खटिएको टोलीले कोशी गाउँपालिका–८ बाट ६६ हजार ६ सय बराबरका किराना तथा लत्ताकपडा नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय भण्टाबारीले सोही क्षेत्रमा ३५ हजार ८ सय बराबरको पाउडर दूध बरामद गरेको छ ।
यस्तै, इलाका प्रहरी कार्यालय चिमडीले बर्जु गाउँपालिका–६ बाट ३३ हजार ३ सय ५० बराबरका किराना तथा लत्ताकपडा बरामद गरेको छ । प्रहरी चौकी कप्तानगञ्जले देवानगञ्ज गाउँपालिका–४ बाट ३० हजार बराबरका मेसिनरी सामान र इलाका प्रहरी कार्यालय देवानगञ्जले देवानगञ्ज–२ बाट २४ हजार बराबरका किराना सामान नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरी चौकी भोक्राहाले भोक्राहा नरसिंह गाउँपालिका–३ बाट १४ हजार बराबरको लत्ताकपडा बरामद गरेको छ ।
बरामद गरिएका सामानहरू भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।