साँगुरीगढी । कुनैबेला यी हातहरूले बन्दुकको नाल समात्थे । देशमा सशस्त्र द्वन्द्व उत्कर्षमा थियो र सशस्त्र प्रहरी बलका हवल्दार तारावीर तामाङको जिम्मेवारी थियो, शान्ति सुरक्षाका लागि ब्यारेक र सिमानामा तैनाथ हुनु ।
तर, समयको चक्रसँगै उनको परिचय र हातका औजार दुवै फेरिएका छन् । धनकुटाको साँगुरीगढी गाउँपालिका–५ डाँडाबजारका ४७ वर्षीय तारावीरका हातमा अहिले बन्दुक होइन, हँसिया र कोदाली हुन्छन् । उनी देशको सिमाना होइन, आफ्नै २० रोपनी पाखोबारीको सुरक्षा र हेरचाहमा अहोरात्र खटिएका छन् ।
२०६३ सालमा विस्तृत शान्ति सम्झौता भएपछि देशमा युद्धको कोलाहल थामियो । त्यही शान्तिको सँघारमा तारावीरले एउटा व्यक्तिगत तर साहसिक निर्णय लिए— जागिर छोडेर माटोमा पसिना बगाउने । २०६४ सालमा सशस्त्र प्रहरीको वर्दी र बन्दुक बुझाएर उनी गाउँ फर्किए । “बन्दुकको नालभन्दा माटोको सुगन्धमा बढी सन्तुष्टि भेटिने रहेछ” डाँडाबजारमा भेटिएका तामाङले विगत सम्झिए, “जागिरमा आदेशको पालना गर्नुपथ्र्यो, यहाँ आफ्नै पसिनाको मालिक आफै भएको छु ।”
तारावीरको आफ्नै ७ रोपनी जग्गा छ । दाजुभाइको समेत गरी उनले कुल २० रोपनीमा तरकारी खेती फैलाएका छन् । तराईका मानिसहरूका लागि धान मुख्य बाली भएजस्तै डाँडाबजारका लागि काउली (फूलकोपी) हो । १५ रोपनीमा काउली र बाँकी जग्गामा मूला, मकै र भट्टमास लगाउने उनले एक सिजनमा झण्डै ८० क्विन्टलसम्म काउली फलाउँछन् ।
“तराईमा मानिसहरूले धान रोपेजस्तै हामी यहाँ काउली खेती गर्छाैं” उनी भन्छन्, “सिजनमा साढे ३ देखि साढे ४ लाख रुपैयाँसम्मको तरकारी बिक्री हुन्छ ।” तराईमा वर्षाले बाली बिगारेका बेला यहाँको काउलीले प्रतिकिलो ८० रुपैयाँसम्म भाउ पाउँछ । तर, सधैँ यस्तो हुँदैन । कहिलेकाहीँ बजार भाउ ३०–३५ रुपैयाँमा झर्दा पसिनाको मूल्य उठ्नै मुस्किल पर्ने उनको अनुभव छ ।
प्राविधिक ज्ञानको अभाव र माटोको पिरलो
तारावीरलाई माटोको ‘रोग’ बुझ्न भने कठिन भइरहेको छ । पछिल्लो समय माटोको गुणस्तर बिग्रिँदै गएको र बिरुवाको फेदमा गिर्खा पर्ने रोगले सताउन थालेपछि उनी चिन्तित छन् । “बिरुवाहरू ओइलाउँछन्, उत्पादन घट्दै छ” उनले गुनासो गरे, “तर, अहिलेसम्म न गाउँपालिकाका प्राविधिक बारीमा आएका छन्, न त कसैले यसको उपचार नै सिकाएका छन् ।”
उनका अनुसार स्थानीय कृषि कर्मचारीहरूबाट समूह गठन गर्ने, अनुदान दिने वा प्राविधिक परामर्श दिने जस्ता कामहरू कागजमा मात्र सीमित छन् । किसानहरू सङ्गठित हुन नसक्दा राज्यबाट पाउने आधुनिक औजार र उपकरणहरू पहुँचवालाको हातमा मात्र पुग्ने गरेको उनको बुझाइ छ ।
बिचौलियाको दबदबा
तारावीर मात्र होइन, डाँडाबजारका ४ सयभन्दा बढी व्यावसायिक किसानको साझा पीडा बिचौलिया र बजारको अस्थिरता हो । अर्का कृषक सीता घिमिरेका अनुसार किसानले ३० रुपैयाँमा बेचेको तरकारी उपभोक्ताले ८० देखि १ सय रुपैयाँमा किन्नुपर्ने अवस्था छ । “बिचौलियाले बीचमै फाइदा लुट्छन्, हामी मिहिनेत गर्नेहरू सधैँ मारमा छौँ”–सीता भन्छिन् ।
तराईको गर्मी छल्न डाँडाबजार पुग्ने पर्यटकहरू अचेल फर्कंदा यहाँको ताजा तरकारी कोसेलीका रूपमा लैजान्छन् । हालै विराटनगरबाट गएका गोकुल पराजुलीको टोलीले तारावीरकै छिमेकी खड्गबहादुरको बारीबाट २८ केजी कोपी खरिद गरेर फर्किए । यस्ता फुटकर ग्राहकले केही राहत दिए पनि ठूलो परिमाणको उत्पादनका लागि भने किसानहरू व्यापारीकै भर पर्नुपर्ने बाध्यता छ ।
साँगुरीगढी–५ का वडाध्यक्ष खड्गबहादुर लिम्बू भने किसानलाई सघाउन वडाले वार्षिक ४ लाख रुपैयाँ बिउ वीजनमा छुट्याएको दाबी गर्छन् । गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले साँगुरीगढीलाई ‘कृषि हब’ बनाउन ‘एक वडा, एक प्राविधिक’ को नीति अघि सारेको बताएका छन् । “बजार मूल्य निर्धारण गर्न नसक्नु देशकै समस्या हो, तर हामीले बिचौलिया कम गर्न र बेमौसमी खेतीलाई प्रोत्साहन गर्न मिनी–टिलर र मल्चिङ प्रविधिमा अनुदान दिइरहेका छौँ” –अध्यक्ष राईले भने ।