नेपालमा कम्युनिष्ट पार्टीहरु किन आजको अवस्थामा पुगे । के भारतको पश्चिम बङ्गालकै मार्गमा कम्युनिष्ट पार्टीहरु पुगेका हुन् ? यो पटकको लज्जास्पद पराजयले त्यो बहसको ढोका खोलेको छ । नेपाली राजनीतिमा एउटा बलियो खम्बाका रुपमा रहेको नेकपा (एमाले) र समग्र वामपन्थी आन्दोलन यतिबेला गम्भीर सङ्कटको भुमरीमा फसेको छ । कुनै समय जनतालाई सपना बाँडेर सत्ताको शिखरमा पुगेका दलहरु आज अस्तित्व रक्षाका लागि छट्पटाउनु पर्ने अवस्था आउनु संयोग मात्र होइन, बरु यो गलत बाटो, वैचारिक शून्यता र राजकीय स्रोतको अबाञ्छित दोहनको स्वभाविक परिणाम हो ।
एमालेको वर्तमान अवस्थालाई नजिकबाट नियाल्दा त्यहाँ विचारको बहस मरेको र ‘मसिहावादी’ अहङ्कार मौलाएको प्रष्ट देखिन्छ । पार्टीभित्र फरक मत राख्नेहरुलाई पाखा लगाउने, आन्तरिक लोकतन्त्रलाई कुण्ठित गर्ने र नीतिगत निर्णयहरु केवल एक व्यक्तिको सनकका भरमा गर्ने परिपाटीले सङ्गठनको जग नै खियाएको छ । २०७४ सालमा झण्डै दुई–तिहाइको जनमत पाउनुको पछाडि नाकाबन्दीका बेला देखिएको ‘राष्ट्रवाद’ एउटा मुख्य कडी थियो । तर, समयक्रममा त्यो अडान राष्ट्रहितभन्दा पनि सस्तो ‘पपुलिज्म’ (लोकप्रियतावाद) मा सीमित हुन पुग्यो । महाकाली सन्धिदेखि राजकीय संस्थाहरुको दलीयकरणसम्म आइपुग्दा वामपन्थीहरुले आफ्नो नैतिक धरातल गुमाउँदै गएका छन् ।
विशेषगरी केपी शर्मा ओलीको नेतृत्वकालमा सङ्गठनमा ‘स्टालिनवादी’ कठोरता र व्यवहारमा ‘दक्षिणपन्थी’ अवसरवादको अनौठो मिश्रण देखियो । एमाले र माओवादीबीचको एकता कुनै वैचारिक धरातलमा नभई केवल सत्ता प्राप्तिको भागबण्डा र राज्य दोहनको रणनीतिको रुपमा मात्र रह्यो । फलस्वरुप तीन वर्ष पनि नपुग्दै त्यो विशाल एकता ताप्लेजुङको पहिरो झैं खस्यो । आज वामपन्थी दलहरु जनताका मुद्दाभन्दा पनि आफ्नै गुट र गिरोहको स्वार्थमा लिप्त हुँदा त्यसको प्रत्यक्ष फाइदा नयाँ शक्तिहरुलाई पुगेको छ । जनता अब केवल उखान–टुक्का र काल्पनिक सपनाले भरिने अवस्थामा छैनन् । सामाजिक सञ्जालमाथि अङ्कुश लगाउने नोकरशाही उन्माद होस् वा राजकीय नीतिहरुलाई आफ्नो समूहको हितमा दुरूपयोग गर्ने दुष्ट्याइँ, नागरिकले यी सबैको सूक्ष्म हिसाब राखेका छन् ।
पछिल्ला निर्वाचनहरुमा देखिएको जनमतको फेरबदल र रास्वपाजस्ता नयाँ शक्तिहरुतर्फको आकर्षण वास्तवमा पुराना दलहरुको ‘पाप र अपराध’ विरूद्धको दण्ड हो । वर्तमान नेतृत्वको कार्यशैली र वैचारिक अस्पष्टता हेर्दा यो कार्य फलामको चिउरा चपाउनु सरह छ । पार्टीलाई पुनर्जीवन दिन १ सय ८० डिग्रीको परिवर्तन, विगतका गल्तीहरुको इमानदार स्वीकारोक्ति र कार्यकर्तामा प्रज्ञाको आवश्यकता छ । यदि वामपन्थीहरूले अझै पनि सुशासन, सामाजिक न्याय र साना जनसरोकारका मुद्दालाई छाडेर ‘सत्ताको भागबण्डा’ मा मात्रै ध्यान दिने हो भने उनीहरुको भविष्य भारतको पश्चिम बङ्गालको वामपन्थी हविगतभन्दा फरक हुने छैन । समय अझै बाँकी छ, तर अवसरका झ्यालहरु विस्तारै बन्द हुँदैछन् ।





























