धरान । सुनसरकिो धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङ गरी राखिएको ६ वटा बसमा आगलागी भएको छ । आगलागीको कारणबारे खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
आगलागीमा परी तीनवटा बस पूर्णरूपमा जलेर नस्ट भएको छ भने तीन वटामा आंशिक क्षति पुगेको छ । प्रहरीका अनुसार को.१ ख ६२७४ नम्बरको बस पूर्णरूपमा जलेर नस्ट भएको हो । यस्तै प्रदेश १–०१–००१ ख ४०३७ नम्बरको यात्रुबाहक बस र बा.४ ख ५७५९ नम्बरको यात्रुबाहक बस पनि पूर्ण रूपमा जलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी एवम् सूचना अधिकारी चन्द्र खड्काले जानकारी दिए ।
प्रहरीका अनुसार घटनाबारे खुल्न सकेको छैन भने त्यस क्षेत्रको सिसीटिभी फुटेज जाँच गर्दा कोहीकसैले लगाएको हुनसक्ने पनि प्रमाणित हुने आधार भेटिएको छैन । प्रहरीका अनुसार को.१ ख ३८४७, बा.५ ख ५८१४ बस, र बा.५ ख ५८०९ नम्बरको यात्रुबाहक बसमा आंशिक क्षति पुगेको छ ।
बसको कुनै तार सर्ट भएर आगलागी भएको हुन सक्ने जनाइएको छ । सिसीटिभी फुटेजका आधारमा को.१ ख्ब ६२७४ नम्बरको बसबाट आगो सुरु भएको थियो । यो बस धरान–विराटनगर रुटमा चल्दै आएको थियो ।
यातायात व्यवसायी सरोज श्रेष्ठका अनुसार चालक बस्ने बनेटको छेउबाट आगो सुरु भएको देखिएको छ । “आगो इन्जिनबाटै सुरु भएको देखिन्छ । फुटेजहरू हेर्दा कोही हिँडेको, भागेको देखिएन । वाइरिङ सर्टको सम्भावना बढी छ” उनले भने, “आजकालको गाडी सेन्सरवाला हुने भएकाले सम्भावना चाहिँ इन्जिनबाटै भएको हो ।”
उनका अनुसार विराटनगरबाट अन्तिम गाडीको रूपमा ९ बजेतिर आएको र सोही समयमा राखेर चालक, सहचालकहरू हिँडेको केही समय पछि आगलागी सुरु भएको देखिन्छ ।
































