विजयपुर । गोरखा जिल्लाको गोरखा नगरपालिका–७ का सुजन उपरकोटीले कोरिया पठाउने बहनामा खोटाङकी अनुषा तामाङलाई ठगि गरेको आरोप लागेको छ । 

उनले तामाङलाई एक लाख ठगी गरेको आरोप लागेको हो । धार्मिक सेमिनारका लागि भिजिट भिसा (भ्रमण प्रवेशाज्ञा) मा कोरिया पठाउने बहनामा सुजनले केपिलासगढी गाउँपालिका–४ बाक्सिला पूख्र्यौली थलो भई हाल धरान उपमहानगरपालिका–१५ बस्दै आउनुभएकी तामाङलाई ठगी गरेको आरोप लागेको हो । 

तामाङले कोरिया पठाइदिने भन्दै गत साउनमा बैंकिङ कारोबारमार्फत एक लाख दिएको बताइन् । हाल काठमाडौँ मनमैजु बस्दै आएकासुजनले भिजिट भिषामा महिना दिनभित्र कोरिया पठाउने भन्दै पैसा मागेको तर, कोरिया नपठाएको तथा पैसा पनि फिर्ता नदिएको तामाङको आरोप छ । 

पैसा फिर्ता माग्दा ‘दिन्छु–दिन्छु’ भन्दै झुलाउने गरेको अनुषाका बुवा पहलमान तामाङले बताए । पैसा फिर्ता नदिएमा कानुनी उपचार खोज्ने पीडित तामाङ परिवारले जनाएको छ । रासस