विजयपुर । पाँचथरमा बाँदरमाथि अमानवीय व्यवहार (कुटपिट) गरेको घटनामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

कुकुरलाई टोकाउँदै अमानवीय तरिकाले बाँदर मारेको आरोपमा पाँचथरको हिलिहाङ गाउँपालिका २ सिंहपुरका २१ वर्षीय संगम भनिने छुप्पु हेम्वयालाई प्रहरीले पक्राउ गरेको हो । उनी ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका २ थेचम्बुमा बस्दै आएको प्रहरीले जनाएको छ ।

कुकुर टोकाउँदै अमानवीय तरिकाले बाँदर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपश्चात् प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी जटाशंकर यादवले जानकारी दिए । उनका अनुसार सामाजिक सञ्जालमा भिडियो पोस्ट भएपछि विभिन्न संघसंस्था तथा व्यक्तिले प्रहरीलाई रिपोर्ट गरेका थिए । बाँदरलाई खेतको बालीनाली छेक्न बनाइएको पासोमा परेको अवस्थामा कुकुरलाई टोकाई अमानवीय तरिकाले मारेको प्रहरीले बताएको छ । पक्राउ परेका हेम्वयालाई आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ ।