विजयपुर । भोजपुर जिल्लाको अरुण गाउँपालिकास्थित म¥याङडाँडामा त्रि-धार्मिकस्थल निर्माण गरिएको छ ।

धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम गर्ने उद्देश्यले त्रि-धार्मिकस्थल निर्माण गरिएको हो । एउटै परिसरमा हिन्दू, बौद्ध र किरात धर्मसँग सम्बन्धित संरचनाहरू निर्माण गरिएका छन् ।

धर्मका नाममा विभाजन होइन, एकता र सहिष्णुताको सन्देश प्रवाह गर्ने लक्ष्यसहित अरुण आध्यात्मिक प्रतिष्ठानले करिब ५० रोपनी क्षेत्रफलमा संरचना निर्माण गरेको हो । प्रतिष्ठानका सचिव सोमनाथ शर्माका अनुसार तीन वटै धर्मावलम्बीले एकैस्थानमा आफ्ना धार्मिक परम्परा, संस्कार र अभ्यासलाई निरन्तरता दिन संरचना निर्माण गरिएको हो ।

हिन्दू धर्मावलम्बीका लागि आकर्षक शैलीमा मन्दिर, किरात समुदायका लागि सांस्कृतिक पहिचान झल्कने मानखिम घर तथा बौद्ध धर्मावलम्बीका लागि शान्तिको प्रतीक स्तूपा निर्माण गरिएको छ । साथै धार्मिक ज्ञान आदान-प्रदानलाई संस्थागत बनाउन पाठशाला सञ्चालनमा ल्याइएको सचिव शर्माले जानकारी दिए । हाल उक्त पाठशालामा ७२ जना प्रशिक्षार्थी अध्ययनरत छन् । उनीहरूले तीनै धर्मसम्बन्धी आधारभूत तथा व्यावहारिक ज्ञान हासिल गरिरहेका छन् ।

यस्तै, गौशाला, बहुउद्देश्यीय सभाहल, भोजनालय, अतिथि गृह, योगशालालगायतका संरचनाहरू निर्माण गरिएका छन् । यहाँ नियमित रूपमा ध्यान, योग, सत्सङ्ग, प्रवचन, भजन-कीर्तन तथा धार्मिक-सांस्कृतिक कार्यक्रम सञ्चालन हुँदै आएका छन् । सचिव शर्माले भने, 'विशेष पर्व-उत्सवका अवसरमा तीनै धर्मका अनुयायीहरू एकैस्थानमा भेला भएर कार्यक्रम आयोजना गर्ने परम्परा बसाल्ने प्रयास भइरहेको छ।' उनले स्थानीयस्तरमा आध्यात्मिक चेतना अभिवृद्धि र सामाजिक एकता अझ सुदृढ बन्ने बताए ।

विसं २०७७ देखि सुरु गरिएको निर्माण कार्यमा हालसम्म सङ्घीय र प्रदेश सरकार तथा जिल्लाका नौवटै स्थानीय तह तथा विभिन्न सङ्घ-संस्थाको सहयोगमा आठ करोड रुपैयाँ बराबरको लगानी भएको छ । चरणबद्ध रूपमा संरचना विस्तार गर्ने योजनाअनुसार हाल भारतीय दूतावासको करिब चार करोड रुपैयाँ र गाउँपालिकाको एक करोड रुपैयाँ लागत साझेदारीमा विद्यालय भवन निर्माण भइरहेको छ ।

समाजसेवी डा. लोचन कार्कीले जग्गा प्रदान गरेका हुन् । डा. कार्कीले धार्मिक तथा 'दिव्यभूमि' का रूपमा विकास गर्ने लक्ष्यसहित आफ्नो परिवारले करिब ३० रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको बताए । 'त्रि-धार्मिक स्थलको स्थापनाले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ ।' धार्मिक सहअस्तित्वको सन्देश दिई देश-विदेशबाट पर्यटक भित्र्याउन मद्दत पुग्ने उनको भनाई छ ।

बौद्ध धर्मका जानकार (लोचावा) पुण्यप्रसाद सुवेदीले आफ्नै पहल तथा विभिन्न दाताको सहयोगमा बौद्ध स्तूपा निर्माण गरेको बताए । हाल काठमाडौँमा बसोबास गर्दै आए पनि जन्मभूमिप्रतिको मायाले स्तूपा निर्माण गरिएको उनले बताए । धर्मगुरु प्रा.डा. गुरुप्रसाद सुवेदीले उक्त क्षेत्रलाई भविष्यमा धार्मिक अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्न सकिने बताए । धार्मिक ग्रन्थ अध्ययन, अन्तरधार्मिक संवाद, खोज, अनुसन्धान कार्यक्रम सञ्चालन गर्न सकिने उनको भनाइ छ ।

प्रतिष्ठानले आगामी दिनमा प्राकृतिक चिकित्सा केन्द्र, सांस्कृतिक सङ्ग्रहालय तथा ध्यान-आश्रमसमेत स्थापना गर्ने लक्ष्य राखेको छ । यसले धार्मिक आस्था मात्र नभएर स्वास्थ्य, संस्कृति र पर्यटन क्षेत्रको विकासमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

स्थानीयवासीका अनुसार त्रि-धार्मिकस्थलको निर्माणले अरुण क्षेत्रलाई नयाँ पहिचान दिएको छ । यो स्थान विविधतामा एकता र धार्मिक सहिष्णुताको ज्वलन्त उदाहरणका रूपमा स्थापित हुँदै गएको छ । यसलाई आगामी दिनमा राष्ट्रियस्तरमै नमूना परियोजनाका रूपमा चिनिने विश्वास गरिएको छ ।रासस