विजयपुर । दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यू भएको छ ।

बिहीबार सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । दुहबी नगरपालिका-५ का ३२ वर्षीय बिजय ऋषिदेव र सप्तरी छिन्नमस्ता गाउँपालिका-६ का ४७ वर्षीय गिरिजानन्द साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बराहक्षेत्र नगरपालिका-११ गुप्ताटोलस्थित भित्री सडकमा को २५ प १४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ऋषिदेव गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो । सोही दुर्घटनामा घाइते दुहबी-५ का दिपेन ऋषिदेवको उपचार भइरहेको छ । यस्तै, इटहरी-१३ स्थित कोशी लोकमार्गमा गएराति कारले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो । सप्तरीको छिन्नमस्ता गाउँपालिका-६ का ४७ वर्षीय पैदलयात्री गिरिजानन्द साहको मृत्यु भएको हो । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १-००१-००१ च ७५०५ नम्बरको कारले बाटो काट्दै गरेका पैदलयात्री साहलाई ठक्कर दिएको थियो । सो ठक्करबाट इटहरी-२० का ४४ वर्षीय टेम्पो चालक वसन्त घिसिङ, टेम्पोमा सवार ५९ वर्षीय प्रेमकुमार गुरुङ र इटहरी-१२ का २२ वर्षीय कार चालक विकी विश्वकर्मा सामान्य घाइते भएका छन् । सो घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।