विजयपुर । धरान १७ का निवर्तमान वडाध्यक्ष सूर्यबहादुर भट्टराई चुनावी मैदानमा छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट सुनसरी-१ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार भट्टराई चुनावी अभियानमा सक्रिय छन् । भट्टराईले वडाध्यक्षको आफ्नो कार्यकालमा गरेका विकास निर्माणका कामलाई चुनावी प्रचारको माध्यम तथा एजेण्डा बनाएका छन् ।

वडाध्यक्षका रूपमा उनले रेल्वे चोकमा करिब २ सय मिटर ७२ फिट चौडाइको ४ लेन सडक विस्तार गराएका थिए, जसमा करिब २ करोड रुपैयाँ लागत लागेको बताइएको छ । ६ करोड रुपैयाँ लागतमा सरस्वती ढल तथा करिडोर निर्माण गरेका थिए । वडाका अधिकांश भित्री सडकमा ढलसहित कालोपत्रे गरिएको छ भने ठकुरी खोलामा ह्युम पाइप राखी अस्थायी पुल निर्माण गरिएको थियो । सर्दु पुल निर्माणमा सक्रिय भूमिका खेलेका भट्टराईले बराह र रामधुनी नगरपालिकासँग धरान जोड्ने पूर्वाधार विकासमा योगदान पु¥याएको बताएका छन् । सरस्वती चोक-एकल महिला भवन जोड्ने पुल निर्माणसमेत सम्पन्न भएको थियो ।

उनकै कार्यकालमा वडा कार्यालय भवन, दुई स्थानमा सार्वजनिक शौचालय तथा नमुना सामुदायिक भवन निर्माण गरिएको थियो । नन्दपुर खानेपानीका लागि पट्नालीमा डिप बोरिङसहित करिब ६० लाख लागतमा खानेपानी ट्याङ्की निर्माण गरिएको थियो । शिक्षा क्षेत्रमा सुनौलो सामुदायिक पुस्तकालय स्थापना गरेका थिए । विद्यार्थी उत्प्रेरण कार्यक्रमअन्तर्गत पाँच सामुदायिक विद्यालयका कक्षा १-५ का विद्यार्थीलाई पोशाक वितरण गरेका थिए । पञ्चकन्या माविमा कक्षा ११ र १२ सञ्चालनमा उनले सक्रिय भूमिका खेलेका थिए ।

स्वास्थ्यतर्फ धरान उपमहानगरपालिकामा एकमात्र शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र निर्माण गरिएको थियो । कोभिड-१९ महामारीका समयमा ४६ दिनसम्म दैनिक ३ सय ५० जनालाई खाना वितरण, खाद्यान्न सहयोग तथा क्वारेन्टाइन व्यवस्थापनमा भट्टराईले सहकार्य गरेका थिए ।

खेलकुद क्षेत्रमा गोधुली क्लब, हराइजन क्लबलगायत विभिन्न युवा क्लबद्वारा आयोजित प्रतियोगितामा आयोजक तथा सहयोगीका रूपमा योगदान पु¥याएका थिए । भट्टराईले स्थानीय तहमा हासिल गरेको अनुभवलाई संघीय संसदमा प्रयोग गर्दै सुनसरी-१ को समग्र विकासका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।