प्रतिनिधि सभा सदस्यको उम्मेदवार सूर्यबहादुर भट्टराईलाई जिताउन सचिवालयले प्रतीकात्मक पैदल यात्रा सुरु गरेको छ ।
सुनसरी १ बाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार बनेका सूर्य बहादुर भट्टराई (मनोज)को सचिवालय टिमले बुधबारदेखि प्रतीकात्मक पैदल यात्रा सुरु गरेको हो । धरान-१४ स्थित विजयपुर दरबारबाट सुरु गरिएको यात्राले उम्मेदवार भट्टराईको चुनावी नारा 'सुनसरी क्षेत्र नम्बर १ को भूगोल र मन जोड्न मेरो उम्मेदवारी' लाई व्यवहारमै उतार्ने सन्देश दिएको सचिवालयले जनाएको छ । सचिवालय सदस्य जनकऋषि राईका अनुसार यात्रा बुढासुब्बा मन्दिर, दन्तकाली मन्दिर, पिण्डेश्वर मन्दिर, धरान पुरानो बजारस्थित जामा मस्जिद, धरान-१८ को गुम्बा तथा चर्चलगायतका धार्मिक स्थल हुँदै विष्णुपादुका मन्दिरबाट बराहक्षेत्र पुगेर पहिलो दिनको यात्रा टुंगिनेछ । दोस्रो दिन बराहक्षेत्र मन्दिर हुँदै रामधुनी मन्दिर पुगेर पुनः धरान फर्किएर यात्रा समापन गरिने कार्यक्रम रहेको जनाइएको छ । राईका अनुसार 'भूगोल' भन्नाले सुनसरी-१ अन्तर्गत पर्ने धरान, बराहक्षेत्र नगरपालिका-१ देखि ५ तथा रामधुनी नगरपालिका-६ र ७ लाई आपसमा जोड्ने सन्देश हो । 'मन' भन्नाले हिन्दु, किरात, बौद्ध, इस्लाम र इसाई धर्मावलम्बीका आस्थास्थलमा पुगेर सम्मान व्यक्त गर्दै धार्मिक सद्भाव र एकता सुदृढ गर्ने उद्देश्य रहेको उनले बताए ।































