धरान । मिनी ब्राजिलले चिनिएको धरानमा हालै २६ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकपको रातपात सकिएको छ । गत बिहीबारदेखि सुरु भई यही शनिबार प्रतियोगिता सम्पन्न भयो । यो पटकको बूढासुब्बा विगतभन्दा केही पृथक् रह्यो । धेरै पछि १० वटा टिमलाई समावेश गरेको २६ औँ बूढासुब्बामा केही दुलर्भ रेकर्डहरू कायम भए । 

पाँच वटा रातो कार्ड

२०५५ सालदेखि प्रतियोगिता हुँदै आएको बूढासुब्बामा यो पटक हालसम्म नभएका दुलर्भ रेकर्डहरू कायम भए । ९ वटा खेल सम्पन्न हुँदा पाँच वटा रातो कार्ड दिइए । यसअघिका प्रतियोगितामा केही रातो कार्ड नखाएका होइनन् तर यो पटकको बूढासुब्बामा एकै पटक दुईवटा रातो कार्ड खाएर खेलाडीहरू मैदानबाहिर जानुप¥यो । 

विभागीय टिम नेपाल पुलिस क्लब र काठमाडौँको चर्च ब्वाइज क्लबबीच भएको क्वार्टर फाइनल खेलमा विवाद उत्पन्न भएपछि दुवै टिमका खेलाडीहरूले रातो कार्ड पाएका थिए । जसमा नेपाल पुलिसबाट सञ्जीव लामा र चर्च ब्वाइजबाट दीपेश गुरुङले रातो कार्ड खाएका थिए । यसअघि एकै खेलमा दुई रातो कार्ड पाएका थिएनन् । 

यस्तै पोखराको लालीगुराँस एसोसिएसन र काठमाडौँको प्लानिङ ब्वाइजबीचको सेमिफाइनल खेलमा दुई खेलाडीले मात्रै रातो कार्ड पाएनन् । क्लबका व्यवस्थापकले पनि रातो कार्ड पाएर मैदान छाड्नुपरेको थियो । यो हालसम्मकै दुर्लभ घटनामध्येको एक हो । हामीले विश्वकप प्रतियोगिताहरूमा यस्ता दुर्लभ दृश्यहरू देख्दै आएको भए पनि बूढासुब्बामा पनि यस्तो परिदृश्य यो पटक देखिएको थियो । टिमका व्यवस्थापक ईश्वर बस्याललाई रेफ्रीले रातो कार्ड दिएका थिए । 

उनले विपक्षी टिमका व्यवस्थापकलाई गालीगलौज गरेका थिए । यही खेलमा लालीगुराँसका इस्कन्दर सिद्दिकीले रातो कार्ड खाएका थिए । उनी उक्त क्लबमा आबद्ध विदेशी खेलाडी हुन् । यस्तै प्लानिङ ब्वाइजमा आबद्ध अर्का विदेशी खेलाडीले पनि रातो कार्ड खाएका थिए । पापा टेबु केबेले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । समग्रमा यस पटक ५ जनाले रातो कार्ड खाएका थिए ।

३० सेकेन्डमै गोल

यो पटकको प्रतियोगितामा अर्को पनि दुर्लभ रेकर्ड कायम भएको छ । विगतका प्रतियोगिताहरूमा खेल सञ्चालन भएको तीन मिनेटसम्म गोल भएका रेकर्ड कायम भएका थिए भने २६ औँ बूढासुब्बामा खेल सञ्चालन भएको ३० सेकेन्डमै पहिलो गोल गरेर नयाँ रेकर्ड कायम गरिएको छ । जसमा चर्च ब्वाइजबाट मैदान छिरेका विदेशी खेलाडी रिचार्ड विल्सनले गोल गरेका थिए ।

२६ औँ बूढासुब्बा गोल्डकपमा खेल सञ्चालन भएको ३० सेकेन्डमै गोल गर्ने पहिलो खेलाडीको रूपमा उनी स्थापित भएका छन् । प्रायःजसो प्रतियोगिताहरूमा यस्ता रेकर्डहरू कम नै बनेका उदाहरणहरू छन् । जसमा धरानको बूढासुब्बामा पहिलो रेकर्ड कायम भएको छ । यो रेकर्ड सायदै तोडिएला ।