धरान । कोशी प्रदेशमा गत माघ महिनामा ५ सय ७९ सवारी दुर्घटना हुँदा ५४ जनाको ज्यान गएको छ भने ८ सय ७७ जना घाइते भएका छन् । गत मङ्सिर, पुसको तुलनामा कोशी प्रदेशमा दुर्घटनाको दर बढेर गएको पाइएको छ ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार सवारी चालककै कारण बढी दुर्घटना हुने गरेको पाइएको छ । कार्यालयले ६ वटा सूचक राखेर तथ्याङ्क राख्दै आएको छ । सवारी चालकका कारण ७५.५ प्रतिशत, त्यसमा ट्राफिक नियम उल्लङ्घन, गलत ओभर टेक, तीव्र गति, मापसे गरी चलाउँदा, अन्य लापरबाही राखिएको छ । सबैभन्दा बढी चालकले तीव्र गतिले सवारी चलाउँदा ३९.४ प्रतिशत दुर्घटना भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै सवारीको यान्त्रिक गड्बढी, ओभरलोड ब्रेक फेल, टायर पञ्चर जस्ता साधनको कारणमा ६ प्रतिशत दुर्घटना हुने गरेको छ । साँघुरो तथा खतरा सडक, सडक निर्माण हुँदै गर्दा, कच्ची सडक, चिप्लो सडकलगायत सडको अवस्थाका कारण ६.७ प्रतिशत दुर्घटना हुने गरेको छ । यस्तै ओर्लंदा, चढ्दा, जथाभावी बाटो काट्दा यात्रुकै कारण १०.७ प्रतिशत दुर्घटना हुने गरेको पाइएको छ । मौसम र चौपायाका कारणले १ प्रतिशत दुर्घटना हुने गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
तीन महिनाको तथ्याङ्क विश्लेषण गर्दा दुर्घटनाको अनुपात बढेर गएको छ । मङ्सिरमा ८ सय ६२ वटा सवारी दुर्घटनामा ३२ को मृत्यु, ९ सय ७९ जना घाइते भएका थिए । गत पुसमा ५ सय ७० दुर्घटनामा ३७ को मृत्यु र ९ सय ४ जना घाइते भएका थिए । यो तथ्याङ्कले प्रत्येक महिना दुर्घटनामा मृतकको सङ्ख्या बढेर गएको छ ।
ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार सवारी दुर्घटनाको प्रमुख कारणमा चालक नै दोषी भएको देखिएको छ । मङ्सिरमा चालकका कारण ८० प्रतिशत, पुसमा ८०.५ प्रतिशत र माघमा ७५.५ प्रतिशत रहेको छ । दोस्रोमा यात्रुको कारण बढी दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको विश्लेषण रहेको छ ।
माघ महिनामा चेकिङको क्रममा ७ हजार ८ सय ४१ सवारी कारबाहीबाट ७९ लाख २७ हजार ५ सय १ रुपैयाँ राजस्व सङ्कलन गरिएको कार्यालयका डिएसपी सन्तोष श्रेष्ठले जानकारी दिए ।
बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीले तीव्र गति नियन्त्रण, मापसे जाँचमा कडाइ र उच्च जोखिम क्षेत्रमा विशेष निगरानी बढाइरहेको कार्यालयका एसपी दीपक गिरीले जनाए । ट्राफिकको पहुँच नभएको सडकमा चालकहरूले लापरबाहीपूर्ण तरिकाले सवारी चलाउँदा बढी दुर्घटनाको जोखिम भएको उनको भनाइ छ । “असजिलो सडक, जोखिमयुक्त सवारीसँगै पैदल यात्री र चालक स्वयम् अनुशासित नहुँदा दुर्घटना बढेका छन्” एसपी गिरीले भने, “सबै अनुशासित भए दुर्घटना स्वतः न्यूनीकरण हुनेछ ।”
चालकहरूलाई नियमित तालिम, सवारी साधनको प्राविधिक परीक्षण र ओभरलोड नियन्त्रणमा ध्यान दिनुपर्ने नेपाल यातायात मजदुर सङ्गठनका धरान नगर अध्यक्ष किरण थापाले बताए । मजदुर तथा चालक सङ्गठनले पनि सदस्यहरूलाई अनुशासनमा राख्दै ट्राफिक नियम पालना गराउन आन्तरिक पहल गर्नुपर्ने प्रहरीले जनाएको छ ।
दुर्घटना न्यूनीकरणका लागि एउटा निकायको बलले मात्र सम्भव छैन । यातायात व्यवयासी, मजदुर सङ्गठन, चालक तथा ट्राफिक प्रहरी सबै जिम्मेवार हुनुपर्ने नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताए । उनले ट्राफिकले निकाल्ने तथ्याङ्कप्रति भने आपत्ति जनाएका छन् । खतरा सडक, सवारीको अवस्थालगायतलाई कम विश्लेषण गरेर चालकलाई मात्र दोषी देख्ने ट्राफिक प्रहरीको हावादारी रिपोर्ट भएको आरोप लगाए । “जो होचो उसको मुखमा घोचो भने झैं चालकलाई मात्र दोषी देख्नु गलत हो । प्रणालीगत सुधार, ट्राफिकको जिम्मेवारीपन पनि दोषी छ”–अध्यक्ष राईले भने ।
ट्राफिक प्रहरी, सामाजिक सङ्घ–संस्थाहरूले गर्ने सचेतना कार्यक्रम केवल औपचारिकताका लागि मात्र गरिँदा ट्राफिक व्यवस्थापनमा सुधार आउन नसकेको बताइन्छ ।
































