आसन्न फागुन २१ गते हुने चुनावका कारण उम्मेदवारहरू जनताको घरघरमा छिर्न थालेका छन् । आश्वासनका पोकापन्तुरा खोल्न थालेका छन् । जनताले प्रत्यक्ष हेर्न नपाएका र सधैँ हेरिरहेका नेताहरू पनि यतिबेला मतदातासामु निरिह छन् । आफूलाई ‘निगरमुन्टी न’ जस्तै झुकाइरहेका छन् ।
यो बेला जनता जनार्दन उम्मेदवारभन्दा माथि छन् । फागुन २१ अर्थात् चुनावको दिनसम्म जनता सार्वभौम हुन्छन् । त्यसपछि अधिकार हस्तान्तरण गर्छन् । अधिकार आफ्ना जनप्रतिनिधिमार्फत् हस्तान्तरण हुन्छ । यो संवैधानिक अधिकार मात्रै हैन, यो एउटा अकाट्य अधिकार पनि हो । यो प्राप्य अधिकारलाई यो बेला सही ठाउँमा प्रयोग गर्ने बेला हो । कसैको बहकाउमा आएर, कसैले भनेको भरमा भोट खसाल्ने होइन । त्यसले अन्ततः आफैलाई खसाल्छ । सही उम्मेदवार परेमा जनताले राहत पाउँछन् । गलत उम्मेदवार परेमा जनताले दुःख पाउँछन्, सास्ती पाउँछन् ।
सुख र दुःख रोज्ने बेला हो यो । मानौँ तपाईं नजिकैको पसलमा एक केजी आलु किन्न जानु भएको छ ? त्यहाँ पुगेर सोलोडोलो आलु किन्नुहुन्छ कि छान्नुहुन्छ ? पक्कै पनि यसको उत्तर, छानेर किन्छु भन्ने आउँछ । हो, यो चुनाव पनि त्यही आलुको बोराभित्रका आलु हुन् । तपाईंले जसरी आलु छान्नुहुन्छ, त्यसरी नै देशमा नीति निर्माण गर्ने व्यक्ति छान्दा सोचविचार गरेर छान्नुहोस् । यो गर्छु वा त्यो गर्छु भन्ने कुरामा विश्वासमा नपर्नुहोस् । उनीहरू कानून बनाउने ठाउँमा जान लागेका हुन् ।
उनीहरूले ठिकसँग कानून र नीति बनाएमा सहजै विकास हुन्छ । हामीलाई ठिक नीति चाहिएको हो । ठिक कानून चाहिएको हो । त्यो कानून र नीतिले सबै कुराहरूलाई ठिक गर्दै लान्छ । बाटोघाटो, पुलपुलेसा, स्कुल, कलेज, अस्पतालहरू नीतिअनुसार खोलिनुपर्छ । त्यो मार्गमा चाहिँ विधायकीहरूले काम गर्नुपर्छ न कि यो विकास गरिदिन्छु, त्यो गरिदिन्छु भनेर भन्छन् भने उनीहरूले तपाईंसँग झुट कुरा बोलिरहेका छन् । तपाईंलाई भ्रममा राखिरहेका छन् ।
नीति बनेमा स्वतः बन्छ । स्वतः बन्ने वातावरण चाहिँ चाहिएको छ । त्यसका लागि जनताले आफ्नो अधिकार प्रयोग गर्दा सोचविचार गरेर दिनुपर्छ । अहिले अधिकार तपाईंसँग छ । त्यो अधिकार फागुन २१ सम्म तपाईंसँग निहित हुन्छ भने त्यसपछि तपाईंको अधिकार फुत्कियो । अब तपाईंको अधिकार उम्मेदवारतिर स¥यो । त्यसकारण यही बेलामा गम्भीर भएर सोच्नुहोस् । मतदान गर्ने तपाईंको अधिकारलाई तपाईंले नै ठिकसँग प्रयोग गर्न सक्नुभएन भने तपाईले पाँच वर्षसम्म पछुताउनु पर्नेछ । त्यो बेलामा नेतालाई हैन, तपाईंले तपाईंलाई नै गाली गर्नुपर्नेछ । किनकि तपाईंले ठिक मान्छेलाई चयन नगर्दाको परिणाम आम नेपाली र भावी पुस्ताहरूले भोग्नेछन् । तपाईंको कारणले भावी पुस्ताले दुःख पाउनेछ ।
मात्रै पाँच वर्ष जस्तो लागे पनि त्यो पाँच वर्ष मात्रै हैन, त्यसको दीर्घकालीन असर परिरहन्छ । हेर्दा सामान्य आँकडा जस्तो लाग्छ । तर आँकडा मात्रै हुँदैन । त्यससँग जोडिएका प्रवृत्तिले ठूलो अर्थ राख्छ; त्यसकारण सोच्नुहोस् एकपटक होइन हजार पटक । किनकि अहिले समय तपाईंको पक्षमा छ । समय जतिबेला तपाईंको पक्षमा छ; त्यतिबेलासम्म तपाईंले सोच्ने हो । जतिबेला तपाईंको समय फुत्किन्छ त्यसपछि सोचेर अर्थ हुँदैन । त्यसकारण भनिएको हो–“समय बलवान् हुन्छ ।”
समयको सत्ता तपाईंकहाँ आएर ठोकिएको छ । यो धेरै दिन रहँदैन । जति दिन रहन्छ । त्यो मताधिकारलाई ठिकसँग पर्गेल्ने प्रयास गर्नुस् । भोट दिनुअघि आफैले आफैलाई आत्मसमीक्षा गर्नुहोस् । यसअघि दिएको मतको सदुपयोग भयो कि भएन भनेर आत्मसमीक्षा गर्नुहोस् र मतलाई सही ठाउँमा सदुपयोग गर्नुहोस् । किनकि तपाईंलाई समयले पर्खिंदैन । पर्खिन्छ त केवल गम्भीर त्रुटि । आम नेपाली मतदाताहरूले यतिबेला राम्रानराम्रा, ठिकबेठिक, ठूलासाना सबै दलका उम्मेदवारलाई देख्न र भेट पाउनुहुन्छ ।
तपाईंहरूलाई नमस्कार गर्दै आइपुग्छन् । अहिले उनीहरूलाई तपाईंको खाँचो छ । तपाईंको खाँचो रहुञ्जेल तपाईंसामु आइरहन्छन् । झुकिरहन्छन् । घुमिरहन्छन् । जब जब तपाईंको खाँचो सकिन्छ; त्यसपछि तपाईंलाई उनीहरूको खाँचो पर्न थाल्छ । त्यसबेला समय ठिक उल्टो गतिमा दौडन थाल्छ । त्यसबेला तपाईंले समयलाई धिक्कार्नुपर्ने बेला आउन सक्छ । समयलाई ठिक गतिमा दौडाउने हो या गलत दिशामा दौडाउने हो त्यो जिम्मेवारी तपाईंसामु अहिले उभिएको छ ।
यो समयलाई सदुपयोग गर्नुस् । तपाईं कसैको बहवाउमा नलाग्नुहोस् । कसैको भनाइमा प्रभावित नहुनुहोस् । उनीहरूलाई सुन्नुहोस् । उनीहरूका कुरालाई विश्लेषण गर्नुहोस् र ठिक मान्छेलाई ठिक समयमा भोट दिनुहोस् । त्यसले तपाईंलाई शान्ति मात्रै दिँदैन । त्यसले भावी पुस्ताको मार्गनिर्देशन पनि गर्दछ । यो पाँच वर्षका लागि मात्रै चुनाव होइन । यो त नीति निर्माण गर्ने कुरा हो । नीति निर्माण पाँच वर्षका लागि मात्रै बन्दैन । कानून पाँच वर्षका लागि मात्रै बन्दैन । यो त एउटा कालखण्डका लागि बन्छ । त्यही कानूनले देश निर्माण गर्छ । देशलाई अगाडि डो¥याउँछ । देशलाई मार्गनिर्देशन गर्छ ।
यस्तो गम्भीर मुद्दामा तपाईंले आफूलाई निखार्नु भएन भने मताधिकारलाई ठिक ठाउँमा प्रयोग गर्नुभएन भने के हुन्छ । विगतको इतिहास हेरे पुगिहाल्छ । विगतका दिनहरू हेरे पुगिहाल्छ । कम्तीमा देशमा सङ्घीयता आएपछिको यो १० वर्षलाई तपाईंहरूले मूल्याङ्कन गर्नुभएको छ भने हामी कहाँ थियौँ, कहाँ आइपुगेका छौँ ? अब हामी कहाँ पुग्न लागिरहेका छौँ ? अबको दौड कतातिरका लागि हो । यो दौडमा तपाईंले हार्ने, अर्कोले जित्ने भन्ने हुँदैन । यहाँ देशले जित्न पर्छ । देश समृद्ध र सम्पन्न भयो भने मात्रै हाम्रा भावी पुस्ताको भविष्य सुनिश्चित हुन्छ । नत्र अहिले जसरी दैनिक २ हजारको हाराहारीमा विदेशमा हाम्रा नेपालीहरू गइरहेका छन् त्यसरी नै हामी पनि जानुपर्ने हुन्छ । अझ यो सङ्ख्या दिन दुईगुणा, रात चौगुणाले बढ्न सक्छ । हामीले सुन्दर भविष्यको कल्पना गरेर आज मताधिकारलाई प्रयोग गर्ने हो ।
यो मताधिकारलाई ठिक ठाउँमा प्रयोग गर्न सकिएन भने पछुताउनुबाहेक केही हुँदैन । अहिले सत्ता र शक्ति हाम्रो पक्षमा छ । अग्राधिकार हाम्रो पक्षमा छ तर यो फुत्किन थोरै दिन मात्रै बाँकी छ । यहाँ हामी नेता सुध्रिएन भनेर भन्छौँ तर हामी चाहिँ कहिले सुध्रिने ? सबैभन्दा सुरुमा हामी सुध्रिन आवश्यक छ । हामी सुध्रिए नेता स्वतः सुध्रिन्छन् । हामी नसुध्रिए नेता कहिल्यै सुध्रिँदैनन् । यसकारण हामी सुध्रिन आवश्यक छ । यदि हामी सुध्रियौँ भने चाँडै देश पनि सुध्रिन्छ । अब सोच्ने बेला तपाईंहाम्रो हो । यो बेला ठिक ढङ्गले आफ्नो अधिकारलाई प्रयोग नगर्ने हो भने यसले हामीलाई नै दुःख दिने निश्चित छ । त्यसकारण बेलैमा होसियार बनौँ, बेलैमा सोचौँ । बेलैमा सचेत बनौँ ।
































