नेपाली राजनीतिमा ‘इपिसेन्टर’ मानिएको झापा क्षेत्र नम्बर ५ यतिबेला एउटा गहिरो विरोधाभाषबाट गुज्रिरहेको छ । सामाजिक सञ्जालका भित्ताहरु पल्टाउँदा चुनावी सरगर्मीले सीमा नाघेको छ । फेसबुक, टिकटक र एक्स (ट्विटर) मा उम्मेदवारका पक्ष–विपक्षमा हुने ‘डिजिटल युद्ध’ ले माहौल निकै तातिएको छ । तर दमकका गल्ली, सुकुम्बासी बस्ती र गाउँका खेतबारीमा पुगिन्छ, दृश्य बिल्कुल फरक छ । त्यहाँ केवल नागरिकहरु आफ्नै दैनिकीमा मग्न छन् । नागरिकमा राजनीतिप्रति तिक्तता देखिएको छ । यो विरोधाभाषले वर्तमान नेपाली राजनीतिको एउटा सिङ्गो अनुहारलाई उजागर गरेको छ । पार्टीका झण्डा र नाराहरु आजका दिनमा जनताका बस्तीबाट विस्थापित भएर मोबाइलका स्क्रिनमा खुम्चिएका छन् ।
त्यहाँका किसान, व्यापारी, सुकुम्बासीलाई चुनावी उत्सव छैन । उनीहरुलाई आ–आफ्नै चिन्ता छ । उनीहरुको चिन्तामा मलहम लगाएको पाइँदैन । नेताहरुप्रति नागरिकमा चरम् अविश्वास छ । पाँच पटकसम्म जितेका र चार पटक प्रधानमन्त्री भइसकेका हेभिवेट नेता केपी शर्मा ओलीले भनेजस्तो विकास ल्याउन सकेका छैनन् । विकास र समृद्धिको नारा दिएर नथाकेका ओलीले अहिले फेरि घरघरमा ग्यासको नारा अलाप्दै आइरहेका छन् । यसले पनि उम्मेदवारप्रति जनता आक्रोसित छन् । ठूल्ठूला सपना देखाउने तर आधारभूत आवश्यकतासमेत दिन नसकेकोमा नागरिकहरुमा आक्रोस छ । सामाजिक सञ्जालमा जुन किसिमको उभार आएको छ, सतहमा सुनसान छ ।
दलहरु अहिले डिजिटल प्रचारमा व्यस्त भएको देखिन्छ । डिजिटलका लागि लाखाँै खर्च गरिरहेका छन् । सोहीअनुसार कार्यकर्ता परिचालन गरेका छन् तर आम जनताको मन जित्न उनीहरु असफल भइरहेका छन् । नागरिकहरु दलका पुराना र रटिएका आश्वासनबाट थाकिसकेका देखिन्छन् । निर्वाचन आयोगले उम्मेदवारी मनोनयन गर्दा देखिएको केही क्षणको चहलपहलबाहेक हालको चकमन्नताले के सङ्केत गर्छ भने जनताले अब नेतृत्वको मूल्याङ्कन भाषणका आधारमा होइन, परिणामका आधारमा गर्न थालेका छन् । यसपटक पुराना पार्टीहरुलाई मतदातासामु जान निकै सकस परिरहेको छ । घरदैलोमा पुग्दा जनताले गर्ने ‘¥याख¥याख्ती’ र सामाजिक सञ्जालमा भाइरल हुने प्रश्नहरुले नेताहरुलाई रक्षात्मक बनाएको छ ।
झापा ५ को यो सुनसान माहौल केवल एउटा निर्वाचन क्षेत्रको कथा मात्र होइन, यो समग्र देशको राजनीतिक अवस्थाको प्रतिबिम्ब हो । नेताहरुले बुझ्नुपर्छ कि जनताका समस्या ज्यूँका त्यूँ राखेर फेसबुकमा गरिने ‘लाइक’ र ‘सेयर’ ले चुनाव त लड्न सकिएला, तर जनविश्वास जित्न सकिँदैन । अब पनि जनताको दुःख, श्रमिकको मर्कालाई नसुन्ने हो भने लोकतन्त्र केवल कागजी र डिजिटल प्रक्रियामा मात्र सीमित हुनेछ । मतदाताको यो ‘मौनता’ आगामी दिनमा राजनीति गर्नेहरुका लागि ठूलो चेतावनी हुनसक्छ । समयमै नसच्चिने हो भने फेसबुकको भीडले भोट हाल्ने बुथसम्मको दूरी कहिल्यै तय नगर्न सक्छ ।
































