अधेँरी रातमा राँको बालेर यालाङमा हिँडेका मेन्छ्याहरुको लर्को, हरिमायाले सङ्लो पानी बगेको विवाहको सपना देख्नु, ‘हिरङ्गा लागे’, ‘झिक्ने जाँठाहा’ जस्ता लोभलाग्दा याक्थुङ दृश्य र माङ पानहरुमा कतै अश्लीलताको गन्ध छैनन् । साँच्चै, समय र सन्दर्भ मिलाएर ठीक ठाउँमा माङ पानहरु प्रयोग गरिए याक्थुङ सौन्दर्य मूल्यको दृष्टिले शानदार लाग्छन् । 

याक्थुङ आर्ट फिल्म्सको ब्यानरमा बनेको याक्थुङ समुदायको सांस्कृतिक पहिचान, सामाजिक मूल्य–मान्यता र गाउँले जीवनको जीवन्त चित्र प्रस्तुत गरिएको पालामी कथानक चलचित्र ‘मिम्लेनफुङ’ । ताप्लेजुङ सिकैचा–कुन्जारी, पाङ्भे, हेन्छेबुङ र वरूक्पा क्षेत्रको सुन्दर परिवेशमा बुनेको यो पालामी मायापिरतीको लघु चलचित्र स्थानीय याक्थुङ जनजीवन, प्रेम, सामाजिक बन्धन र आत्मसम्मानको सङ्घर्षको अमर कथा हो ।

मिम्लेनफुङ

मिम्लेनफुङको केन्द्रमा हरि (हरिमाया मादेन) र तीनताले ठूले (जीवन केदेम्बा) को प्रेमकथा छ । तीनतले ठूले हेन्छेबुङकी हरि सोल्टिनीसँग बाल्यकालदेखि नै यालाङ र बाँसुरीका सुरहरुले नजिक पारेका यी दुई जनाको सम्बन्ध उमेर बढ्दै जाँदा प्रेममा परिणत हुन्छ । तर हरिमायाको पल्टने बाबुले उनको विवाहको लागि पहिल्यै एक नम्बरीको छोरासँग वाचा गरिसकेका हुन्छन् । समाजका परम्परागत नियम, परिवारको इच्छा र सामाजिक दबावका कारण हरिमाया र तीनताले ठूलेसँगको प्रेम विवाहमा परिणत हुँदैन । 

यिनै समस्याबाट उम्कन हरिमाया गाउँकै स्कुले सहपाठी भारतीय सेनामा कार्यरत छेवाङ तामाङसँग भागी विवाह गर्छिन् । विवाहलगत्तै छेवाङ युद्धमा वीरगति प्राप्त गर्छन् र हरिमाया समाजमा “पोइ टोकुवा”, “अलच्छिनी” जस्ता अपमानजनक आरोपका बीच गम्भीर मानसिक तनावमा जीवन बिताउन बाध्य हुन्छिन् । अन्तरजातीय विवाह गरेको, विधवा भएको र सामाजिक मान्यतालाई नटेरेको आरोपले उनको जीवन थप अन्धकारमय हुँदै जान्छ । यता मनले खाएकी सोल्टिनी अर्कैसँग फच्चा गएलगत्तै तीनताले ठूले मुगलान भासिन्छन् । आफ्नो सोल्टिनी हरि विधवा भएको खबर पाएर, ३० वर्षपछि मुगलानबाट फर्केका तीनताले ठूले र हरिमाया फेरि एकअर्काप्रति नजिकिन्छन् । विगतको स्मृतिमा यालाङमा आफ्ना पीडा पोखिन्छन् । 

नाःकन्ना निःवा मेम्बेक्नाबा, 

मिम्जिरे तु?क्खे मेन्धेःक्नाबा । 

(वर र पर मन नजाओस् है, मायाले दुःख छेक्दैन है ।)

चुङ्जिक्केन एच्छा साआमेम्बी,

तुम्मेन्दुम तु?क्खे चाआमेम्बी । 

(जीवनमा एक्लै विधवा भएँ, नपाउनु दुःख साह्रै पाएँ ।)

याक्थुङ जातिको पालाम अङ्कुराउने थलो मेलाबजार हो । तीनताले ठूले ३० वर्षपछि गाउँ फर्केकै समयमा विभिन्न कारणले बन्द रहेको दुतीया मेलाबजार पुनः लाग्न सुरू हुन्छ । यसै मेलामा पुरानो प्रेम पुनर्जीवित हुन्छ नै । विवाह गर्ने निर्णय नजिक पनि पुग्छन् उनीहरु । तर पुराना मान्यता बोकेकी तीनताले ठूलेकी आमा “पोइ मरेकी” केटीलाई घरको बुहारी मान्न तयार नभएको वचनले हरिमायाको आत्मसम्मानमा ठूलो चोट पु¥याउँछ ।

अन्ततः हरिमायाले जीवनभर विवाह नगर्ने निर्णय गर्दै आत्मसम्मानको बाटो रोज्छिन् । उनी रुढीवादी सोच भत्काउँदै नयाँ पुस्ताका लागि परिवर्तनको उदाहरण बनेर अघि बढ्ने अठोट गर्छिन् । यिनै भावनात्मक यात्रा, प्रेम र सङ्घर्षका बीचमा चलचित्र मिम्लेनफुङ समाप्त हुन्छ ।

माङ पानदेखि याक्थुङ सौन्दर्य दृष्टि

मिम्लेनफुङको मूल केन्द्रमा हरिमाया छिन् । हरिमाया, एक साधारण तर दृढ आत्मसम्मान भएकी महिला, जसले जीवनमा व्यक्तिगतभन्दा धेरै अगाडि गएर सामाजिक मूल्य–मान्यतामाथि प्रश्न उठाउँछिन् । उनको प्रेम कथा, पीडा, आत्मबोध र समाज विरोधी पूर्वाग्रहसँगको सङ्घर्षको कथा हो । हरिमायाले संवादमार्फत् मानव जीवनमा सबैभन्दा ठूलो स्वतन्त्रता, सम्मान र मानवता हो भन्ने सशक्त सन्देश मिम्लेनफुङमा दिन्छिन् । “समाजले नदिएको सम्मान म आफैलाई दिन्छु । यहाँ कोही मान्छे गलत जन्मदैन । उसको अन्तिम निष्कर्ष, गलत त समाजले बनाएका मूल्य–मान्यता हुन्, जसलाई अब परिवर्तन चाहिन्छ ।” बाबुआमाको इच्छाविपरीत विवाह गर्दा, आमाको आत्मसम्मानमा चोट त पुग्यो नै, त्यही गल्तीका कारण आफै जीवनकै ठूलो बोझ बोक्न बाध्य भएको स्वीकारोक्ति पनि छ । अनि व्यक्तिगत निर्णयको परिणाम स्वीकार्न आफै तयार हुन्छिन् हरिमाया । 

“पुस्तौं पुस्ता पुर्खाहरुले गलत काम गरेका रहेछन् भने गाली–सराप बगाउँला ।“ मिम्लेनफुङको अन्तिम संवादले याक्थुङ सांस्कृतिक चेतनालाई झल्काउँछ । परिवार दाजुभाइबीचको झगडा, असहमति र आँखीडाही हटाउन उहिले हाम्रा पुर्खा सावा येत्हाङ पाङ्भे नुवादो (नुवा–इम्बिरी याङ्धाङ दोभान) मा भेला भई गाली–सराप बगाएर पवित्रता पुनः स्थापना गर्ने साक्मुरा वादेम्मा मुन्धुमीय चेतलाई यहाँ सशक्त स्थान दिइएको छ । 

मिम्लेनफुङको अर्को प्रमुख पात्र हरिकी पहिलो प्रेमी तीनताले ठूले हुन् । साँचो अर्थमा यालाङ, केलाङ, हाक्पारे र ख्याली साम्लोमा कहिल्यै पछि नपरेका थाङ्वेन तीनताले ठूले प्रेममा हारेको दृश्यले दर्शकमा गहिरो प्रभाव पार्छ । उनी याक्थुङ संस्कृतिको संवाहकको रुपमा अत्यन्तै सशक्त भूमिका निर्वाह गर्न सक्षम देखिन्छन् । उहिले प्रेममा असफल याक्थुङ युवाहरु गाउँ छाडेर परदेशिएका याक्थुङ मनोदशा यहाँ स्पष्टरुपमा प्रतिबिम्बित हुन्छ । हरिमाया पहिलो पटक पर्दामा देखिए पनि आफ्नो जिम्मेवारी सशक्तरुपमा प्रदर्शन गरेकोमा कुनै शङ्का छैन । हरिमाया मादेन र जीवन केदेम्बा जोडीले कथा प्लट र याक्थुङ संस्कृतिमा आधारित परिवेशमा उत्कृष्ट नमुना प्रस्तुत गरेका छन् । हरिमायाकी डुप्लिकेट, सानो हरि रेन्सा आङ्खेवाको भूमिकामा पनि खोट लाउने ठाउँ देखिन्न । भेना कृष्ण लिम्खिम, भङ्गेरे कुमार लक्सम्बा, कमिता तुम्बापो, सनबहादुर मादेन, आइतरानी मादेनलगायत सबै सहायक पात्रहरु अत्यन्तै प्रभावशाली देखिएका छन् । मानौं, कुनै एक पात्र अरुभन्दा कम छैनन् । 

मिम्लेनफुङ अर्थात् मायाको फूल, व्यावसायिक मनोरञ्जन फिल्म मात्र नभएर नितान्त याक्थुङ संस्कृतिमा आधारित एउटा गीति लघु चलचित्र हो । हरिमायाको जीवन कथालाई पालामी भाकामा मूर्तरुप दिने सुवर्ण नेम्बाङ मिम्लेनफुङका जननी हुन् । सुवर्णले याक्थुङ जीवन दर्शनको सम्पूर्णता पालामी शब्दमार्फत् दर्शकसम्म पु¥याउन सफल भए । अशोककुमार राईको पाश्र्वसङ्गीतले यस चलचित्रको साउन्डलाई अझ समृद्ध बनाएको छ भने लाइटिङ र सेटिङले व्यावसायिक फिल्मभन्दा कम नभएको अनुभूति दिन्छ ।

मिम्लेनफुङ फिल्म याक्थुङ संस्कृति र जीवनशैलीको एक अत्यन्त महत्वपूर्ण अभिव्यक्ति हो । यसमा मुख्यतया मानिसहरुको सुख–दुःख, सामाजिक परम्परा र मानवीय संवेदनाहरुलाई पालाम सङ्गीतमार्फत् व्यक्त गरिएको छ । मेन्छ्या थाङ्वेनबीच जीवन सुख–दुःखका भोगाइ अभिव्यक्त गर्ने एउटै मात्र पालाम छ । मनु नेम्बाङ र आशराज वखिमको पालाम साम्लो प्रस्तुतिले मिम्लेनफुङलाई ऐतिहासिक सफलता दिलाएको छ । आशराज स्वयम् कुशल गायक मात्र होइनन्, याक्थुङ संस्कृति सिर्जनाका अब्बल सर्जक पनि हुन् । उनै आशराजको सांस्कृतिक चेतबाट (कथा पटकथा) पलाएको एक ऐतिहसिक याक्थुङ लधु चलचित्र मिम्लेनफुङ हो । मन छुने पालाम लय सङ्कलन पनि कथाकार आशराज आफैले गरेका हुन् । जीवन केदेम्बा आफैमा राम्रो पालाम साम्लो सर्जक हुन् । यो फिल्ममा आशराजको स्वर जीवनसँग मिल्नु अनौठो संयोग भइदियो । 

अँधेरी रातमा राँको बालेर यालाङमा हिँडेका मेन्छ्याहरुको लर्को, हरिमायाले सङ्लो पानी बगेको विवाहको सपना देख्नु, ‘हिरङ्गा लागे’, ‘झिक्ने जाँठाहा’ जस्ता लोभलाग्दा याक्थुङ दृश्य र माङ पानहरुमा, कतै अश्लीलताको गन्ध छैन । साँच्चै, समय र सन्दर्भ मिलाएर ठीक ठाउँमा माङ पानहरु प्रयोग गरिए याक्थुङ सौन्दर्य मूल्यको दृष्टिले शानदार लाग्छन् । १ घण्टा ४५ मिनेटमा लगभग ७० प्रतिशत संवाद नै छैनन् । मिम्लेनफुङको लोभलाग्दो पक्ष भनेकै यहाँ नचाहिँदा मसले संवादभन्दा याक्थुङ लाजेको माटो, खोलानाला, झरना झन्कार, चराचुरूङ्गीका आवाज, येलाङ, केलाङ, ख्यालीहरु आफै बोलेका छन् । पात्रहरुको अनुहार शरीरको हाउभाउ बोलेका छन् । कला त यस्तो होस् ! किन हाम्रा दिग्गज मानिएका फिल्म निर्माताहरु करोडौं खर्चेर नचाहिँदा याक्थुङ दृश्य देखाएर दशर्कलाई मूर्ख बनाइरहेका छन् ?

केवा कोक्माजस्तो सशक्त याक्थुङ संस्कृतिको फिल्म निर्माण गरिसकेका सफल निर्देशक रणवीर (रवि) शेर्माको निर्देशनले सामन्य दृश्य र पात्रको शरीरिक भाषामार्फत् गहिरो घटनालाई पनि सुन्दर ढङ्गले प्रस्तुत गरेका छन् । फिल्मले अश्लीलता र अनावश्यक संवादबाट टाढा रहँदै वास्तविक जीवन र संस्कृति देखाउने प्रयास गरेको छ । यसले दर्शकमा याक्थुङ समुदायको सामाजिक, सांस्कृतिक र पारिवारिक जीवनप्रतिको सम्मान जगाउँछ । सानो हरिको पल्टने श्रीमान् युद्धमा मरेको देखाउन एक शब्द खर्चेनन् निर्देशकले । पात्रको बडी ल्याङ्ग्वेज र सामान्य दृश्यहरुबाट नै यति ठूलो घटना बुझ्न सकिन्छ भन्ने निर्देशकले प्रमाणित गरेर देखाए ।  

नाम र दाम कमाउनु नुमाफुङ र जारीमा जस्तै रोल खुकुरी नचाउनु पर्ने बाध्यताबाट मुक्त छ मिम्लेनफुङ । अनि, समाजले नपचाउने अश्लील संवाद र अनावश्यक दृश्य देखाउनै पर्ने ? के याक्थुङ्बाहरु जाँडरक्सी खाएर फौदारी खेल्न मात्र जन्मेका हुन् त ? विल्कुल होइनन् । यसको परिणाम खोज्न हामीले मिम्लेनफुङ हेर्नैपर्ने हुन्छ । मिम्लेनफुङको सुन्दर र आकर्षण पक्ष भनेकै यसको पूरै कथा याक्थुङ गाउँको चौघेरोभित्र सीमित रहनु हो । कथा वाचनमा कतै कृत्रिमता छैन । प्रमुख कलाकार आफ्नै  समुदायका सदस्य हुनु फिल्मको अर्को महत्वपूर्ण पक्ष हो । आफ्नै भाषा र संस्कृतिमा हुर्केका कलाकारले अभिनय गर्दा उनीहरुले स्वामित्व लिन्छ नै, अझ संवादमा विश्वसनीय र प्रस्तुतिमा कुनै कृत्रिमता महसुस हुँदैन । त्यसैले पात्रहरुको बोली, पोसाक, चालचलन र परिवेश सबै वास्तविक याक्थुङ जीवनसँग जोडिएका छन् । कलाकारहरुले आफ्नो याक्थुङ पान, संस्कार र सामाजिक व्यवहारलाई सहजरुपमा प्रस्तुत गरेका छन्, जुन वाह्य कलाकारले यति प्रभावकारी रुपमा उतार्न कठिन हुन्छ । 

अन्यायमा तीनताले ठूले !

यति हुँदाहुँदै पनि केही प्राविधिक र सांस्कृतिक प्रस्तुतिमा मर–मसला नपुगेका समीक्षकको दृष्टिकोणबाट चर्चा गर्नैपर्ने हुन्छ । माथि इम्बिरी याङ्धाङ्वा आसपासमा त्यहाँकै पालामी भाका हुनुपर्नेमा दक्षिणीभेग चारखल, पान्थर, छथर क्षेत्रको भाका गुञ्जिएका छन् । थुमअनुसारको भाकामा विविधता प्रस्तुत गर्न सके अझ राम्रो हुने थियो । कन्या माग्ने विधिलाई ‘सुर्के पङ’ भाषिक दृष्टि र याक्थुङ संस्कृतिसँग मेल खाँदैन । तीनताले ठूलेलाई याक्थुङ पानमै संवाद गर्न नदिएर ठूलो अन्याय भएको छ । 

याक्थुङ समाजमा विधवालाई अपवित्र र समाजिकरुपमा कमजोर ठान्ने मान्यता छैन र सेतो वस्त्र लगाउने प्रचलन पनि छैन । अन्य समुदायसँगको सामाजिक अन्तरघुलनका कारण केही यस्ता गलत मान्यताहरु हामीभित्र पनि घुसेर बसेका छन् । हरिमाया यसैको शिकार बनिन् । हरिमायाले बाहिर समाजले निर्माण गरेको गलत मान्यतालाई भत्काउनु पर्छ भनेर जोडदार आवनज त उठाइन् तर यसको खिलापमा लड्नुभन्दा तीनताले ठूलेको आमाको एउटै वचनमा आघात भएर आत्मसमर्पण गरेकी छन् । याक्थुङ महिलाहरुको साहस कति कठोर र शानदार हुन्छ भनेर यही मिम्लेनफुङमा “बदमास भङ्गेरे लोग्नेलाई उनकी स्वास्नी सुनिताले थुक्का जाँठा भन्दै जोरलात हानेर ओछ्यानबाट तल झारेर” देखाइदेएकी छन् । 

अन्तिम सत्य

मिम्लेनफुङले याक्थुङ समाज र संस्कृतिसँग प्रत्यक्षरुपमा सम्बन्धित गहिरा संदेशहरु प्रस्तुत गरेको छ । अन्तिम सत्य भनेकै आफ्नै  समुदायका कलाकार, आफ्नै  स्रोत–साधन र आफ्नै मौलिक कथा प्रयोग गरेर पनि उत्कृष्ट याक्थुङ चलचित्र निर्माण गर्न सकिन्छ भन्ने हो । जारीको त के, नुमाफुङजस्तै सशक्त याक्थुङ चलचित्र बन्न सक्ने सम्भावनाको ढोका मिम्लेनफुङले खोलेको छ ।

साँचो याक्थुङ फिल्म भनेको अन्य फिल्मसँग दाँज्ने, कति पैसा कमायो वा कति अवार्ड पायो भनेर मात्र मूल्याङ्कन गर्नु हुँदैन । त्यसले दिन खोजेको मूल सन्देश नै प्रमुख हुनुपर्छ । यस अर्थमा ‘मिम्लेनफुङ’ सफल भयो । याक्थुङ समुदायका लागि आफ्नै कथालाई आधार बनाएर याक्थुङ कलाकार र स्रोतहरु प्रयोग गरेर निर्माण गरिने फिल्म नै समुदायको वास्तविक पहिचान प्रस्तुत गर्ने माध्यम हो । हलिउड, बलिउड वा कलिउडको शैली वा अवधारणाको पछि लागिरहन कुनै आवश्यकता छैन । त्यसैगरी महँगो बजेट, गैर–याक्थुङ स्टार कलाकार वा भव्य छायाङ्कन मात्रले चलचित्र उत्कृष्ट हुँदैन ।

मौलिक कथा, सांस्कृतिक यथार्थ र गहिरो संदेश नै फिल्मलाई शक्तिशाली बनाउने मूल आधार हुन् । हाम्रो याक्थुङ लाजेको खाम–लुङमा याङ्बेन र हुर्ले कुवाकुजा खाँदै, हाम्रै याक्थुङ पानमा हाम्रै याक्थुङ कलाकारले मात्र आत्मपहिचानको सबैभन्दा सशक्त याक्थुङ फिल्म बन्दोरहेछ । ‘मिम्लेनफुङ’ ले यही कुरा प्रष्टरुपमा देखाएको छ । भरखर मनोरञ्जनले भरिपूर्ण मसलेदार जारी÷जारी–२ हेरेका दर्शकको लागि मिम्लेनफुङ खल्लो हुनसक्छ । तर सांस्कृतिक चेत, पहिचान मौलिक कलालाई बुझ्ने र मूल्याङ्कन गर्ने दर्शकका लागि मिम्लेनफुङ हेर्दा खासै घाटा नहोला ।

आखिरमा........   

“मिम्जिरे तु?क्खे मेन्धेःक्नाबा!” (मायाले दुःख छेक्दैन)

कसैको माङ्गेना नढलोस, सबैको चोत्लुङ माथि उठोस् । 

(कुवाकुजा भनेर चिनिने लेखक कृष्णकुमार हेम्भ्या पूर्व ब्रिटिश गोर्खा सैनिक हुन् । लेखक हेम्भ्याले ‘ब्रिटिश गोर्खा भर्तीः राष्ट्रिय कलङ्कको चिरफार’ पुस्तक लेखेका छन् ।)