-भोजराज श्रेष्ठ

युट्युबर टङ्क दाहालले काङ्ग्रेसका पूर्व सभापति स्वर्गीय गिरिराजप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार भनी भोट मागेर जिते पछि आफै प्रधानमन्त्री बनेको भनी दाबी गरेका छन् । 

तर, हाम्रो तथ्य जाँचले उक्त दाबी गलत पुष्टि भएको छ ।

के हो दाबी ?

चार लाख ६ हजार फलोअर रहेको फेसबुक प्रयोगकर्ता टङ्क दाहाल (TankaDahal) ले हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले देशभर ल्याएको मत र बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार भनी ढाँट्ने सन्दर्भलाई जोडेर उनले ८ मार्च २०२६ आइतबार विगतको चुनावलाई लक्षित गर्दै लेखेका छन्, “सत्ताको भोकले मान्छेको मति भ्रष्ट बनाउछ । त्यो बेला कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार भन्दै भोट मागेर जितेपछि गिरिजाप्रसाद कोइराला आफै प्रधानमन्त्री भए । त्यसले काङ्ग्रेसलाई जुन क्षति पुर्‍यायो, त्यसको पूर्ति पार्टीले कहिले पनि पूरा गर्न सकेन । इतिहासबाट सिक्नुपर्ने धेरै कुरा छन् । जनतासँग जे भनेर भोट मागिएको छ, त्यसमा छलछाम नहोस् । आत्तिने र मात्तिने सबै सिद्धिएका छन् !” टङ्क दाहालले कहिलेको मध्यावधि चुनाव भनेर खुलाएका छैनन् । 

हेर्नुहोस् स्क्रिन सट ।

tanka

युट्युबर दाहालको फेसबुक लिङ्क  र अर्काइभ लिङ्क। 

यो तथ्य जाँचसम्मको समयमा २३ हजार रियाक्सन, एक हजार एक सय कमेन्ट र एक हजार २ सय शेयर भइसकेका छन् । 

के हो तथ्य ? 

यसबारे तथ्य जाँच गर्न हामीले कुन मध्यावधि चुनावमा गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार भनी भोट मागेका रहेछन् भनेर तत्कालीन समयका जानकार पत्रकारहरूसँग बुझ्‌ने प्रयास गर्‍यौँ । 

काठमाडौँबाट प्रकाशन हुँदै आएको शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालसँग यसबारे फोनसम्पर्क गरी कुरा गर्‍यौँ । उनले २०५६ सालको मध्यावधिमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार भनी भोट मागेको जानकारी प्राप्त भयो । 

कृष्णप्रसाद भट्टराई पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट उठेका रहेछन् । चुनावमा भारी मतान्तरले जितेपश्चात् उनलाई करिब ९ महिना प्रधानमन्त्री बनाएको भनी पत्रकार दाहालबाट जानकारी प्राप्त भयो । त्यसपश्चात् थप प्रमाण खोज्न हामीले वेब्याक मेसिनमा गई सामग्री खोज्यौँ । २०५६ सालमा नेपालमा मर्कन्टायल कम्पनीले नेपाल न्यूज डटकम (www.nepalnews.com) सञ्चालनमा ल्याएकाले सोही अनलाइनको समाचारहरू खोजी गर्‍यौँ । 

नेपाल न्युज डटकममा उक्तबारे केही समाचारहरू पायौँ । 

हेर्नुहोस् स्क्रिन सटहरू ।

Screenshot 2026-03-12 at 15.53.38

वेब्याक मेसिनमा प्राप्त समाचार लिङ्क ।

Screenshot 2026-03-12 at 15.50.49

वेब्याक मेसिनमा प्राप्त समाचार लिङ्क ।

तथ्य जाँच

दाबी : काङ्ग्रेस नेता कृष्णप्रसाद भट्टराईलाई गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्रीको उम्मेदवार भनी भोट मागेर प्रधानमन्त्री नबनाएको । 

दाबीकर्ता : टङ्क दाहाल नामक फेसबुक प्रयोगकर्ता । 

तथ्य : मिथ्या सूचना । २०५६ सालको मध्यावधि निर्वाचनपश्चात् तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई नै प्रधानमन्त्री बनाएका थिए । तर उनको कार्यकाल करिब ९ महिनासम्म मात्रै रहेको अग्रज पत्रकारहरूले जनाएका छन् । रास्वपाका रवि लामिछानेले पनि बालेन्द्र साह (बालेन) लाई त्यस्तै गर्छन् भन्ने भ्रम फैलाउन खोजेको देखिन्छ । जुन हेर्न बाँकी नै छ ।