धरान । मध्यपूर्वमा जारी युद्धबारे एआईको दुरुपयोग गरी भ्रामक सूचना फैलाएको भन्दै युएईमा एक नेपालीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
युएईका महान्यायाधिवक्ता हमाद सैफ अल शम्सीले सामाजिक सञ्जालमा झुटा र भ्रामक भिडिओ क्लिप सार्वजनिक गरेको आरोपमा ती १० जनालाई पक्राउ गर्न आदेश दिएको गल्फ न्युजमा समाचार सार्वजनिक भएको छ ।
अनुसन्धानपछि पक्राउ परेका अभियुक्तलाई द्रुत सुनुवाइका लागि अदालतमा पेश गरिएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै गल्फन्युजले जनाएको छ । सार्वजनिक समाचारअनुसार १० जनामध्ये एक जना नेपाली पनि छन् । आँखा छोपिएको अवस्थामा तस्बिर पनि सार्वजनिक छन् । तर, अन्य परिचय भने खुलाइएको छैन ।
डिजिटल प्लेटफर्ममा निरन्तर निगरानीका क्रममा ती व्यक्तिहरूले मध्यपूर्वको क्षेत्रीय घटनाक्रमको फाइदा उठाउँदै जनतालाई भ्रमित पार्ने र राष्ट्रिय सुरक्षा, सार्वजनिक व्यवस्था तथा स्थिरता कमजोर बनाउने उद्देश्यले भ्रामक सामग्री प्रसार गरेको पाइएको अधिकारीहरूले बताएका छन् । ती व्यक्ति प्रसार गरेका सामग्रीमा एयर डिफेन्स सिस्टमले गरेको प्रतिरक्षाका वास्तविक दृश्य, मानिसका भीडजस्ता दृश्य पनि भेटिएको अधिकारीहरूले जनाएका छन् ।
यस्तै कतिपय एआईको दुरुपयोग गरेर बनाएका नक्कली भिडियोसमेत सामेल भएको बताइएको छ । युएईका विभिन्न स्थानमा ठूला विष्फोट, प्रमुख स्थलहरूमा आक्रमण र भीषण आगलागी जस्ता भ्रामक दृश्य देखाइएको ती अधिकारीहरूले दाबी गरेका छन् ।
































