हर्कराज राईले नेतृत्व गरेको श्रम संस्कृति पार्टीको समानुपातिक बन्द सूचीमा भएका व्यक्तिहरूले आफू सांसद् हुनुपर्ने अडान राखे पछि विवाद भएको छ ।

समाजिक सञ्जालहरूमा केही व्यक्तिहरूले पार्टी निर्माण र निर्वाचनको समयमा खटेर समानुपातिक भोट बढी आएको दाबी गर्दै आफू छानिनु पर्ने र अध्यक्षले नछाने राम्रो नहुनेसम्मका धम्कीपूर्ण वक्तव्य सामाजिक सञ्जालहरूमा दिएपछि अध्यक्ष राईलाई टाउको दुखाइको विषय बनेको छ ।

बन्द सूचीमा रहेका व्यक्तिहरूको असन्तुष्टि सतहमा आएपछि राई तनावमा परेका छन् । बिहीबारदेखि नै छिनछिनमा उनको आधिकारिक पेजबाट स्टाटस लेखिरहेका छन् । राईले समानुपातिक प्रतिनिधित्वका विषयमा विवाद गर्नेलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने चेतावनीपूर्ण स्टाटस बिहीबार नै लेखिसकेका छन् ।

यसअघि उनले आफ्ना कार्यकर्ताहरूलाई ‘भात खाऊ, मेरो टाउको नखाऊ’ लेखेका थिए । अध्यक्ष राईको छिनछिनमा स्टाटस लेखनले सांसद् बनाउन दबाव बढेको  देखिन्छ । शुक्रबारको एक कार्यक्रममा ‘समानुपातिक सूची त हाउगुजी नै पो भयो । प्रत्यक्षको ३ सिट मात्रै पो लिने हो कि ?’ भन्ने उनको भिडियोसमेत सार्वजनिक भएको थियो ।  

सामाजिक सञ्जालमा पार्टी समर्थित समला राईको अभिव्यक्ति भाइरल भएपछि साम्पाङ तात्तिएका पनि छन् । श्रम संस्कृति पार्टी निर्माण र श्रम अभियानलाई सुरुवातदेखि नै समर्पित भएर सहयोग गरेको समलाले भिडियोेमा बताएकी छन् । उनले समानुपातिकमा आफ्नो प्रतिनिधित्व नभए आफूलाई अन्याय हुने दाबी पनि गरेकी छन् । तर उनको बन्द सूचीको आदिवासी जनजाति क्लस्टरमा समलाको नाम १६ औं स्थानमा रहेको छ ।

हर्कराज राईले कतिपय सार्वजनिक कार्यक्रममा समानुपातिक सिट आफूले छान्ने हो भन्ने अभिव्यक्ति दिएपछि अध्यक्षले छान्ने हो भने आफू हुनुपर्ने दाबी कार्यकर्ताहरूले गर्दै आएका हुन् । सामाजिक सञ्जाल प्रयोग गर्ने र युट्युब चलाउनेहरूले यो विषय बन्द सूचीमा परेकाहरूलाई खोजी खोजी उनीहरूको विषय बाहिर ल्याउने काम पनि भइरहेको छ ।

हर्क साम्पाङले यसअघि दुई उपाध्यक्षमाथि कारबाहीको डण्डा चलाएका थिए । प्रहरी हिरासतमा रहेका पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा) लाई निलम्बन गरेका उनले बुटवलमा आयोजित एक कार्यक्रममा आफूमाथि प्रश्न उठाएको भन्दै पार्टीका अर्का उपाध्यक्ष डा. मित्र परियारलाई पार्टीबाट निकालेका थिए ।