मोरङ । गतवर्ष मोरङमा सवारी दुर्घटनाबाट एक सय २९ जनाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा एक हजार दुई सय ८५ विभिन्न सवारी दुर्घटनाबाट उक्त मृत्यु भएको हो । उक्त दुर्घटनामा तीन सय ५३ जना गम्भीर घाइते र एक हजार ६ सय ५४ जना घाइते भएका थिए ।
आ.व. २०७७/७८ मा विभिन्न १ हजार १ सय ६२ वटा सवारी दुर्घटनाबाट १ सय ४२ जनाको मृत्यु हुनुका साथै ३ सय ४९ जना गम्भीर घाइते र १ हजार ४ सय २० जना घाइते भएका थिए । आ.व. २०७६/७७ मा ४ सय ८७ वटा सवारी दुर्घटनाबाट ८९ जनाको मृत्यु हुनुका साथै २ सय ७ जना गम्भीर घाइते तथा ५ सय २३ जना घाइते भएको ट्राफिक कार्यालय मोरङका प्रमुख इन्स्पेक्टर राजकुमार कार्कीले जानकारी दिए ।
कार्यालयले आ.व.२०७८/८९ मा ७१ हजार ५ सय १७ सवारी साधनलाई कारबाही गरी ४ करोड ५७ लाख १ हजार राजस्व सङ्कलन गरेको छ । आ.व.२०७७/७८ मा ७० हजार १ सय २९ सवारी साधनलाई कारबाही गरी ४ करोड २० लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ भने आ.व. २०७६/७७ मा ५४ हजार २ सय ९ सवारी साधनलाई कारबाही गरी ३ करोड १९ लाख ९५ हजार ५ सय राजस्व सङ्कलन गरेको इन्स्पेक्टर कार्कीले बताए ।
कार्यालयले दुर्घटना न्यूनीकरण गर्नका लागि ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरेको छ । कार्यालयका अनुसार आ.व.२०७८/७९ मा ५ हजार ३ सय ९९ वटा कार्यक्रमबाट १ लाख ३३ हजार ६ सय ५ जना, ६ सय ७७ पटक विद्यालयमा गरिएको कार्यक्रमबाट १९ हजार ५ जना विद्यार्थी लाभान्वित भएका छन् ।
आ.व.२०७७/७८ मा ३ हजार ८ सय ४९ वटा कार्यक्रमबाट ५२ हजार १ सय २६ जना, ४ सय ३३ पटक विद्यालयमा गरेको कार्यक्रमबाट ५२ हजार १ सय २६ विद्यार्थी लाभान्वित भएका छन् भने आ.व.२०७६/७७ मा ३ हजार ५ सय ४४ कार्यक्रमबाट ४५ हजार ५ सय ६७ जना र २ सय ५० पटक विद्यालयमा गरिएको कार्यक्रमबाट ४ हजार ५ सय १० विद्यार्थी लाभान्वित भएको निरीक्षक कार्कीले बताए ।
चालु आ.व.२०७९/८० को साउन मसान्तसम्ममा ८३ विभिन्न सवारी दुर्घटनाबाट ८ जनाको मृत्यु हुनुका साथै १ सय २१ जना घाइते भएका छन् । सोही अवधिमा ३ हजार ६ सय ५७ सवारी साधनलाई कारबाही गरी २३ लाख १८ हजार ५ सय राजस्व सङ्कलन गरिएको छ ।
कार्यालयले सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि बूढीगङ्गाको निमुवादेखि विराटनगर रानीसम्म ५० वटा ट्राफिक नियमसम्बन्धी चेतनामूलक होडिङ बोर्ड राख्नुका साथै विराटनगर प्रवेशद्वारसम्म १० वटा प्रहरीको डमी बोर्ड राखिएको छ ।
बाटोको अवस्था, मादकपदार्थ सेवन र तीव्र गतिमा सवारीसाधन सञ्चालनले ८० प्रतिशत दुर्घटना हुने गरेको इन्स्पेक्टर कार्कीको भनाइ छ । मोटरसाइकल दुर्घटना गर्ने चालकमध्ये अधिकांश १५ देखि ३० वर्ष उमेरका युवा रहेको उनको भनाइ छ ।
कार्यालयले दुर्घटना न्यूनीकरण गर्न दैनिकरूपमा विभिन्न २० स्थानमा ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै ६५ स्थानमा मादकपदार्थ सेवनलगायत जाँच गर्ने गरेको छ ।