सुनसरी । कोसी गाउँपालिका–८ कोसी ब्यारेजका स्थानीय १२ वर्षीय राहुल माझी स्थानीय कोसी आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययनरत छन् । सप्तकोसी नदीमा केही दिनयता पानीको बहाव बढ्दा उनी आजकाल विद्यालय नगई दाउरा सङ्कलन गर्नमै व्यस्त हुने गरेका छन् । विद्यालय जाने समय साथीभाइसँगै दाउरा सङ्कलन गर्दै बित्ने गर्दछ । उनीलगायत कोसी ब्यारेज क्षेत्रका दर्जनौं बालबालिकाको दिनचर्या यस्तै छ आजभोलि ।

विद्यालय जाने यस क्षेत्रका बालबालिका केही दिनयता दाउरा सङ्कलनमा व्यस्त छन् । नदीमा पानीको सतह बढ्दा कोसी ब्यारेज क्षेत्रका सर्वसाधारणलाई घरमा पानी पसेर विस्थापित हुने खतरासँगै केहीलाई काठ, दाउरा तथा अन्य सामान जोड्न भ्याई नभ्याई छ । सप्तकोसी नदीमा उर्लिएर आएको पानीको भेलमा जोखिम मोलेर काठ, दाउरा सङ्कलन गर्ने बालबालिकाहरूको भीड कोसी ब्यारेजमा देख्न सकिन्छ । प्रदेश नम्बर १ र २ को सिमानामा अवस्थित कोसी ब्यारेजको दुवैतर्फ नदीले बगाएर ल्याएको काठ, दाउरा निकाल्न अन्य बालबालिकाहरूसँगै स्थानीय १५ वर्षीय सतेन्द्र मण्डल पनि हतारमा देखिन्थे ।

सप्तकोसी नदीको सतह बढ्दा आफूले पनि काठ, दाउरा सङ्कलन गर्दै आएको उनले बताए । दिनभर सङ्कलन गरेको काठ, दाउरा घरमा खाना पकाउन प्रयोग गर्नुका साथै दैनिक रूपमा ५ सयदेखि ८ सयसम्मको बेच्ने गरेको मण्डल बताउँछन् । राहुल र सतेन्द्रका साथै जोखिम मोलेर भए पनि यस क्षेत्रका सर्वसाधारणले सप्तकोसी नदीले बगाएर ल्याएको काठ, दाउरा सङ्कलन गर्दै आएका छन् । उनीहरूले सङ्कलन गरेका काठ, दाउरा खाना पकाउनका लागि इन्धन र आम्दानीको स्रोतसमेत बनेको छ ।

ज्यानको बाजी राखेर पेट पाल्न बालबालिका र महिलासमेत काठ, दाउरा निकाल्न व्यस्त हुने गरेका हुन् । कोसी ब्यारेजका स्थानीय सुदन मण्डल पनि बिहानदेखि बेलुकासम्म सप्तकोसी नदीले बगाएर ल्याएको काठ, दाउरा सङ्कलन गर्न व्यस्त हुन्छन् । कहिलेकाहीँ रुख नै बगाएर ल्याएमा २–४ जना साथीको मिलेर डोरीको सहायताले निकाल्ने गरेको उनको कथन छ । सानैदेखि पौडिन जानेका र गाउँका अधिकांशले यसरी नै दाउरा सङ्कलन गरेको देखेका मण्डलले हरेक वर्ष यसरी नै वर्षदिनलाई पुग्ने दाउरा नदीबाट जम्मा गर्दै आएका छन् ।

‘कोसी नदीमा पानीको बहाव बढ्दा बर्सेनि घरमा पानी पस्ने गर्छ, अब जाउँ भने अन्त जग्गा छैन । जसरी पनि यहीँ बस्नुपर्छ’ मण्डलले भने, ‘बरु बगेर आएका काठ, दाउरा सङ्कलन गर्छु । वर्षमा ३० देखि ५० हजारसम्मको काठ, दाउरा सङ्कलन गरेर कमाउने गरेको छु ।’ वार्षिक रूपमा आम्दानी गर्नुका साथै उनीहरूले वर्षभर खाना पकाउन दाउराको पनि जोहो गर्छन् ।

सप्तकोसी नदीमा अहिले पानीको बहाव बढ्दो क्रममा छ । बाढी पसेर घर बगाउने र लगाएको धान खेती डुबाउने चिन्ता उत्तिकै छ । तर, यसक्षेत्रका बालबालिका कोसी ब्यारेजको ढोकामाथिबाट जोखिम मोलेर काठ, दाउरा सङ्कलनमा व्यस्त छन् । कसैको लागि सप्तकोसी नदीमा पानीको बहाव बढ्दा चिन्ताको विषय बनेको छ भने कसैको लागि कमाउने माध्यम बनेको छ । ब्यारेज आसपास रहेका कतिपय घरपरिवारले कोसी नदीको बाढीले बगाएर ल्याएको काठ, दाउरा सङ्कलन गरेर आम्दानी गर्दै जीविकोपार्जन गर्दै आएका छन् ।

पुरुषका साथै बालबालिका र महिलाहरू पनि वर्षायाम सुरु भएसँगै नदीले बगाएर ल्याएको काठ, दाउरा जोखिम मोलेर सङ्कलनमा व्यस्त रहँदा स्थानीय प्रशासन मौन छन् । विना कुनै सुरक्षा र सतर्कता अपनाई कोसी ब्यारेज क्षेत्रमा दर्जनौं बालबालिकाहरू कोसी ब्यारेजमा खोलिएका ढोकामाथिबाट लाठीमा भाला उनेर आफैले बनाएको घरेलु औजारको सहायताले दाउरा निकाल्ने गर्छन् ।

सप्तकोसी नदीको बहावको परवाह नगरी महिला तथा बालबालिकाले जोखिम मोलेर काठ, दाउरा निकाल्दै आए पनि यसतर्फ स्थानीय प्रशासनले चासो देखाएको पाइँदैन । जसले गर्दा आम्दानीसँगै उनीहरूमा ज्यानको जोखिमसमेत उत्तिकै छ । वार्षिक रूपमा कोसी आसपास क्षेत्रमा काठ, दाउरा सङ्कलन र माछा मार्ने क्रममा पाँचदेखि आठजनासम्मले ज्यान गुमाउँदै आएका छन् ।

koshi-kath1