बिर्तामोड । झापाको काँकरभिट्टादेखि सुनसरीको लौकहीसम्म एकसय २० किलोमिटर लम्बाई भएको पुर्व–पश्चिम राजमार्गको स्तरोन्नतीका लागि आगामी पुस महिनादेखि निर्माण कार्य सुरु हुने भएको छ ।

निर्माणपक्षले राजमार्गसँग जोडिएका स्थानीय तहमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्दै सडक निर्माण र यसले पार्ने असर तथा उपलब्धिहरुको बारेमा जानकारी गराउन थालेको छ । काँकरभिट्टादेखि लौकही १२० किलोमिटर लम्बाइको सडक स्तरोन्नती आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन(ईआईए) प्रतिवेदन पेश गरेको हो ।

 आयोजनाका टोली प्रमुख इञ्जिनियर राजन श्रेष्ठले काँकरभिट्टादेखि लौकही सडक १२० किलोमिटर लम्बाई स्तरोन्नतीको आयोजनाका विषयमा जानकारी गराएका छन् । नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा निर्माण सुरु गर्न लागेको सो आयोजनाको विस्तृत अध्ययान र चार लेनको सडक निर्माणको स्तरोन्नती एसियाली विकास बैँक (एडिबी) ले लगानी गर्ने भएको छ ।

यो आयोजना झापा, मोरङ र सुनसरी जिल्लामा हुनेछ । काँकरभिट्टाको मेची पुलबाट सुरु हुने सडक निर्माण सुनसरीको लौकहीमा गएर समापन हुनेछ । झापामा ५४ दशमलव ९ किलोमिटर, मोरङमा २६ दशमलव २ किलोमिटर र सुनसरीमा २८ दशमलव ९ किलोमिटर सडकको स्तरोन्नती हुनेछ ।

पूर्वपश्चिम राजमार्गमा केन्द्रबाट २५–२५ मिटरको क्षेत्रमा स्तरोन्नती गरिनेछ । सडकलाई तीन भागमा विभाजित गरिएको छ । जसमा ग्रामिण तथा वन क्षेत्रमा २४ मिटर, अर्ध शहरी क्षेत्रमा ३३ मिटर र शहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडाईको सडक क्षेत्र हुने गरिको निर्माण प्रस्ताव मन्त्रालयले गरेको छ ।

आयोजनाले झापाको काँकरभिट्टा, ईटाभट्टा, चारआली, बिर्तामोड, चारपाने, लक्ष्मीपुर, सुरुङ्गा, कोटीहोम, दुधे, झिलझिले, पाडाजुङ्गी, दमक । मोरङको उर्लाबारी, मंगलबारे, पथरी, कानेपोखरी, बेलबारी, लालभित्ती, विराटचोक, सलकपुर तथा सुनसरीको इटहरी, पकली, झुम्का, इनरुवा र लौकहीसम्म सडक विस्तार गर्नेछ । आयोजनाले सडक स्तरोन्नतीका लागि २८ अर्व १७ करोड ८९ लाख ७१ हजार १२७ रुपैयाँ लाग्ने जनाएको छ । पुसदेखि सुरु हुने सो आयोजना ३ वर्षमा सकिनेछ ।

सडकमा पर्ने वनजंगल, मन्दिर, घरटहरा, मलामी घाट लगायतका सरचना, वन्यजन्तुको वासस्थान, हिड्ने बाटो र निर्माणमा हुने वातावरणीय असर लगायतका विषयमा जनप्रतिनिधि र सरोकारवालाहरुसँग छलफल भएको थियो ।

१२० किलोमिटर क्षेत्रमा पर्ने ठुला ६ वटा खोलाहरुमा आकर्षक पुल निर्माण हुने आयोजनाले जनाएको छ । ३ सय मिटरभन्दा लामो बन्ने पुलको बीच भाग स्टिलबाट निर्माण गरिने हुँदा पर्यटन प्रवद्र्धमा सहयोग पुग्ने बिश्वास लिइएको छ । पुलको आकर्षणले पनि पर्यटकलाई यहाँसम्म आउन प्रेरित गर्ने अवस्था निर्माण हुने बताइएको छ ।

सुनसरीको इटहरी, दमक र बिर्तामोडसहित ब्यस्त रहने प्रमुख १० शहरमा फ्लाई ओभर निर्माण हुने छ । जसका कारण घना शहरी क्षेत्रमा सवारीको गति कम गर्नु नपर्ने श्रेष्ठले बताए । सडक निर्माण पुरा भएपछि सिधा बाटोमा १२० किलोमिटर प्रतिघण्टा र घुमाउरो बाटो भएको स्थानमा ८० किलोमिटर प्रतिघण्टाको दरमा सवारी साधन सञ्चालन हुन सक्ने छन् ।