२०१४ माघ ६ गते धरान–८ मा बालआदर्श प्राथमिक विद्यालयकोे नाममा स्थापित भएको यो विद्यालय २०४६ सालमा नाम परिवर्तन भई सहिद स्मृति माध्यमिक विद्यालयको नामले सञ्चालन हुँदै आएको छ । विद्यालयमा २०७७ सालदेखि माध्यमिक तह व्यवस्थापन सङ्कायमा कक्षा–११/१२ समेत सुरुवात गर्न सफल भएको छ । विद्यालयमा भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरमा कुनै कमी छैन । विद्यालयले गे्रडिङ प्रणालीको सुरुवात भएपछि ‘ए’ ग्रेडसम्म ल्याउन सफल भएको छ । एसएलसी परीक्षामा ८० प्रतिशतसम्म डिस्टिङ्सन ल्याएको थियो । विद्यालयले शैक्षिक विकासका लागि शिशु कक्षादेखि नै अङ्ग्रेजी भाषामा अध्यापन गराउँदै आएको छ । विद्यालयका अभिभावकहरु पनि  नानीहरुको  शैक्षिक गुणस्तरका निम्ति  चनाखो भएर विद्यालयमा नियमित सम्पर्कमा आउने, छलफल, अन्तरक्रिया गर्ने र नानीहरुको विषयमा सोधखोज गर्न थालेका छन् । जसले विद्यालयको शैक्षिक गुणस्तर अब्बल बनाउन सहयोग गरेको छ ।
विद्यार्थीहरुको शैक्षिक  विकासमा विद्यालयले विशेष ध्यान दिँदै कम्प्युटर ल्याव, विज्ञान प्रयोगशाला र पुस्तकालयको राम्रो व्यवस्था गरेको छ । विद्यार्थीहरुको व्यावहारिक र सर्वाङ्गीण विकासका लागि खेलकुदलगायत अन्य अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिने गरेको छ ।

‘स्थानीय तहलाई प्राथमिक तहको मात्र अधिकार दिनुपर्छ’
मनोज मेन्याङ्बो
विद्यालय व्यवस्थापन समिति, अध्यक्ष

विद्यालयमा कक्षा ११ र १२ सुरु गर्नुभएकोले व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ?
–सुरुवाती वर्षमा विषयगत जनशक्तिलाई व्यवस्थापन गर्दैछौँ । सहिद स्मृतिमात्रै होइन । प्रायः सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले अन्य विद्यालयमा पार्टटाइम अध्यापन गराउँछन् ।  विद्यालयले अन्य शिक्षकहरू राख्नुपर्ने अवस्था छ । हामीले पनि त्यहीअनुसार व्यवस्थापन गर्दैछौँ ।

भौतिक संरचनाको अवस्था कस्तो छ ?
–सहिद स्मृतिमा भौतिक संरचना व्यवस्थित र पर्याप्त रहेको छ । पहिले पनि राम्रै थियो । म व्यवस्थापन समितिको अध्यक्षमा आएपछि कायापलट नै भएको छ भन्दा अत्युक्ति हुँदैन । बालकक्षाको छुट्टै भवन र कक्षा व्यवस्थापन गरेका छौँ । सबै तहका कक्षाहरू पूर्ण रूपमा व्यवस्थित छन् । यतिका भौतिक संरचना अन्य सामुदायिक विद्यालयमा छैन ।

सामुदायिक विद्यालयमा पनि हु“दा खाने र हुनेखानेका छोराछोरी पढ्ने शिक्षा फरक हुन थाल्यो । यसलाई कसरी लिनुहुन्छ ?
–निजी तथा संस्थागत विद्यालयको आकर्षणलाई कम गर्न आवश्यक छ । त्यसका लागि अङ्ग्रेजी भाषालाई ग्राह्यता दिनुपर्छ । तर, यदि सामुदायिक विद्यालयमा शुल्क लिने, पोसाक फरक हुने र वर्ग देखिने किसिमका क्रियाकलाप गरिन्छ भने त्यो गलत हो ।

सामुदायिक विद्यालयमा भौतिक संरचना र जनशक्ति पर्याप्त हुन्छ तर, शैक्षिक गुणस्तर किन खस्किरहेको छ ?
शैक्षिक गुणस्तर खस्किनुमा प्रमुख कारण अभिभावक दायित्वविहीन हुनु हो। अभिभावकले आर्थिक दायित्व पनि वहन गर्नु पर्दैन ।  आफ्नो बच्चा के पढ्दैछ भन्ने चासो छैन । सामुदायिक विद्यालयका शतप्रतिशत अभिभावकहरूले बच्चाको विषयमा जानकारी नै नलिने र शिक्षक तथा विद्यालय प्रशासनलाई खबरदारी पनि नगर्नाले खस्किएको हो । अभिभावकलाई बच्चाले सिकोस्, नसिकोस् कक्षा अपग्रेड हुनै पर्छ । विद्यार्थीलाई रोक्यो भने अर्को विद्यालयमा सार्ने डरले विद्यालयले पनि कक्षा चढाउँछन् । यसरी नै कक्षा १० सम्म पुग्छन् । लाजमर्दो कुरा अहिलेका १० कक्षामा पढ्ने विद्यार्थीले नेपाली अक्षर राम्रोसँग उच्चारण गर्न जान्दैनन् । यस्तो बालकक्षामा नै बिगारेकोले गर्दा भएको हो । बोर्डिङ स्कुलमा कक्षा ३ मा पुग्दा पढ्न जान्दछन् । सामुदायिकका विद्यार्थी निकम्मा प्रणालीको खराबीले गर्दा त्यस्तो भएका हुन् ।

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर वृद्धिका लागि के गर्नु पर्ला ?
– कक्षा नर्सरीदेखि नै उचित शिक्षा दिनुपर्छ । बिरुवा अङ्कुरित हुँदै राम्रो भयो भने रुख राम्रो हुन्छ । त्यसैले बालकक्षामा सक्षम बनाउनु पर्छ । सक्षम बच्चालाई मात्र माथिल्लो कक्षामा लानुपर्छ । एउटा कक्षाका कम्तिमा ५० प्रतिशत विद्यार्थी उत्तीर्ण नगराउने शिक्षकलाई दण्ड र धेरै उत्तीर्ण गराउने शिक्षकलाई पुरस्कारको नीति ल्याउनु पर्छ । अन्य निजी विद्यालयका शिक्षकले ८ घण्टा अध्यापन गराउँछन् । सामुदायिकका शिक्षकले ३ घण्टा अध्यापन गराउँछन् । आफू सरकारी विद्यालयमा कार्यरत हुन्छन् । अनि बच्चालाई निजीमा पढाउँछन् । शिक्षकलाई यो सुविधा दिनु हुँदैन । सरकारी स्कुलमा कार्यरत शिक्षकले अनिवार्य आफू कार्यरत विद्यालयमा नै बच्चा पढाउनु पर्ने नीति बनाउनु पर्छ । यति गर्न सकिए धेरै सुधार हुन्छ । अभिभावकहरूले पनि आफ्नो बच्चाले कति सिक्यो ? सिकेन चासो राख्नुपर्छ ।

स्थानीय कानून नबन्दा विद्यालय सञ्चालनमा कस्ता समस्या छन् ?
–धेरै अप्ठ्यारा छन् । अहिलेको संरचनामा शिक्षाक्षेत्र भीरको चिण्डोजस्तो भएको छ । सङ्घीय सरकार दायित्वबाट पन्छिएको छ । स्थानीय सरकारले दायित्व निर्वाह गर्न सकेको छैन । स्थानीय सरकारले शिक्षाक्षेत्रलाई महŒव दिएकै छैनन् । शिक्षा क्षेत्र नै बर्बाद भयो ।  बालकालिका पनि शैक्षिक रूपमा निकम्मा हुँदै गए । अब हाम्रो समाज कस्तो बन्छ । हामी कस्तो समाजको निर्माण गर्न लागिरहेका छौँ । स्थानीय सरकारलाई पूर्ण अधिकार दिइयो भने शैक्षिक अवस्था कस्तो हुन्छ ? भविष्य अन्यौलपूर्ण छ । स्थानीय सरकारको गतिविधि हेर्दा भविष्यमा यस्तो होला भन्ने अवस्था पनि छैन । स्थानीय सरकारलाई सल्लाह सुझाव दिँदा पनि लिँदैनन् । त्यो भिजन नभएर हो । स्थानीय सरकार र नेतामा नै भिजन नभएपछि त्यसलाई कार्यान्वयन गरेर नयाँ उत्पादन हुँदैन । अझै बिग्रिँदै जान्छ । स्थानीय तहलाई प्राथमिक विद्यालयसम्मको मात्र अधिकार दिनुपर्छ ।  धेरै स्थानीय तहमा ‘भिजनलेस’ मान्छे छन् । त्यसैले माध्यमिक तहको अधिकार प्रदेश वा सङ्घीय सरकारमा रहनु पर्छ । यदि स्थानीय तहमा नै रह्यो भने शैक्षिक स्तर भयावह हुन्छ । स्थानीय तहमा अध्ययन गरेका मान्छे छैनन् । अब आउने पनि पढेलेखेका आउँदैनन् । स्थानीय तहका जनप्रतिनिधले आफ्नो अधिकार र दायित्व बुझ्दैनन् । यस्ता मान्छेलाई माध्यमिक तहको जिम्मेवारी दिइयो भने समस्या बढ्दै जान्छ, घट्दैन । यो धरानको मात्र समस्या होइन, नेपालभरको समस्या हो ।

धरानका जनप्रतिनिधि सामुदायिकभन्दा निजी विद्यालयमैत्री भएका हुन् ?
–मुख्य कुरा जनप्रतिनिधिको पनि शैक्षिक योग्यताको कुरा आउँछ । शिक्षाको महŒव नै नबुझ्ने जनप्रतिनिधिदेखि के अपेक्षा राख्ने । धरानमा शिक्षाको महŒव के हो भन्ने कुरा नै उजागर हुन सकिरहेको छैन । धरानको अवस्था त्यो हो । जनप्रतिनिधिले केही प्रयास गरेको देखिँदैन । भौतिक पूर्वाधारमा केही गरेको छ । तर, भौतिक पूर्वाधार मात्रै राम्रो भएर हुँदैन, गुणस्तरीय  शिक्षा चाहिँ दिनु पर्छ ।

शिक्षकहरू खुलेरै राजनीतिक दलमा संलग्न हुन्छन्, सहिदमा के छ नि ?
–सङ्गठनमै छैनन् भन्न त सकिँदैन । कुनै न कुनै राजनीतिक दलको सङ्गठनमा सबै छन् । तर, सहिदको हकमा भने विद्यालयमा अतिरिक्त कामजस्तो र राजनीति प्रथम हो भन्ने छैनन् । सबै शिक्षक राजनीतिक दलमा सङ्गठित भएका छन् । शिक्षकलाई राजनीतिबाट पर राख्नुपर्छ । राजनीति विशुद्ध सेवा हो । तर, अहिले नाफामुखी राजनीति हुन थाल्यो । यदि राजनीतिक दलमा आबद्ध शिक्षकका विषयमा ‘एक्सन’ लियो भने आफैलाई ‘एक्सन’ लिने अवस्था छ । यस्तो हुन दिनुहुन्न ।

विद्यालयको भावी योजना के छ ?
–अहिले सुरुमा २ वटा सङ्कायमा अध्यापन गरेका छौँ । भौतिक पूर्वाधारमा समस्या छैन । गुणस्तरमा ध्यान दिन्छांै । गुणस्तरीय शिक्षाका लागि आधार राम्रो चाहिन्छ । त्यसैले माथिल्लो कक्षामा होइन, बालकक्षामा ध्यान दिन्छौं ।

सहिद स्मृति मा.वि.मा निजीका विद्यार्थीको पनि आकर्षण बढेको छः
रामबहादुर विष्ट
प्रधानाध्यापक

विद्यालयलाई व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ । वातावरण कस्तो छ ?
–विद्यालयलाई सकेसम्म निजी तथा संस्थागत प्रतिस्पर्धा गर्नसक्ने बनाउन लागिपरेका छौं । भौतिक पूर्वाधारमा सम्पन्न छ ।  आवश्यक पर्ने कुरामा केही समस्या छैन । विभिन्न सङ्घ–संस्था, स्थानीय, प्रदेश र सङ्घीय सरकारले सहयोग गरेको छ । त्यतिले मात्रै पर्याप्त नभएर सामाजिक सङ्घ–संस्थासँग नजिक भएर व्यवस्थापन गर्दैछौं । भौतिक पूर्वाधारमा सम्पन्न छौँ । उत्कृष्ट शैक्षिक वातावरण रहेको छ ।

सामुदायिक विद्यालयको गुणस्तर खस्किँदै गएको छ नि ? सहिदको अवस्था कस्तो छ ?
–गुणस्तरको मापन गर्ने मापदण्ड के हो ? केलाई मान्ने हामी नै दोधारमा छौँ । एसईई परीक्षा र कक्षा–१२ मा ‘ए’ प्लस ल्याउनुलाई गुणस्तर मान्ने हो भने कमजोर देखिएला । व्यावहारिक र गुणस्तरीय शिक्षामा अब्बल छन्, कमजोर छैनन् । विगतमा सामुदायिक विद्यालयको व्यवस्थापकीय  कमजोरी थिए । व्यवस्थापकीय रूपमा पनि अब्बल बनाएका छौँ । व्यवस्थापनमा कुनै निजी विद्यालयभन्दा कम छैनौं । अभिभावकलाई पैसा भुक्तानी गर्दा मात्रै गुणस्तरीय शिक्षा हुन्छ भन्ने भ्रम परेको छ । त्यो भ्रम सिर्जना गर्न संस्थागत विद्यालय सफल भएका छन् । सामुदायिकले प्रचार–प्रसार गर्दैनन् । अङ्ग्रेजी भाषा जान्दैमा गुणस्तरीय शिक्षा हुँदैन ।

सामुदायिक विद्यालयले पनि अङ्ग्रेजी माध्यमलाई प्राथमिकता दिन थालेका छन् नि ?
–हाम्रो शिक्षा नियमावली र संविधानले बाधा गरेको छ । जुनसुकै माध्यममा अध्यापन गर्न सक्ने अवस्था छैन । प्राथमिक तहमा मातृभाषामा अध्यापन गराउनु पर्छ । निजी विद्यालयहरूले अङ्ग्रेजीका लागि एउटा घेराभित्र रहेर प्रश्न तयार गर्ने, रटाउने र त्यही रेडिमेड प्रश्न सोध्ने अनि ९० प्रतिशतमाथि अङ्क दिने गर्छन् । हामी त्यस्तो गर्दैनौं, आवश्यक कुरा दिन्छौँ ।

त्यसो भए अङ्ग्रेजीमा रुपान्तरण हुनुभएको छैन ?
–भइरहेका छौँ । पूर्णरूपमा हुने अवस्था छैन । पाठ्यक्रम विकास केन्द्रले कक्षा १ देखि ३ मा अङ्ग्रेजी र गणित विषयलाई अङ्गे्रजी भाषामा पढाउन निर्दिष्ट गरेको छ । कक्षा ४ देखि ८ सम्म गणित र विज्ञानसहित ३ वटा विषयलाई अङ्ग्रेजी माध्यममा पढाउनु पर्नेछ । कक्षा ९ देखि १२ मा नेपाली र सामाजिकबाहेक अङ्ग्रेजीमा अध्यापन गराउनू भनेको छ । सरकारले लिएको नीति लागू गरेका छौं । संस्थागत विद्यालय सरकारको नीति अवलम्बन गर्ने मनस्थितिमा छैनन् । सरकारले नियमन गर्नु पर्दछ ।

सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दो थियो । अहिले के छ ?
–विगतमा घट्दो थियो । संस्थागत विद्यालय भरिभराउ सामुदायिक विद्यालयमा विद्यार्थी नहुने समस्या थियो । २ वर्षदेखि संस्थागत विद्यालयका विद्यार्थीको आकर्षण बढ्दो छ । कुनै बेला सयदेखि २ सय २५ विद्यार्थीमा सीमित थियौँ । अहिले ४ सयमाथि विद्यार्थी छन् । आउने क्रम जारी छ । अहिले अभिभावकको पनि मनोविज्ञान परिवर्तन भएको छ । पहिले १ सय जना बोलाउँदा १० प्रतिशत पनि अभिभावक आउनु हुन्नथ्यो । भर्खरै ८० जनालाई बैठकमा बोलाउँदा ६० जना आउनुभयो । मनोविज्ञान परिवर्तन भएर नै यस्तो भएको हो ।

विद्यार्थी आकर्षणका लागि के गर्नुपर्दो रहेछ ?
–विद्यार्थी आकर्षणका लागि प्रमुख कुरा गुणस्तरीय र व्यावहारिक सिकाइ नै हो । साथै अन्य क्रियाकलाप पनि गर्नुपर्छ । विद्यार्थीको सर्वाङ्गीण विकास हुने खालको शिक्षा दिनु पर्छ । साथै भौतिक पूर्वाधार पनि राम्रो हुनुपर्छ ।

नतिजा राम्रो नहुनुमा कसको कमजोरी ?
–निजीमा ९ बजेदेखि ५ बजेसम्म काम लगाउँछन् । सञ्चालकले भनेजस्तो भएन भने हटाउँछ भन्ने त्रासले गर्दा राम्रो काम गर्नुपर्छ भन्ने हुन्छ । सामुदायिकका स्थायी शिक्षकमा आफ्नो कर्तव्यबोध क्रमशः ह्रास हुँदै आएको देखिन्छ । विद्यालयको टिममा मेरो विद्यालय हो, राम्रो काम गर्नुपर्छ भन्ने भावना कम हुँदै गएको देखिन्छ । सरकारको दृष्टिकोण पनि राम्रो छैन । साथै अभिभावकले पनि चासो राख्नुपर्छ ।

सुधारका लागि के गर्नुपर्छ ?
–पहिलो नीतिगत कुरामा सुधार गर्नुपर्छ । सरकारले दायित्व निर्वाह गर्नुपर्दछ । सेना, प्रहरी, शिक्षक, निजामति कर्मचारीका साथै जनप्रतिनिधिहरू वडासदस्यदेखि प्रधानमन्त्रीसम्मका राज्यकोषबाट तलब खाने सबैका छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमा अध्ययन गराउने नीति लिनुपर्छ । यस्तो नीति लिने हो भने ३ वर्षमा गुणात्मक सुधार हुन्छ । प्रोत्साहन पनि गर्नुपर्छ ।

शिक्षकहरू कति प्रविधिमैत्री छन् नि ?
–अहिले ८० प्रतिशत शिक्षकहरू प्रविधिमैत्री छन् । कोरोनाले बन्द भएपछि धेरै तालिम लिएका छन् ।

कम्प्युटर ल्यावको व्यवस्था कस्तो छ ?
–गुणस्तरीय र पर्याप्त कम्प्युटर ल्याव छ । गतवर्ष दूरसञ्चार प्राधिकरणले प्रदान गरेकोसमेत गरी २ वटा ल्याव रहेका छन् । बच्चालाई मनोरञ्जन दिँंदै सिकाउन नर्सरीदेखि कक्षा ३ सम्म  स्मार्ट टेलिभिजन राखेका छौँ । सबै कक्षामा आवश्यक कम्प्युटर तथा आवश्यक सामग्रीहरू रहेको छ । थप व्यवस्थापन पनि गर्दैछौँ ।

निजीसँग प्रतिस्पर्धा गर्न सकिन्छ ?
–प्रमाण–पत्र, ग्रेड र जिपिएमा सक्दैनौं होला । व्यावहारिक शिक्षामा गरिरहेका छौँ र गर्छौं ।

स्थानीय सरकारले शिक्षालाई कसरी हेरेको छ ?
–स्थानीय सरकार तथा जनप्रतिनिधिले शैक्षिक विकासमा पर्याप्त मात्रामा ध्यान पुर्याउन नसक्नुभएको होकि ? जस्तो लागेको छ ।

विद्यालयको भावी योजना के छ ?
–पूर्णरूपमा अङ्ग्रेजी माध्यमबाट अध्यापन गर्ने र कक्षा ९ देखि प्राविधिक धारमा कम्प्युटर इन्जिनियरिङ अध्यापन सुरु गर्ने योजना छ । साथै प्लस टुतर्फ शिक्षा, मानविकी सङ्काय र कम्प्युटर  साइन्सलाई अङ्ग्रेजी माध्यममा सुरु गर्ने योजना रहेको छ ।

सहिदका उत्पादन के गरिरहेका छन् ?
–सहिद स्मृति माविका उत्पादनहरू निजामतिमा उपसचिवसम्म भएका छन् । इन्जिनियर, स्टाफ नर्स, शिक्षा विभागका निर्देशक, जिल्ला शिक्षा अधिकारी, प्रदेश मन्त्रालयका सचिव र प्रहरीमा एसएसपी हुन सफल भएका देखिन्छन् ।



‘गुणस्तरीय शिक्षाका लागि विधि परिवर्तन गरेका छौ“’
टङ्कप्रसाद भट्टराई
मा.वि. शिक्षक

हामीले शिक्षण सिकाइ क्रियाकलापलाई समयसापेक्ष परिवर्तन गरेका छौँ । फलस्वरूप विद्यालयको शैक्षिक उपलब्धि वृद्धि हुँदै गएको छ । सहिद स्मृति विद्यालयमा सैद्धान्तिक रूपमा मात्रै नगरी व्यावहारिक रूपमै अध्यापन गराउन थालेकाले विद्यार्थीको नतिजा पनि उत्कृष्ट आउन थालेको छ । सामुदायिक विद्यालयहरू  अब्बल छन् ।

अङ्ग्रेजी भाषाका लागि बच्चालाई निजीको कोर्ष थोपर्नु राम्रो होइन । हामीले बच्चालाई ‘लर्निङ बाई डुइङ’ का आधारमा शिक्षण सिकाइ क्रियाकलाप गरेका छौँ । बालविकासमा पूर्णरूपमा अङ्ग्रेजी माध्यममा अध्यापन गराउँदै छौँ । बच्चालाई दबाव दिएर सिकाउनु हुँदैन । हामीले अङ्ग्रेजीलाई व्यावसायिक नगरेकै हो । यसको अर्थ अङ्ग्रेजी शिक्षकको योजना नभएको होइन । कोरोनाकालअघिको नतिजाभन्दा अहिले ५० प्रतिशत राम्रो नतिजा आएको छ ।