धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्रथम सेवा विन्दु र रेफरल सेन्टरको सुविधा लिँदै आएकोमा स्वास्थ्य बिमा बोर्डले प्रथम सेवा विन्दु कटौती गरेर भन्दै धरानमा विरोध प्रदर्शन गरिएको छ । 

नेकपा माओवादी केन्द्र नगर समिति र जसपाको संयुक्त आयोजनामा धरान छाता चोकदेखि पुरानो बजार हुँदै विरोध ¥याली गरिएको हो ।  कोणसभामा जनता समाज पार्टीका धरान नगर अध्यक्ष ताजुब लिम्बूले यो प्रथम सेवा विन्दु सुविधा प्रतिष्ठानमा गरिएको कटौतीको निर्णय  तुरुन्तै  फिर्ता लिनुपर्ने बताए । नेकपा (माओवादी केन्द्र) प्रदेश समिति सदस्य  एवम् धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले धरानको भूगोल र समस्या नबुझी हचुवाका भरमा बोर्डले गरेको निर्णय गलत भएको बताए । 

स्वास्थ्य बिमा बोर्डले आगामी साउन १ गतेदेखि लागू हुने गरी बीपी प्रतिष्ठानलाई रिफरल सेन्टरको रूपमा कायम गरेको छ । यसअघि प्रतिष्ठानबाट प्रथम सेवा विन्दुको सुविधा हटाएको छ । यसरी हटाउँदा प्रतिष्ठान प्रथम सेवा विन्दुको रूपमा हुँदा बनेका १ लाख ४८ हजारभन्दा बढी बिमितहरू समस्यामा परेका छन् । धरानमा अन्य सरकारी अस्पतालसमेत नभएकाले बोर्डको यो निर्णयले धरानभित्रका सेवाग्राहीहरू प्रतिष्ठानमा उपचार गराउन इटहरी, इनरुवा वा चतराबाट रेफर ल्याएर सेवा लिनुपर्ने अवस्था रहेको छ ।   

धरानका राजनीतिक दल, नागरिक समाजले विगतकै जस्तो प्रथम सेवा केन्द्रको रूपमै मान्यता दिन माग गर्दै विरोध ¥यालीको आयोजना गरेका छन् । यस विषयमा सामाजिक सञ्जालमा समेत व्यापक विरोध हुँदै आएको छ ।

स्वास्थ्य मन्त्रालयलाई दलहरूको ध्यानाकर्षण

स्वास्थ्य बिमा बोर्डको निर्णय सच्चाउन माग गर्दै धरानका राजनीतिक दलहरूले पनि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीलाई ध्यानाकर्षण गराएका छन् ।

नेपाली काङ्ग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल धरानका अध्यक्षहरूले संयुक्तरूपमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ज्ञापन–पत्र पठाउँदै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् । ज्ञापन–पत्रमा धरानका नागरिकलाई सरकारबाट तोकिएको प्रथम सेवा विन्दु प्राप्त गर्न असहज हुने, सेवामा विभेद हुने र जनताको स्वास्थ्यसम्बन्धी संवैधानिक अधिकारसमेत उल्लङ्घन हुने उल्लेख गर्दै सच्याउन माग गरेका छन् । 

ज्ञापन–पत्रमा  स्वास्थ्य बिमा बोर्ड, कोशी प्रदेश सरकार र बीपी प्रतिष्ठानसहित सम्बन्धित निकायहरूमा बोधार्थ पठाइएको छ । यस्तै बीपी अध्ययन प्रतिष्ठान धरानका सभापति विकास आचार्यले पनि बोर्डको निर्णय सच्याउन माग गरेका छन् ।