सुनसरी । केही वर्षअघिसम्म मुस्लिम समुदायका छोरी मान्छेहरू विरलै घरबाट निस्किन्थे । पछिल्लो समयमा छोरीलाई हेर्ने सामाजिक र पारिवारिक दृष्टिकोण केही खुकुलो हुँदै आएको छ । यसलाई मुस्लिम समुदायमा छोरीलाई हेर्ने दृष्टिकोण फेरिएको अवस्था भन्न सकिन्छ ।

मुस्लिम समुदायका शिक्षितवर्गका कतिपय आमाबाबुहरूले छोराछोरीलाई समान अवसर दिन थालेपछि अवस्था परिवर्तन हुन थालेको हो । मुस्लिम समुदायमा सामाजिक र परिवारसम्बन्धी सोचमा परिवर्तन आउन थालेपछि सुनसरीको इनरुवा नगरपालिका–९ बबियाकी २० वर्षीया अल्बिना प्रवीण र उनका आमा सहजादीलगायत मुस्लिम महिलाहरू समाजमा जनचेतना जगाउन सफल भएका छन् ।

आफ्नी आमा सहजादीलाई प्रेरणा मान्ने अल्बिनाले भनिन्, ‘आज म जहाँ छु, जे छु, त्यसको श्रेय परिवारलाई दिन्छु । परिवारको साथ सहयोग र आमा सहजादीको आँटले मलाई राष्ट्रियदेखि अन्तर्राष्ट्रिय पहिचान दिलाएको छ ।’ सन् २०१७ मा थाइल्याण्डको बैङ्ककमा आयोजित एसियाली मुलुकमा बालविवाहसम्बन्धी गोष्ठीमा अल्बिनाले नेपालको प्रतिनिधित्व गरेकी थिइन् । ‘सुरुसुरुमा  कतिपय मान्छेलाई बुझाउन गाह्रो भयो । मान्छेले कुरै नबुझी नजानी गलत कुरालाई पनि परम्परा भन्दै स्वीकार गरेका हुन्छन्’ अल्बिनाले आफ्नो अनुभव सुनाइन्, ‘२१ औं शताब्दीमा दुनियाँ कहाँदेखि कहाँसम्म पुग्यो, अनि हामी गलत कुरालाई पनि परम्परा मानेर कहिलेसम्म बस्ने ? त्यसैले मुस्लिम समाजले मात्रै होइन, अन्य समाजलेसमेत छोरी मान्छेलाई हेर्ने नजरिया त्याग्नुपर्छ ।’

उनको बुझाइअनुसार कुरआनमा लेखिएका कुरा असल छन् । जीवनसङ्गत छन् । महिला वा पुरुष कसैलाई विभेद गरेको छैन । सबैलाई बराबरको अधिकार दिएको छ । कुरआनमा लेखिएका कुराप्रति उनलाई गर्व लाग्छ । उनले थपिन्, ‘तर, इस्लामका धार्मिक कानून र समुदायको बुझाइ फरक रहेको पाइन्छ । जसले गर्दा इस्लाम धर्मलाई लिएर एकखालको भ्रम सृजना भएको पाइन्छ ।’ उनले विगत लामो समययता समाजमा बालविवाह, दाइजोप्रथाका साथै शिक्षाक्षेत्र सुधार गर्न अभियान चलाउँदै आएकी छन् । कलिलो उमेरबाट बालविवाह विरुद्धको अभियानमा सक्रिय भएपछि अल्बिनाको नेतृत्वमा ७ वटा बालविवाह रोकिएको छ ।

उनकाअनुसार इस्लाममा महिलालाई शिक्षाको अधिकार दिएको छ । चाहे त्यो धार्मिक शिक्षा होस् वा अरू विषयका प्राज्ञिक । ‘छोरी डाक्टर, पाइलट या अरू कुनै व्यवसायमा लाग्दा के बिग्रन्छ ?’ उनी प्रश्न गर्छिन्, ‘इस्लाम धर्मग्रन्थमा महिलालाई घरभित्रै सीमित राख्नुपर्छ, कतै भनिएको त छैन । फेरि किन यति सङ्कुचित छ मुस्लिम समाज ?’

धेरैलाई इस्लाम भनेकै मुस्लिम र मुस्लिम भनेकै इस्लाम हो भन्ने बारेमा भ्रम रहेको बताइन् । उनकाअनुसार इस्लाम धर्म हो भने मुस्लिम समुदाय हो । इस्लाम एकातिर र इस्लामिक अभ्यास अर्कोतिर भइरहेको देखिन्छ । इस्लामिक सिद्धान्त र सामुदायिक व्यवहारमा भिन्नता रहेको स्पष्ट हुन्छ । कुनै समुदाय विशेषका व्यक्तिले जानेर वा नजानेर गल्ती गर्न सक्छ । अल्बिनाकी आमा सहजादी प्रवीणले भनिन्, ‘इस्लामभित्र अनेकौं नियम छन् । जुन मानवीय हितमा छ । न कि लिङ्गका आधारमा कुनै प्रकारको विभेद गर्न ।’ कुरआनमा बताइएको नियम, कानून  व्यवहारमा लागू गर्न नसक्दा इस्लाम धर्मलाई लिएर भ्रम फैलिएको उनको बुझाइ छ ।

ग्रामीण भेगमा महिलाको अवस्था
इस्लामिक ग्रन्थले महिला र पुरुष दुवैलाई बराबर अधिकार दिए पनि व्यवहारमा लागू भएको देखिएको पाइँदैन । सहरी क्षेत्रमा केही महिलाले आफ्नो अधिकार भोग्न पाएका छन् । तर, ग्रामीण भेगमा उनीहरूको अवस्था दयनीय छ् । अल्बिनाले भनिन्, ‘त्यहाँका महिलालाई आफ्नो हक अधिकारबारे चेतना छैन । पुरुषले जे भन्छन्, त्यसैलाई स्वीकार गर्दै बाँचेका छन् । दबिएर बसेका छन् । इस्लामिक कानूनमा त्यस्तो कहाँ लेखिएको छ ?’

ग्रामीण भेगमा अधिकांश मुस्लिम महिला अप्ठेरोमा परेका छन् । सहजादी आफैले भोगेकी र देखेकी छन् । छोरी मान्छेलाई राम्रो शिक्षादीक्षा दिँदै आत्मनिर्भर बनाउन कुरआनमा भनिएको छ । व्यवहारमा भने यस्तो हुने गरेको पाइन्छ । छोरी मान्छे एक्लै घरबाहिर जानु, पढ्नु, काम गर्नुलाई अधिकांश मुस्लिम समुदायले पचाउन नसकेको उनले बताइन् । उनले भनिन्, ‘तिनै कारणले मुस्लिम समुदायका धेरै छोरी मान्छेले उच्चशिक्षा हासिल गर्न पाएका छैनन् ।’

नेपालको संविधानमा महिलालाई ३३ प्रतिशत अधिकार दिइएको छ । त्यसमा मुस्लिम महिलाको उपस्थिति ज्यादै न्यून छ । अवसर आए पनि मुस्लिम समुदायका महिला तयार पार्न पनि मुस्किल छ । शिक्षाको पहुँचमा अझ आइपुगेका छैनन्, मुस्लिम दिदीबहिनीहरू । राज्यले दिएको अधिकार उपयोग गर्दै मुस्लिम महिलाको उत्थानका लागि गलत प्रवृत्ति अन्त्य हुनुपर्ने उनको भनाइ छ । तराई मधेसमा शिक्षा र चेतना अभावमा बालविवाह र दाइजो प्रथाजस्ता समस्या यथावत् रहेकोे उल्लेख गर्दै अल्बिनाले समाजमा चेतना बढाएको अवस्थामा यस्ता समस्या अन्त्य हुने बताइन् ।

समाजिक अभियन्तालाई जनप्रतिनिधिको साथ
आफ्नो संस्कृति जोगाउँदै परम्पराका रूपमा मानिएको गलत कुरा त्याग्न उनीहरू कटिबद्ध भएर लागेको इनरुवा नगरपालिकाका मेयर राजन मेहताले बताए ।

समाजमा विकराल समस्याका रूपमा रहेको बालविवाह, दाइजोप्रथा तथा महिला हिंसा न्यूनीकरण गर्ने अभियानमा उनीहरूले अहम् योगदान दिँदै आएको पनि मेहताले बताए । जिल्लाकै पुरानो सहर भएर पनि पछाडि परेको इनरुवा नगरपालिकालाई भौतिक पूर्वाधारमा सुविधासम्पन्न बनाउनुका साथै सामाजिक समस्याहरू समाधान गर्ने उद्देश्यले जनस्तरमा चेतनामूलक कार्यक्रम गर्दै आएको मेयर मेहताको कथन छ ।

इनरुवा नगरपालिका क्षेत्रमा मुस्लिम समुदायको उल्लेख्य उपस्थिति रहेकोे बताउँदै उनले मदरसा शिक्षा सुधार गर्न बर्सेनि कार्यक्रम गरिँदै आएको मेहताले बताए । सुनसरी सदरमुकाम इनरुवादेखि दक्षिणी भेगमा मुस्लिम समुदायको बाक्लो बसोबास रहेको बबिया गाउँमा आमाछोरीको प्रयासले समाजमा बालविवाह, दाइजो र महिला हिंसासम्बन्धी सचेतना बढेको सामाजिक अभियन्ता रमेश भट्टराईले बताए ।

मेयर मेहताले भने, ‘हामीले उनीहरूको धार्मिक शिक्षाको स्तर बढाउन चेतनामूलक कार्यक्रम गरिनुका साथै करारमा शिक्षकशिक्षिका उपलब्ध गर्दै विभिन्न स्थानमा नयाँ मदरसा निर्माण गर्न सहयोग गरेका छौं । कतिपय जीर्ण अवस्थामा रहेका पुराना मदरसाको भौतिक पूर्वाधार निर्माण कार्य समेत सम्पन्न गरेका छौं ।’

इनरुवा नगरपालिकाकी उपमेयर जमुना गौतम पोखरेलले चेतनाको स्तरमा सुधार आएसँगै मुस्लिम समुदायका अभिभावकले छोरी मान्छेलाई धार्मिक शिक्षा पढाउने मात्रै नभई अन्य विषयका शिक्षा पढाउने गरेको बताइन् । केही वर्षअगाडिसम्म मुस्लिम समुदायले छोराछोरीलाई सरकारी विद्यालय, बोर्डिङतिर निकै कम मात्र पढाउने गर्थे । पछिल्लो समयमा मुस्लिम समुदायको सामाजिक र पारिवारिक अवस्था फेरिएको उपमेयर पोखरेलले बताइन् । निर्वाचित जनप्रतिनिधिलाई अल्बिनाहरूजस्ता सामाजिक अभियन्ताका कारण उनीहरूमा परिवर्तन आएको उपमेयर पोखरेलले बताइन् ।

दाइजो र बालविवाहप्रथा अन्त्य गर्दै धार्मिक शिक्षासँगै बाहिरी शिक्षासमेत छोरासरह छोरी मान्छेको पहुँच बढाउन अल्बिनाले गरेको प्रयास सराहनीय भएको हिदायत वेल्फेयर सोसाइटी इनरुवाका सचिव हजरत हुसेनले बताए । उनले भने, ‘समयअनुसार समाज परिवर्तित हुनुपर्छ । सबैभन्दा पहिलो समाजमा चेतनाको स्तर बढाउनुपर्छ । अल्बिनाले केही वर्षयता ग्रामीण भेगमा त्यही काम गरिरहेकी छन् ।’ उनको काममा जनप्रतिनिधिले केही हदसम्म सहयोग गरे पनि थप सहयोग आवश्यकता छ । बाहिर शिक्षासँगसँगै धार्मिक शिक्षासमेत महत्वपूर्ण भएकोले मुस्लिम समुदायले त्यसतर्फ सोच्न आवश्यक देखिएको हुसेनको कथन छ ।