धरान । तेह्रथुमको लालीगुराँस नगरपालिका वसन्तपुरमा रहेको चोत्लुङ पार्क परिसरमा सिरिजङ्गा पाण्डुलिपि विज्ञानालय स्थापनाको तयारीबारे धरानमा अन्तरक्रिया गरिएको छ । 

शनिबार लालीगुराँस नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा लिम्बू लिपि, संस्कृति, पर्यावरणीय संरक्षण र पहिचानका विविध पक्षहरूबारे छलफल गरिएको थियो ।

कार्यक्रममा लालीगुराँस नगरपालिकाका प्रमुख तथा लिपिको अध्येतासमेत रहेका अर्जुन माबुहाङले चोत्लुङ पार्क र त्यहाँ राख्न लागिएको सिरिजङ्गा लिपिको विषयमा भएको खोजबारे अवगत गराएका थिए । उनका अनुसार चोत्लुङ पार्क ‘प्राप्ति र मुक्ति’ को प्रतीक हो । उनले पार्कको उद्देश्य जलवायु परिवर्तनको जोखिम न्यूनीकरण, लिम्बू संस्कार–संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धन रहेको जानकारी दिए ।

चोत्लुङ पार्क प्रकृतिमैत्री जीवनशैलीको नमुना मानिँदै आएको छ । यहाँ रहेका संरचना र बोटबिरुवाको अध्ययन गर्न देशविदेशबाट अनुसन्धानकर्ताहरू आउने गरेका छन् । 

यस पार्कमा युमा सङ्ग्रहालय पनि स्थापना भइसकेको छ । कार्यक्रममा सिरिजङ्गा पाण्डुलिपिको ऐतिहासिक पृष्ठभूमिबारे पनि चर्चा गरिएको थियो । वि.सं. १८८० सालतिर दाार्जिलिङबाट सिरिजङ्गा लिपिको प्रयोग सुरु भएको अध्येता माबुहाङले बताए । 

सिरिजङ्गा पाण्डुलिपि विज्ञानालयको स्थापना आगामी मङ्सिर महिनादेखि सुरु गरिने जानकारी पनि दिइएको थियो । यद्यपि लिपिबारे लिम्बू समुदायमै विभिन्न मतभेदहरू हुँदै आएका छन् । 

अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ रहेका थिए । त्यसैगरी प्रदेशसभा सदस्य विदुर लिङ्थेप, खिनु लिम्बू, धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघा, पूर्व माननीय मीना सुब्बा, उत्तम लिङ्थेप र डा. कमल तिगेलालगायतको उपस्थिति रहेको थियो । अन्तरक्रियामा ताजुव लिम्बू, जेन्टल किरातीलगायतले आफ्नो धारणा राखेका थिए । 

बुद्धिजीवी ताजुव लिम्बूले पार्कको स्थापना नै राम्रो कुरा भएको र यसमा युमा सङ्ग्रहालयसँगै सिरिजङ्गा लिपि पनि समावेश गरिनु सकारात्मक कार्य भएको बताएका थिए ।

यस्तै जेन्टल लावतीले किरात लिपि र सिरिजङ्गा लिपिबारे थप अध्ययन तथा बहस आवश्यक रहेको बताउँदै अध्ययन गरेर प्रस्ताव ल्याउनु पर्ने धारणा राखे । कार्यक्रममा अर्जुन माबुहाङद्वारा पहिचानको क्षेत्रमा पु¥याइएको योगदानको प्रशंसा पनि गरिएको थियो । 

लिम्बू लिपि, इतिहास र पहिचान संरक्षणको दृष्टिले चोत्लुङ पार्कमा स्थापना हुन गइरहेको सिरिजङ्गा पाण्डुलिपि विज्ञानालय महŒवपूर्ण मानिएको छ । यसको स्थापनासँगै कोशी प्रदेशको  पर्यटन, अनुसन्धान र सांस्कृतिक क्षेत्र थप समृद्ध हुने स्थानीयले बताएका छन् ।