धरान उपमहानगरपालिकामा स्वास्थ्य मापदण्डको पालन गरेर  आइतबार विद्यालय सञ्चालन गर्न दिइने भएको छ । 

शुक्रबार बसेको कार्यपालिका बैठकले पूर्ण रूपमा स्वास्थ्य मापदण्डको पालना गरेर भौतिक रूपमा विद्यालय खुलाउने निर्णय भएको उपमहानगरपालिका १३ नम्बर वडाका वडाध्यक्ष नेत्र प्रसाद काफ्लेले बताएका छन् । 

'आज बसेको कार्यपालिकाको बैठकले विद्यालय खुलाउने निर्णय गरेको छ । यसअघि ४ गतेबाट विद्यालय खुलाउने भन्ने हल्ला चलेको थियो । त्यति राम्रो छलफल हुन नसकेकाले भदौ ३१ गते बसेको कार्यपालिकाको बैठकले तत्काल नखुलाउने भन्ने निर्णय भएको थियो । '

उनले भने 'धरान आसपासका पालिकाहरूले विद्यालय खुलाइसकेपछि  र महामारीको प्रभाव पनि घट्दै गएको तथ्याङ्क आइरहेको छ ।  धरान शैक्षिक हब भन्ने अनि  यहाँ रहेका विद्यालयहरू सधैँ बन्द गर्ने भन्ने हुन्न । '

वडाध्यक्ष काफ्लेले विद्यालय सञ्चालन गर्ने निर्णय गरेका भए पनि अभिभावकहरूले तत्काल शुल्क भने बुझाउनु नपर्ने बताएका छन् । उनले भने ' दशैको मुखमा विद्यालय खोलेर शुल्क उठाउने भन्ने होइन । तत्काल शुल्क नलिइ विद्यालयहरूलाइ दसैँ तिहार पछि मात्र शुल्क लिन भनेका छौँ । '


वडागत रूपमा त्यहाँका अभिभावकहरू सँगको छलफलपछि विद्यालय खुलाउनु पर्छ भन्नै माग देखिएकोले विद्यालय खुलाउने निर्णय गरिएको काफ्लेले बताएका छन् ।