आजभन्दा ३२ वर्षअघि एउटा सङ्कल्पका साथ सुरू भएको ब्लाष्ट टाइम्सको यात्रा आज अर्काे महत्वपूर्ण मोडमा आइपुगेको छ । आज हामी ३२ औँ वार्षिकोत्सव मनाउँदैछौँ । यो अवसर हर्ष र गौरवको मात्र होइन, विगतलाई फर्केर हेर्ने र आगामी बाटो अझ स्पष्ट बनाउने अवसर हो तर कसरी अवसरमा रुपान्तरित गर्ने भन्ने प्रश्न टड्कारो रुपमा उभिएको छ । 

तीन दशकको लामो समय आफैमा एउटा इतिहास हो । तीन दशकभन्दा लामो यो यात्रा केवल एउटा सञ्चारमाध्यमको वार्षिकोत्सव होइन, यो सत्यको खोजी, जनताको आवाज र पत्रकारिताको धर्मप्रतिको निरन्तर प्रतिबद्धताको इतिहास पनि हो । राजनीतिक परिवर्तनका अनेकौ“ चरण, सामाजिक रुपान्तरण, आर्थिक उतारचढाव र प्रविधिको तीव्र विकासका बीच ब्लाष्ट टाइम्सले आफ्नो यात्रालाई निरन्तरता दिँदै आएको छ । छापा पत्रकारिताबाट सुरू भएको हाम्रो यात्रा आज डिजिटल संसारसम्म आइपुगेको छ । माध्यम फेरिएको छ, तर हाम्रो मूल प्रतिबद्धता फेरिएको छैन—समाचारमा सत्यता, पत्रकारितामा निर्भीकता र समाजप्रति उत्तरदायित्व वहन ।

आज पत्रकारिता अत्यन्त चुनौतीपूर्ण अवस्थामा छ । सामाजिक सञ्जालले सूचनाको पहुँचलाई सहज बनाएको छ, तर त्यससँगै अपुष्ट सूचना, अफवाह, भ्रम र नियोजित प्रचारको बाढी पनि सँगसँगै आएको छ । क्लिक, भ्यु र भाइरल हुने प्रतिस्पर्धाले धेरैजसो तथ्यभन्दा सनसनीलाई प्राथमिकता दिने प्रवृत्ति बढाएको छ । यस्तो अवस्थामा विश्वसनीय पत्रकारिता गर्नु अझ कठिन, तर अझ आवश्यक भएको छ ।

अहिलेको ब्लाष्ट टाइम्स बन्द नै गर्नुपर्ने अवस्थाबाट धिपधिप बलेको दियो झै“ गरी गुज्रिरहेका छौ“ । सरकारले त अब राजनीतिक परिवर्तन भइसक्यो, तिमीहरुको काम छैन भनेजस्तो गरेको अवस्था छ । विज्ञापनदाताहरुका उद्योग व्यवसाय मन्दीको शिकारबाट ग्रस्त भएको छ । उद्योगी व्यवसायीहरुलाई सवसिडीको व्यवस्था सरकारले गर्न सकिरहेको छैन, यस्तो अवस्थामा उहाँहरुबाट आउने विज्ञापन पनि अब आकाशको फलजस्तै भएको छ । ‘आगे देखा जाला’  भन्ने अवस्था आएको छ ।

ब्लाष्ट टाइम्सको मात्रै के कुरा कुनै पनि पत्रिकाको अबको आगामी यात्रा चुनौतीरहित छैन । भन्नलाई आजसम्म पनि पूर्वको १ नम्बर पत्रिका भनिदै आइएको भए तापनि विभिन्न कारणले छापा पत्रकारिताको भविष्यमा कालो बादल घनिभूत हुँदै गएको छ । धरानबाट प्रकाशित भएर पूर्वका सबै जिल्ला र पश्चिमका जिल्लाहरुलाई समेत बजार बनाउँदै लगेको यस पत्रिकालाई पूर्वको धरोहर भनेर भन्ने शुभचिन्तकहरु धेरै नै हुनुहुन्छ । आर्थिक दबाव, प्रविधिको परिवर्तन, दक्ष जनशक्तिको आवश्यकता र बदलिँदो पाठकीय व्यवहारका बीच सञ्चारमाध्यमलाई निरन्तर अघि बढाउनु सङ्घर्षपूर्ण काम भएको छ । तर यसको भविष्यको भविष्यवाणी यसै हुन्छ भनेर भन्न सकिने अवस्था छैन । 

केवल समाचार दिने मात्र नभई समाजलाई प्रश्न गर्ने, जवाफदेही बनाउने र जनताको पक्षमा तथ्यसहित उभिने पत्रकारितालाई अझ बलियो बनाउने मिसनमा लागिपर्दा ब्लाष्टलाई माया गर्नुहुनेहरुको चिन्ता स्वाभाविक छ, ‘पूर्वको धरोहरलाई कसरी बचाउने ?’ स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, विकासदेखि सुशासनसम्म, जनताको दैनिक जीवनदेखि राज्यका नीतिसम्म गहिरो, खोजमूलक र तथ्यपरक पत्रकारिताको बाटो समात्न उहाँहरुको शुभचिन्ता हामीलाई पर्याप्त हुनेछ ।

समयसँगै हामी बदलिनुपर्छ, प्रविधिसँगै अघि बढ्नुपर्छ, तर सत्यसँग कहिल्यै सम्झौता हुँदैन भन्ने हाम्रो मूल मर्म हो । ३२ वर्षसम्म ब्लाष्ट टाइम्सलाई विश्वास गर्ने सम्पूर्ण पाठक, विज्ञापनदाता, शुभेच्छुक, पत्रकार, कर्मचारी तथा सहयोगीहरुप्रति हार्दिक कृतज्ञता तथा धन्यवाद प्रकट गर्दछौँ ।

हाम्रो यात्रा जारी छ ।

हाम्रो सङ्घर्ष जारी छ ।

र सत्यप्रतिको हाम्रो प्रतिबद्धता अझ बलियो भएर अघि बढ्नेछ ।