चितवन । पृथ्वी राजमार्गको कृष्णभिरमा पहिरोले १८ दिन सडक अवरुद्ध बनाएपछि राजधानी भित्रिने यातायातका साधन सहज रूपमा चल्न सकेका थिएनन् । ठूला सवारीसाधन बाटोमै रोकिएका थिए भने साना सवारीसाधन वैकल्पिक मार्ग प्रयोग गरेर काठमाडौँ ओहरदोहर गर्ने गरेका थिए ।

मालवाहक ठूला सवारीसाधन राजधानी प्रवेश गर्न सकेका थिएनन् । एलपी ग्यासका बोटल तराईका उद्योगमा बोटलिङ गरेर लैजानुपर्ने बाध्यता थियो । ठूला मालवाहक ट्रक हेटौँडातर्फबाट गुडाउन चालकलाई निकै कठिन भएको थियो । कतिपय ठूला सवारीसाधन बाटोमै रोकिएका थिए । पर्यटकीय बस चल्न सकेका थिएनन् ।

सरकारले द्रुत गतिमा गरेका कामका कारण छोटो समयमा नै कृष्णभिरको सडक बनेपछि यातायात व्यवसायी उत्साहित भएका छन् । राजधानीतर्फ जाँदै गरेका माइक्रोबसका धनी तथा चालक राजु थापाले कृष्णभिरको सडक दुईतर्फी रूपमा खुलेपछि सेवा दिन सहज भएको बताए ।

उनले भने, “कृष्णभिरमा पहिरो गएपछि मैले दुईवटा माइक्रोबस दुईतर्फ नै राखेर यात्रुलाई सेवा दिँदै आएको थिएँ ।” थापाले नारायणगढबाट यात्रु लिएर कृष्णभिरसम्म र भिरमा यात्रुलाई हिँडाएर पारि आफ्नै अर्को माइक्रोबसमा राखेर काठमाडौँसम्म यात्रु पुर्‍याउने कार्य गर्दै आएको थियो ।

काठमाडौँबाट नारायणगढ आइका ट्रकका चालक शिवकुमार थारुले कृष्णभिर बन्द हुँदा निकै दुःख पाएको गुनासो गरे । आफू काठमाडौँ जाँदा हेटौँडा हुँदै गएको र बाटो बनेको थाहा पाएर कृष्णभिर हुँदै आज फर्किएको उनले बताए । हेटौँडातर्फबाट जाँदा साँघुरो बाटो र धेरै ठाउँमा बिग्रिएका कारण दुःख पाएको उनको भनाइ छ । थारुले भने, “हामीलाई पृथ्वी राजमार्ग नै सजिलो हुन्छ ।”

अर्को ट्रकका चालक खुशीयाल पठान आजै कृष्णभिर हुँदै नारायणगढ आएका छन् । भैरहवा जान आएका पठानले सडक बनेपछि सहज भएको बताए । हेटौँडा हुँदै जाँदा बाटो लामो हुने र दुःख पाइने भन्दै उनले पृथ्वी राजमार्ग हुँदै आउँदा धेरै सहज भएको बताए ।

भैरहवाबाट काठमाडौँ जाँदै गरेका बसका चालक आशिष क्षेत्रीले सडक बनेपछि आफूहरूलाई सहज भएको बताए । यसअघि काठमाडौँ जाँदा हेटौँडा हुँदै गएको भन्दै उनले जामका कारण दुई दिन समय लागेको बताए । हेटौँडा हुँदै जाँदा सडक ८१ किलोमिटर लामो पर्ने क्षेत्रीको भनाइ छ ।

उनले भने, “सडक साँघुरो, ठाउँठाउँमा भत्किएको र लामो हुँदा दुःख पाइयो ।” पर्साको ठोरीबाट काठमाडौँ आवतजावत गर्ने बसका चालक रुपेश परियारले कृष्णभिरको पहिरोपछि आफूले बस चलाउन छाडेको बताए । वैकल्पिक बाटो जाँदा लामो र अप्ठ्यारो हुने हुँदा बस थन्क्याउनुपरेको र अब सडक बनेसँगै पृथ्वी राजमार्ग हुँदै जाने बताए । उनले भने, “हेटौँडा हुँदै जाँदा खर्च नधान्ने भएपछि हामीले बस चलाउन बन्द गर्नुपर्ने अवस्था आयो ।”

कृष्णभिरमा सडक बनेपछि बुधबार साँझ सडकमा रोकिएका सवारीसाधन आवतजावत गराइएको थियो । चितवन तर्फबाट मात्रै एक हजार नौ सय हाराहारी रोकिएका सवारीसाधन काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले बताए । आज बिहानदेखि सहज रूपमा सवारीसाधन कृष्णभिर हुँदै आवतजावत गरेका उनले जानकारी दिए । कृष्णभिरको सडक फेदमा त्रिशूली नदीले कटान गरेपछि सडक पूर्ण रूपमा भासिएको थियो । झण्डै एक सय मिटर सडक भासिएपछि नजिकैबाट भित्तो काटेर वैकल्पिक मार्ग बनाइएको हो । नियमित रूपमा तीव्र गतिमा काम गरिएकै कारण १८औँ दिनमा पूर्ववत् अवस्थामा आज बिहानदेखि सडक सञ्चालनमा आएको हो । यसबीचमा रोकिएका र वैकल्पिक मार्ग भएर जाँदा दुःख पाएका सवारी चालकहरूले सडक बनेसँगै खुसी व्यक्त गरेका छन् । रासस