विजयपुर ।  कोशी प्रदेशको इटहरीमा असोज १४ गतेदेखि सीप तथा रोजगार मेला आयोजना हुने भएको छ ।

युवा जनशक्तिको सीप र ऊर्जालाई स्वदेशमै उपयोग गर्ने वातावरण सिर्जना गर्ने उद्देश्यले असोज १४ देखि २० गतेसम्म मेला सञ्चालन गर्न लागिएको युवा तथा श्रम मन्त्रालयले जनाएको छ । मन्त्रालयले ‘सीप तथा रोजगार मेला सञ्चालन निर्देशिका, २०८३’ जारी गर्दै देशभर सीप तथा रोजगार मेला आयोजना गर्ने तयारी अघि बढाएको हो। निर्देशिकाअनुसार मेला आयोजना तथा सञ्चालनका लागि युवा, श्रम तथा रोजगारमन्त्रीको संयोजकत्वमा निर्देशन तथा समन्वय समिति रहने व्यवस्था गरिएको छ।

मेलालाई प्रभावकारी बनाउन तीनै तहका सरकार, निजी तथा गैरसरकारी क्षेत्र, विकास साझेदार, रोजगारदाता सङ्घ–महासङ्घ, उद्योगी–व्यवसायी तथा शैक्षिक एवं तालिम प्रदायक संस्थाबीच सहकार्य र समन्वय गरिने मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मेलाका लागि आवश्यक वित्तीय, प्राविधिक तथा जनशक्तिसहितको सहयोग जुटाइनेछ। आवश्यक सहकार्य, समन्वय तथा सुरक्षा व्यवस्थापनका लागि कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय, प्रदेशका सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालय सुनसरीसँग समन्वय गरिनेछ।

मेलाको समग्र व्यवस्थापन, सञ्चालन तथा कार्यान्वयन निर्देशिकाको दफा ७ बमोजिम गठित ‘कार्यान्वयन, समन्वय तथा सहजीकरण समिति’ले गर्नेछ। मेलामा निजी क्षेत्र, उद्योग–प्रतिष्ठान, शैक्षिक तथा तालिम प्रदायक संस्था, विकास साझेदार, युवा तथा श्रम मन्त्रालय र मातहतका निकायसहित अन्य सरकारी निकायले स्टल तथा डेस्क राखेर सूचना र सेवा प्रवाह गर्ने व्यवस्था मिलाइनेछ।

सीप, रोजगारी, उद्यमशीलता तथा स्वरोजगार प्रवद्र्धन गर्दै श्रमको सम्मान र स्वदेशमै रोजगारीका अवसर बढाउने उद्देश्यले आयोजना हुने मेलामा सम्बन्धित सबै सरोकारवाला निकायलाई सहभागी हुन मन्त्रालयले आग्रह गरेको छ। 

मेलामार्फत रोजगारदाताको वास्तविक जनशक्ति माग तथा रिक्त पद पहिचान र प्रमाणीकरण गर्ने, रोजगार खोजकर्ताको योग्यता, सीप, अनुभव र रुचिअनुसार रोजगारीसँग मिलान गर्ने लक्ष्य राखिएको छ। साथै, आवश्यक सीप परीक्षण, तालिम, सीप प्रमाणीकरण, करियर परामर्श तथा उद्यमशीलता सेवासँग रोजगार खोजकर्तालाई जोड्ने मन्त्रालयले जनाएको छ। मेलास्थलमा सूचना तथा सहायता कक्ष, रोजगारदाता कक्ष, अन्तर्वार्ता क्षेत्र, सीप परीक्षण तथा प्रमाणीकरण डेस्क, तालिम तथा उद्यम