भोजपुर । भोजपुरका किसान भटमास खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् ।
अन्य मुख्य बालीसँगै अन्तरबालीका रूपमा सजिलै खेती गर्न सकिने तथा बजारमा हरियो कोसाको माग बढ्दै गएपछि किसान भटमासको व्यावसायिक उत्पादनतर्फ आकर्षित भएका हुन् । भोजपुर नगरपालिका–५ की किसान रमला थापाका अनुसार भटमासको हरियो कोसा स्थानीय बजारमा आकर्षक मूल्यमा बिक्री भइरहेको छ। स्थानीय हाटबजार तथा आसपासका क्षेत्रमा हाल हरियो भटमास प्रति किलो रु १०० देखि १५० सम्ममा बिक्री हुने गरेको उनले बताइन्। थोरै लगानी र कम मिहिनेतमा समेत राम्रो प्रतिफल पाउन सकिने भएकाले किसानले भटमासलाई नगदेबालीका रूपमा लिन थालेको उनको भनाइ छ।
“भटमास खेतीको मुख्य विशेषता भनेको यसलाई अन्य बालीसँगै लगाउन सकिनु हो। सुन्तलाका बगैँचा, मकैबारी, खेतका आली तथा अन्य फलफूलका बोटबीचको खाली जमिनमा समेत भटमास खेती गर्न सकिन्छ,” थापाले भनिन्।
खाली जमिनको सदुपयोग गरी अतिरिक्त आम्दानी लिन सकिने भएकाले भटमास खेती किसानका लागि उपयोगी बनेको छ। कृषि विज्ञहरूका अनुसार भटमासजस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिरीकरणमा सहयोग पुर्याउने भएकाले माटोको उर्वराशक्ति कायम राख्न समेत योगदान गर्छ। किसान भीमप्रसाद फुयाँलका अनुसार बजारमा भटमासको हरियो कोसाको माग दिनप्रतिदिन बढिरहेको छ। पोषणयुक्त तथा स्वादिलो मानिने भएकाले उपभोक्ताले हरियो भटमास रुचाउने गरेको उनले बताए।
“बजारमा पुर्याउनासाथ सजिलै बिक्री हुने भएकाले किसानलाई बजारको समस्या छैन। हरियो कोसा उसिनेर खान तथा तरकारीका रूपमा प्रयोग गर्न उपभोक्ताले खरिद गर्ने गरेका छन्,” उनले भने। मुख्य बालीका बीचमा रहेको खाली जमिनमा खेती गरेर अतिरिक्त आम्दानी लिन सकिने भएपछि भटमास भोजपुरका ग्रामीण क्षेत्रका किसानका लागि जीविकोपार्जनसँगै आर्थिक उपार्जनको माध्यम बन्दै गएको छ।रासस