काठमाडौँ। राष्ट्रिय महिला आयोगको आयोजना तथा पुनम फाउन्डेसन काठमाडौँको सहकार्यमा जनकल्याण माविमा सञ्चालित ‘महिला हिंसा विरुद्ध आत्मरक्षात्मक खेलकुद प्रशिक्षण कार्यक्रम’ को प्रमाणपत्र वितरण तथा समापन समारोह सम्पन्न भएको छ। उक्त प्रशिक्षण कार्यक्रममा १५० जना महिला तथा छात्राहरूको सहभागिता रहेको थियो।

महिला आयोगका प्रवक्ता तथा सदस्य कृष्णकुमारी खतिवडा पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य माननीय डाक्टर लिली थापा प्रमुख अतिथि र राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य मोनालिसा खम्बु विशेष अतिथि रहेकी थिइन । कार्यक्रममा पुनम फाउन्डेसनका अध्यक्ष पुनम सुब्बा, राष्ट्रिय महिला आयोगका सचिव र जेनजि प्रतिष्ठानका अध्यक्ष श्याम अधिकारी लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

राष्ट्रिय खेलकुद परिषद्का उपसचिव प्रजापति दाहालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक मोहन विश्वकर्माले प्रशिक्षण प्रदान गरेका थिए ।  सो अवसरमा देशका विभिन्न जिल्लाहरूमा पुगेर खेलकुदका माध्यमबाट महिला सशक्तिकरण, आत्मसम्मान अभिवृद्धि र महिला हिंसाको अन्त्यका लागि योगदान पुर्‍याएकोमा राष्ट्रिय महिला आयोगले प्रशिक्षक मोहन विश्वकर्मालाई सम्मान गरेको छ। त्यसैगरी, महिला अधिकार र सशक्तिकरणको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएकोमा पुनम फाउन्डेसनका अध्यक्ष पुनम सुब्बालाई पनि आयोगले सम्मान प्रदान गरेको छ।