विजयपुर । भोटेकोसी नदीमा आएको बाढीपछि बेपत्ता ६ जनाको शव फेला परेको छ ।
नेपाली सेनाका अनुसार माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन भएका व्यक्तिको खोजीका क्रममा अडिट–३ टनेलबाट ६ वटा शव फेला पारी निकालिएको छ । भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीपछि सम्पर्कविहीन व्यक्तिको खोजीका लागि आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोली परिचालन गरिएको थियो । खोजीका क्रममा टनेलभित्र ढलानका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा ६ वटा शव फेला परेका हुन् । उद्धार टोलीले ग्राइन्डर, ग्यास कटर तथा रोटरी रेस्क्यु उपकरणको प्रयोग गरी शवहरू टनेलबाट बाहिर निकालेको जनाएको छ ।
टनेलभित्र हिलोले छोपिएको अवस्थामा थप शवजस्तो आकृति देखिएपछि सोही क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिइएको छ । सम्पर्कविहीन अन्य व्यक्तिको अवस्थाबारे जानकारी प्राप्त गर्न उद्धार टोलीले टनेलभित्र थप खोजी गरिरहेको छ ।